मन्त्री भट्टराईले गर्दैछन् सुधारका काम, पशुपतिमा आरती अघि राष्ट्रिय गान
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक महिना गृहकार्य गरेर आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । उनले मातहतका निकाय र कर्मचारीहरुलाई कार्ययोजना अनुसार काम गर्न निर्देशन पनि दिएका छन् । सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्रालयका काम कारवाहीलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीतिका साथ प्रमुख प्राथमिकताका १४१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन् ।
मन्त्री भट्टराईले आफ्ना कार्यायोजनालाई पूर्णता दिन प्रतिपक्षी दलको पनि सहयोग आवश्यक महसुस गरेका छन् । उनले आफ्ना काम र योजनाबारे प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग छलफल गरेका छन् । शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको बुढानीलकण्ठस्थित निवास पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको बारेमा जानकारी गराए । साथै मन्त्रालयले केही दिन अघि सार्वजनिक गरेको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएर भट्टराईले नयाँ संस्कारको शुरुवात समेत गरेका छन् ।
भट्टराईले आफ्नो फेसवुकमा लेखेका छन् “पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज (शनिबार) बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागि म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
यसअघिसम्म मन्त्रीहरुले प्रमुख प्रतिपक्षी दलका नेतालाई मन्त्रालयको कामको बारेमा जानकारी दिने प्रचलन थिएन । मन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतालाई आफ्ना मन्त्रालयको कामको योजना सुनाएर असल राजनीतिक संस्कारको सुरुवात गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भएको छ ।
यसैबीच पशुपति मन्दिरमा हेरक दिन हुने साँझको आरती गर्नुअघि राष्ट्रिय गान बज्ने भएको छ । मन्त्री भट्टराईले पशुपतीमा साँझपख हुने आरती भन्दा अगाडी अनिवार्य रुपमा राष्ट्रिय गान बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिएपछि राष्ट्रिय गान बज्न थालेको हो ।
त्यस्तै मन्त्री भट्टराईले नेपाली मौलिक खानाको प्रचार प्रसारका लागि तारे होटलमा नेपाली खानाको बेग्लै स्थल राख्नु पर्ने नियम ल्याएका छन् ।
नेपाली ४ तारे र ५ तारे होटलले नेपाली खानाको लागि छुट्टै स्थल राख्नुपर्ने व्यवस्था होटल मापदण्डमा नै तोक्न लागिएको छ । १५ दिनभित्रमा यस्तो मापदण्ड बनाइसक्ने मन्त्री भट्टराईको चालु आर्थिक वर्षको प्रमुख प्राथमिकता र कार्यक्रमहरुमा समावेश छ ।
मन्त्री भट्टराईले सार्वजनिक गरेको कार्ययोजनामा तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्यसहित मन्त्रालय मातहत निकायको समन्वयमा मन्त्रालयले आगामी कार्यक्रम बनाएको देखिन्छ ।
पर्यटन क्षेत्रको विकासका लागि नयाँ पर्यटन ऐनको व्यवस्था गरी लुम्बिनी, पशुपति क्षेत्र र जनकपुरधामलाई हालको विकास क्षेत्रभन्दा अलग किसिमको बनाइ सङ्घ, प्रदेश र स्थानीय तहको प्रतिनिधित्व हुनेगरी संरचना बनाइने, सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि स्थानीय तहको समेत सहभागी हुने गरी छाता ऐन बनाइने कार्ययोजना भनिएको छ ।
त्यस्तै मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सेवा सुदृढीकरण, अन्तर्राष्ट्रिय विमानस्थल मापदण्ड बमोजिमको सेवा व्यवस्थापनका साथै चालू आवका नियमित कामका अलावा दीर्घकालीन महत्वका रणनीतिक योजनाअनुरुप कानूनी तथा नीतिगत सुधार गरी नयाँ प्रणालीको विकासका लागि बलियो जग बसाल्ने मन्त्री भट्टराईको अठोट कार्ययोजनामा उल्लेख छ ।
संस्कृति, पर्यटन र हवाई नीतिको परिमार्जन, संशोधन र नयाँ ऐन नियम बनाइने कार्ययोजनामा उल्लेख छ भने नेपालको हवाई क्षेत्रलाई युरोपेली सङ्घ(इयू)ले राखेको कालोसूचीबाट हटाउन आवश्यक पूर्वसर्तहरू पूरा गर्ने र सो प्रयोजनका लागि नागरिक उड्डयन क्षेत्रका सेवा प्रदायक तथा नियामक निकायका अलग–अलग संरचना हुने गरी नयाँ कानूनको तर्जुमा गरिने मन्त्री भट्टराईले उल्लेख गरेका छन् । मन्त्री भट्टराईले मन्त्रालयको प्राथमिकतायुक्त काम समेटेर एकवर्षे कार्ययोजना ल्याइएको र यस चुनौतीपूर्ण कार्यलाई सफल पार्न सबैको सक्रियता र सहयोग चाहिने र त्यो प्राप्त हुने विश्वास पनि व्यक्त गरेका छन् ।
कार्ययोजनाका केही विशेषताहरु
– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई समयसापेक्ष सुधार गरी सार्वजनिक कम्पनीका रूपमा सञ्चालनको व्यवस्था गरिने ।
– मन्त्रालयद्वारा हालै गठित कार्यदलको प्रतिवेदनलाई समेत आधार मानेर निगमलाई सार्वजनिक कम्पनीका रूपमा सञ्चालन गर्नेलगायत सुधारका काम गरिने ।
– नेपाली हवाई यात्रुलाई अन्तर्राष्ट्रिय यात्रु सरह बीमाको व्यवस्था गर्ने ।
– नेपालको हवाई क्षेत्रबारे विश्वसनियता अभिवृद्धि गर्ने, ‘केप टाउन कन्भेन्सन’ सञ्चालन गरिने ।
– निगमको व्यवस्थापकीय सुधारलाई चुस्त र प्रभावकारी बनाइ चीनको ग्वोञ्जओ र साउदी अरबको रियाद उडानको वातावरण बनाइने ।
– जहाजको प्रभावकारी सञ्चालन तथा नयाँ गन्तव्य विस्तारका कामलाई सँगै अघि बढाइने ।
– आगामी सन् २०२० जनवरी १ अघि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल घोषणा गर्ने गरी काम अघि बढाइने ।
– विमानस्थललाई २४सै घण्टा सञ्चालन गरी आधा घण्टाभित्र ब्यागेज पाउने व्यवस्था गर्ने ।
– बायोमेट्रिक प्रणालीबाट यात्रुको जाँच, अध्यागमनलाई चुस्त र विमानस्थलका सेवालाई प्रविधिमैत्री बनाउने ।
– आन्तरिक विमानस्थलतर्फ हालको विशिष्ट व्यक्तिका सवारीसाधन प्रवेश मापदण्ड परिमार्जन गरी सम्माननीयको सवारीसाधन मात्र जहाजको ढोका नजिक पुग्ने व्यवस्था मिलाइने ।
– विमानस्थलबाट सञ्चालन हुने सवारीसाधनमा जिपिएस प्रणाली लागू गरिनुका साथै चालकलाई आतिथ्य संस्कारबारे तालीम दिइने ।
– सत्तरी वर्षभन्दा माथिका नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुटको व्यवस्था गरिने ।
– विमानस्थलको महत्वलाई ध्यान दिई तीनकुने–गौशला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा गरी संरचना परिवर्तन र सौन्दर्यकरण गरिने ।
– अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ नेपाली सामान विदेशीले खरीद गर्नसक्ने ‘डिउटी फ्रि’ को व्यवस्था मिलाइने ।
– ट्रान्जिट यात्रुका लागि विशेष लाउन्ज व्यवस्था गर्ने ।
– निर्माणाधीन गौतमबुद्ध विमानस्थलको सिभिल र मेकानिकल कार्य सन् २०१९ को डिसेम्बरभित्र सम्पन्न गर्ने ।
– मार्च २०२० भित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने तथा सो विमानस्थलमा विदेशबाट उडान गर्ने हवाई कम्पनीलाई प्रोत्साहन गर्ने आकर्षक प्याकेज घोषणा गर्ने ।
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा शीघ्रताका लागि लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने ।
– बस्ती व्यवस्थापन तथा वन मन्त्रालयसँगको समन्वयमा ‘साइट क्लियरेन्स’ गर्ने कार्ययोजना बनाइने ।
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण निर्धारित समयअघि नै सम्पन्न गर्ने व्यवस्था मिलाउने ।
– सबै प्रदेश राजधानीका विमानस्थललाई कम्तिमा ७० सिटभन्दा माथिका जहाज उडान तथा अवतरण हुनसक्ने गरी स्तरोन्नति र विस्तार गर्ने छ ।
– भ्रमण वर्ष अभियान अवधिमा २० लाख पर्यटक नेपाल भित्र्याउन प्रमुख १० स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रमको खाका बनाइ प्रवद्र्धन गरिने ।
– संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको सहकार्यमा सन् २०१९ को डिसेम्बर अन्त्यमा ‘ग्लोवल टुरिज्म मिनिस्टर कन्क्लेभ’ गर्ने ‘न्यू इयर इन नेपाल’ को योजनासहित सन् २०२० जनवरी १ मा विभिन्न देशका पर्यटनमन्त्रीलाई सहभागी गराई भ्रमण वर्षको भव्य शुभारम्भ गरिने ।
– जनवरीको पहिलो साताभित्र विदेशमा रहेका नेपालका सबै कूटनीतिक नियोग, मिसन तथा सातै प्रदेशका राजधानीमा भ्रमण वर्षको भव्य शुभारम्भ गर्ने र त्यस कार्यक्रममा राजनीतिक दलका नेतालाई सहभागी गराइने ।
– नेपालबाट बाहिरिने पर्यटकको भिषा स्टाम्पिङ, ब्यागेज स्टिकर र बोर्डिङ पासमा नेपाल भ्रमण वर्षको प्रतीक चिह्नसहितको स्टिकर राख्ने व्यवस्था मिलाइने ।
– भ्रमण वर्षलाई लक्ष्य गर्दै सद्भावना दूत नियुक्तिको व्यवस्था गर्ने, नेपालको संस्कृति झल्किने गरी विभिन्न जातजातिका परम्परागत वेशभूषामा सजिएका युवाद्वारा विमानस्थलको आगमन कक्षमा पर्यटकको स्वागत गर्ने व्यवस्था मिलाउने ।
– गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियान सञ्चालन तथा विदेशस्थित नेपाली नियोगमा यस संस्थाको सहभागितामा पर्यटन सहायता कक्ष निर्माण गरिने ।
– नेपाल तथा विभिन्न देशमा हिमाल आरोहीको भेला, गोष्ठी, सेमिनार गर्ने, नेपालमा पर्यटन लगानी सम्मेलन आयोजना तथा काठमाडौँ (कीर्तिपुरसमेत) ललितपुर, भक्तपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरुआत गरिने ।