त्रिबिलाई दिए मन्त्रीले कडा निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम त्रिभुवन विश्वविद्यलायका सहकुलपति गिरिराजमणि पोखरेलले एक पत्र लेखि उपकुलपतिलाई पाँच बँुदे कडा निर्देशन दिएका छन् । मन्त्री पोखरेलले गत बुधबार पत्र लेखि सो निर्देशन दिएका हुन् । मन्त्री पोखरेलले रााष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ (७) को छात्रवृत्ति सम्बन्धी प्रावधान यसै शैक्षिक सत्रदेखि लागु गर्न लिखित पत्राचार गर्दै उपकुलपतिलाई निर्देशन दिएको बताइएको छ ।
पत्रमा साझा प्रवेश परीक्षा सम्बन्धी व्यवस्था आगामी शैक्षिक सत्रबाट कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) बमोजिम र चिकित्सा शिक्षा आयोगको ०७५ चैत्र ०४ गतेको बैठकको निर्णयको मर्म र भावना अनुरुप हुने गरी विश्वविद्यालयअन्तर्गत रहेका निकायहरूबाट तत्काल नियमानुसार निर्णय कार्यान्वयन गर्न भनिएको छ । मन्त्री पोखरेलले कार्यबाहक उपकुलपति डा. सुधा त्रिपाठीलाई लिखितरुपमा नै पत्राचार गरी निम्न व्यहोराको निर्देशन दिएका छन् ।
पाँच बँुदे लिखित निर्देशनमा ‘चिकित्सा शिक्षाका विभिन्न विषयमा विद्यार्थीहरू भर्ना गर्दा निजहरूबाट लिइने सम्पूर्ण शुल्कको किस्ताबन्दी बैंक भौचर विश्वविद्यालयले बुझी भर्ना भएका विद्यार्थीको नामलिष्ट र बैंक भौचरको प्रति सम्बन्धित मेडिकल कलेजमा पठाउने व्यवस्था गर्न भनिएको छ ।
त्यसैगरी विश्वविद्यालयले चिकित्सा शिक्षामा विद्यार्थीबाट लिने शुल्क (परीक्षा र रजिष्ट्रशन समेत) शीर्षकगत रुपमा सार्वजनिक गर्ने । साथै, कलेजहरूले लिने होस्टेल र खानाखर्च बापत्को रकम राष्ट्रियस्तरको पत्रपत्रिकामा सार्वजनिक गर्ने प्रावधान रहेको छ । इन्टर्नसीपको सम्बन्धमा एक रुपको प्रणाली अवलम्बन गर्न प्रभावकारी व्यवस्था लागू गर्न निर्देशन दिइएको छ । प्रवेश परीक्षा र आन्तरिक तथा वाह्य परीक्षाको प्रभावकारी व्यवस्थापन गर्न पनि भनिएको छ ।
विद्यार्थीहरूसँग निजी मेडिकल कलेजले लिएको शुल्क सम्बन्धमा यस अघि दिइएको निर्देशन कार्यान्वयन गरी सोको जनाकारी मन्त्रालयलाई गराउने भन्दै विश्वविद्यालयले सम्बन्धित सरोकारवाला पक्षहरूसँग छलफल गरी सम्भव भएसम्मका सुधार सम्बन्धी कार्यहरू कार्यान्वयनमा ल्याउन उपकुलपतिलाई निर्देशन दिइएको छ ।’