नेकपामा के पाक्दैछ खिचडी ?

एयरपोर्टमा किन बोलेनन् प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री भदौ ५ गते सिंगापुर गएका थिए । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि त्यता गएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर नेपालमा भने धेरै नै टिकाटिप्पणीहरु भए । तर प्रधानमन्त्री ओलीले त्यसको जवाफ दिन चाहेनन् । १५ दिनको उपचार प्रक्रिया पुरा गरेर फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रिएपछि पनि खासै चर्चायोग्य कुरा बोलेनन् । उनलाई स्वागत गर्न कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापालगायत नेता तथा कार्यकर्ता र पत्रकारको बाक्लो उपस्थिति त्रिभुवन बिमानस्थलमा रहेको थियो ।
सधैँझै ठट्यौली पारामा प्रधानमन्त्री ओलीले केही न केही नयाँ कुरा बोल्ने अपेक्षा त्यहाँ पुगेकाहरुले गरेका थिए । तर, उनीहरुको अनुमान र अपेक्षालाई प्रधानमन्त्री ओलीले फिक्का बनाइदिए । प्रधानमन्त्री ओलीले बिमानस्थलमा खासै केहि नयाँ कुरा बोल्नु भएन । फरक फरक दिन पारेर प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर पुगेका नेकपाका उपाध्यक्ष एवम् संगठन बिभाग प्रमुख बामदेब गौतम र संगठनका महासचिब बिष्णु पौडेल पनि २० गते नै प्रधानमन्त्री ओलीसंगै नेपाल फर्किएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य उपचार सकेर स्वदेश फर्किन लागेको आखिरी दिनमा नेकपाका यी दुई शक्तिशाली नेताहरु एक दिनको फरकमा किन सिंगापुर गए भन्ने बिषयले भने नेकपामा राजनीति अर्थ बोकिरहेको छ ।
तत्कालीन नेकपा एमाले र माओबादीले ०७५ जेठ ३ गते पार्टी एकीकरण गरेका हुन् । यो एकीकरण पछि बनेको शक्तिशाली कम्युनिस्ट पार्टीको महासचिब पद नेता बिष्णु पौडेलले पाएसँगै उनको चर्चा पनि चुलिएको छ । दुबै दलको एकीकरण पछि बनेको नेकपामा एकसे एक बरिष्ठ नेताहरुलाई पाखा लगाउँदै पौडेलले महासचिब पद हात पारेपछि बिभिन्न अड्कलबाजी नभएका पनि होइनन् । तत्कालिन नेकपा एमालेको महाधिबेशनबाट निर्वाचित महासचिब ईश्वर पोखरेललाई पछि पार्दै उपमहासचिब रहेका पौडेल एकाएक किन महासचिब बनाईए त्यसको रहस्य बिस्तारै खुल्दै जाला । तर बालुवाटार जग्गा प्रकरणमा उनको नाम जोडिएपछि पौडेलको आलोचना निकै भयो । उनको आलोचना बढेपनि उनले पद छोड्नु परेको छैन ।
०६४ सालमा भएको संबिधान सभाको निर्वाचनमा नेकपा एमालेले नराम्रो पराजय भोगेपछि तत्कालिन महासचिब माधबकुमार नेपालले नैतिकताको कारण देखाउँदै राजिनाम दिएका थिए । तर बालुवाटार जग्गा प्रकरणमा पौडेलको नाम बारम्वार जोडिदा पनि उनी नसुनेझै गरी कानमा तेल हालि बसिरहेका छन् । कम्युनिस्ट पार्टीमा नैतिकता ठुलो बिषय हो । तर यो नैतिकताको बिषयलाई पौडेलले कुनै नयाँ बिषयको रुपमा ग्रहण गरेका छैनन् ।
प्रधानमन्त्री ओली दोस्रो पटक सिंगापुर जानु अघि पार्टीको बैठक गर्ने अधिकार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएका थिए । यो कुरा पौडेललाई अपच भएको रहेछ । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएसंगै पौडेलले प्रचण्डको निगरानी शुरु गरे । दाहालले सचिवालयको बैठक डाकेर केहि जनबर्गिय संगठनको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी टुङगाए । यो काम सहमतिमा गर्न प्रधामन्त्रीले अह्राए पनि प्रचण्डले सोधिरहन जरुरी ठानेनन् । साथै पार्टी नेतृत्वको आलोचना गर्न पनि नेता तथा कार्यकर्तालाई प्रचण्डले लगाम लगाउने निर्णय गरेपछि पौडेल तर्सिएको बताइएको छ । यिनै कुरालाई लिएर पौडेल भित्रभित्रै अध्यक्ष प्रचण्डसँग त्रसित भएका थिए । बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि प्रचण्डले यसले पार्टीको छबि बिगार्ने चिन्ता व्यक्त गरेको सुईको पाएपछि पौडेल प्रचण्डसँग टाढिएको बताइएको छ ।
अर्का नेता बामदेबलाई उपाध्यक्षसहित संगठन बिभागको जिम्मेवारी तोकेपछि पनि पौडेल असन्तुष्ट थिए । किनभने महासचिब आफु, संगठन गर्ने जिम्मेवारी गौतमले पाएपछि उनी भित्रभित्रै रिसले मुरमुरिएर बसेका थिए । यहि कुरा एकान्तमा गएर प्रधानमन्त्री ओलीसँग भन्न आतुर भएर नै उनी सिंगापुर गएका हुन् एक सचिवालय सदस्यले भने । यो कुराको सुईको पाएका प्रचण्डले त्यस लगत्तै नेता गौतमलाई सिंगापुर पठाएको चर्चा राजनीतिबृतमा व्याप्त छ । प्रचण्ड बिरुद्ध बिष बमन गर्न पौडेल गएपनि भोलिपल्टै नेता गौतम सिंगापुर जानुलाई अर्को अर्थपुर्णरुपमा हेरिएको छ । नेता पौडेल र गौतम सँगै सँगै सिंगापुर पुगेपनि प्रधानमन्त्री ओलीको कान मन्तर्न दुवै नेताले नपाउँदै फर्कनु परेको जानकारस्रोतको भनाई छ ।
प्रधानमन्त्री ओली असोज लागेपछि मात्र उपचार सकेर फर्कने योजना भएपनि नेकपाभित्र धेरै किसिमको खिचडी पाक्न थालेपछि उपचार छोट्याएर फर्किएको बताइएको छ ।