दलित र थारुलाई किन भड्काउँदै छन् भट्टराई ?
काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् समाजबादी पार्टीका नेता डा. बाबुराम भट्टराईका अभिव्यक्ति हिजोआज निकै बिबादास्पद बनेका छन् । उनी मुलुकमा जातिय द्वेष पैmलाउन उद्धत छन् । उनले बिगतमा पनि यस्ता गैर अभिव्यक्ति क्रियाकलाप नदेखाएका होईनन् । ०७२ साल असोज ३ गते संबिधान जारी हुनासाथ भट्टराईले संबिधानप्रति नै असहमति प्रकट गरे । संबिधान बनाउने मुख्य समितिको संयोजक उनी आफैं थिए । आफैंले सिफारिस गरेर बनेको संबिधानमाथि उनले असहमति किन जनाए ? यंहिबाट उनको संबिधानप्रतिको निष्ठा बाहिरिएको थियो ।
अहिले पनि उनी संबिधानमा रहेका प्राबधान बिपरितका अभिव्यक्ति दिदै हिंडेका छन् । उनको काम भनेको दलित, जनजातीलाई भड्काउनु भएको प्रष्ट देखिन्छ । समता फाउण्डेशनले आयोजना गरेको भेला उद्घाटन समारोहमा बोल्दै डा. भट्टराईले ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।
मुलुकको बागडोर समेत संहालीसकेका डा. भट्टराईले यस्तो प्रश्न गरेपछि संबिधानप्रति इमानदार भएर लागेका दलित समुदायका जनप्रतिनिधिहरू समेत तिनछक परेका छन् । भट्टराईको संविधान विपरितको यो अभिव्यक्तिले एकातर्फ दलितहरूलाई भड्काउने काम गरेको छ भने अर्कोतर्फ क्रिश्चियन धर्म फैल्याउन नेपालमा लगानी गरिरहेका विदेशीहरू खुशी भएका छन् ।
भट्टराईले शुरुमा राज्यका बिभिन्न तहमा दलितको प्रतिनिधिको तथ्याङ्क पेश गर्दै जातीय जनसंख्याका आधारमा त्यो हुन नसकेको बताए । उनले वर्तमान निर्वाचन प्रणाली कायम रहेसम्म दलितको प्रतिनिधित्व राज्यसत्तामा समानुपातिक नहुने पनि प्रष्ट पारे । तर बर्तमान संबिधानकै कारण स्थानीय तहमा दलितको प्रतिनिधित्व अनिवार्य भएको छ । भट्टराईले यो बिषयलाई ख्याल गरी अभिव्यक्ति दिनु कतिको जायज छ ? त्यसपछि दलित समुदायका अगुवा जनप्रतिनिधि तथा अभियन्ताहरूलाई नै प्रश्न गर्दै भारतको संविधानका पिता मानिने भीम राव अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले हिन्दू धर्मले जातप्रथा जन्माएको भन्दै जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्मशास्त्र रहेको आरोप लगाए ।
अम्बेडकर आफैं हिन्दू भएर जन्मिए, तर जातीय विभेदका कारण मर्ने बेलामा बुद्ध धर्म अँगाल्न बाध्य भएको प्रसंग स्मरण गर्दै भट्टराईले दलितहरूलाई भने ‘कि त हिन्दू धर्मशास्त्र सच्याउनुपर्छ कि त तपाईंहरूले त्यो परित्याग गर्नुपर्छ ।’ उनले जातपात प्रथा मानवअधिकारको उल्लंघन भन्दै ऋग्वेदबाटै जातीय बिभाजन गरिएको भन्दै दलितलाई मान्छे नै नमान्ने हिन्दू धर्म मान्ने दलितहरूमाथि समेत प्रश्न उठाए ।
संघीय समाजवादीका अध्यक्ष भट्टराईले यसअघि गत शनिबार जातीय आधारमा प्रदेशहरू नबनेसम्म मुलुकमा शान्ति सम्भव नभएको बताएका थिए । कैलालीको टीकापुरमा थरुहट–थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जातीय राज्यको वकालत गरेका हुन् । भट्टराईले अहिलेको राज्य व्यवस्था आफूहरूले जनयुद्धका क्रममा अभ्यास गरेको संघीयताको खिलाप गइरहेको भन्दै जनयुद्धका सहयात्रीले सञ्चालन गरेको राज्य व्यवस्था त्रुटिपूर्ण रहेको आरोप लगाए ।
सुदूरपश्चिमका सात पहाडी जिल्ला र कर्णालीलाई समेटेर खस आर्य समुदायको अपनत्व हुने छुट्टै प्रदेश बन्नुपर्ने र कन्चनपुरदेखि चितवनसम्म थारु समुदायको प्रदेश हुनुपर्नेमा उनको जोड थियो । अध्यक्ष भट्टराईले जातीय आधारमा प्रदेश नबनेसम्म आन्दोलनमा सक्रिय रहन थारु समुदायलाई आह्वान समेत गरे ।
डा. भट्टराईले खुल्लमखुल्लारुपमा बारम्बार त्यस्तो अभिव्यक्ति दिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सुदूरपश्चिममा फेरि विखण्डन ल्याउन खोजेको आरोप लगाएका छन् । नेता रावलले डा. भट्टराईले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजेको आरोप लगाएका हुन् ।
डा. बाबुराम भट्टराईले टीकापुरमै आएर जातीय राज्यको कुरा गरेर विखण्डनकारी काम गर्न खोजेको रावलको आरोप छ । भट्टराईले संविधान निर्माणको समयदेखि नै तराई र पहाड मिल्न दिनु हुँदैन भन्दै आएको बताउँदै नेता रावलले यस्ता नेताहरूकै कारण थारु समुदायका व्यक्तिहरूले जेल परेर दुःख पाएको बताए ।