भारतले नै फ्याकिदिएको हो त नेपालको राजसंस्था ?

काठमाडौं । भारतीय गुप्तचर संस्था रअका पूर्व विशेष निर्देशक अमर भूषणले नेपालमा राजसंस्था फ्याक्न भारतले सफलता पाएको खुलासा गरेका छन् । नेपालका माओवादीलगायतका शक्तिलाई प्रयोग गरेर राजनीतिक परिवर्तन गरिएको लगायत विभिन्न घटना समेटेर हालै प्रकाशित इन्साइड नेपाल भन्ने पुस्तकमा उनले सो खुलासा गरेका हुन् ।
सुुरुमा माओवादी नेता पुष्पकमल दाहालले राजसंस्थाका बारेमा स्पष्ट विचार नराखे पनि अन्त्यमा उनीहरू सहमत भएको अमर भूषणको दावी छ । प्रजातन्त्र संस्थागत हुन नदिने, जनतालाई दमन गर्ने र राजनीतिक दलहरूलाई दासको व्यवहार गर्ने राजा फ्याक्नुपर्छ भन्दै आफूहरूले नेपालका नेताहरूलाई उकासेको लेखकले पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तकका लेखक अमर भूषण जीवननाथम् नामले पुस्तकमा उपस्थित भएका छन् । सत्यघटनामा आधारित ती पुस्तकका पात्रहरूको नाम परिवर्तन गरिएको छ । जस्तै पुष्पकमल दाहाललाई कमल अर्याल भनिएको छ भने अन्य नामहरू पनि काल्पनिक बनाइएको छ ।
राष्ट्रवादी शक्ति र मूलधारका शक्तिसँग सहकार्य गर्न माओवादीलाई तयार पारेपछि दिल्लीमा भारतले नै संसदमा रहेका नेपालका सात दल र माओवादीबीच समझदारी गराएर १२ वुँदे सम्झौता गराएको स्पष्ट चर्चा विगतदेखि नै हुँदै आएको छ । तर प्रमुख दलहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
भारतका तत्कालीन विदेशमन्त्री (पछि राष्ट्रपति) प्रणव मुखर्जीले पनि अलजजिरा टेलिभिजनमा दिएको अन्तर्वार्तामा नेपालमा माओवादी र संसदमा रहेका दलहरूलाई भारतकै रोहवरमा सम्झौता गराइएको खुलासा गरेका थिए ।
भारतीय नेता तथा लेखकहरूले सार्वजनिक रुपमा मात्र होइन, पुस्तकमै त्यस्तो दावी गरेपनि नेपालका नेताहरूले त्यसको खण्डन गरेका छैनन् । जसले गर्दा नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा विदेशी शक्तिको हात रहेको र नेपालका राजनीतिक दलहरू एवं वौद्धिक समुदाय खेताला जस्तो मात्र देखिएको सन्देश गएको छ ।
सार्वभौमसत्ता नेपाली जनतामा निहित छ भनेर संविधानले स्वीकार गरेपनि सांसदहरूले समेत कतिपय महत्वपूर्ण निर्णय राज्यका नाममा अरुले नै गर्ने गरेको बताइरहेका छन् । संसदलाई थाहा नदिइ कतिपय निर्णय हुँदा त्यसको दुरगामी प्रभाव कस्तो हुन्छ भन्ने प्रश्न गर्न थालिएको छ । केही हप्ता अघि नेपाली कांग्रेसका नेता प्रदीप गिरीले भारतले चाहेको खण्डमा नेपाल सिक्किम वा भुटान जे पनि हुन सक्ने चेतावनी दिएका थिए ।
यस्तै विभिन्न विज्ञ, विश्लेषक र लेखकहरूले राष्ट्रिय सुरक्षाको अवस्था बलियो नभएको र त्यसो हुनुमा राजनीतिक नेतृत्व नै इमानदार नदेखिएको टिप्पणी गरेका छन् । ठूला दलहरूभित्र आपसमै संशय, विभाजन र विखण्डनको अवस्था छ । राष्ट्रिय हितका प्रश्नमा पनि दलहरू विभाजित छन् ।
भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि नेपाली मानसिकता धेरै परिवर्तन भएको पाइन्छ । नेपाल भारतबाट टाढिदै गएको विश्लेषण गर्दै दिल्लीका कतिपय प्रभावशाली व्यक्तिले नेपालको राजनीतिक र कूटनीतिलाई आफू अनुकुल गराउन खोजिरहेका छन् । तर चीनको चासो बढ्दै जाँदा उनीहरू झस्किएको अवस्था छ । बाहिर हेर्दा कुनै पनि गम्भीर समस्या नदेखिएपनि भित्रभित्रै विभिन्न किसिमका षडयन्त्र भइरहेको आभाष पाइन्छ । त्यसकारण अहिलेको परिस्थितिको मात्र विश्लेषण गरेर पुग्दैन । भोलि आउन सक्ने जोखिमको समेत गम्भीर आँकलन र समीक्षा गर्न आवश्यक छ ।