राष्ट्र बैंकमा जम्मा भयो मेनपावरको ६ अर्ब रकम
द रिभर ओभरसिज बन्यो पहिलो कम्पनी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गरी म्यानपावर कम्पनीको धरौटी रकम बृद्धि गर्न भदौ १८ गते सम्म को सिमा तोकेको थियो । सरकारले दिएको अन्तिम समयसीमा ८ सय ४८ म्यानपावर कम्पनीले वृद्धि भएको धरौटी राखेका छन् । ऐन संशोधन गरी सरकारले यसअघि दुईदेखि ६ करोड धरौटी रकम निर्धारण गरेको थियो । वृद्धि भएको धरौटी रकम बुझाउने म्यानपावर कम्पनीको संख्या नघट्दा पुरानै संख्या कायम भएको बैदेशिक रोजगार बिभागले बताएको छ । मन्त्रालयले भने धरौटी रकम बृद्धि गर्दा म्यानपावरको संख्या घट्ने अपेक्षा गरेको थियो ।
वैदेशिक रोजगार ऐन संशोधनमा तोकिएअनुसार वैदेशिक रोजगारीमा कामदार पठाएको संख्याको अनुपातमा म्यानपावर कम्पनीले नगद धरौटी र बैंक ग्यारेन्टी राख्नु पर्ने प्रावधान तोकिएको थियो । धरौटी रकम पु¥याउन नसक्ने म्यानपावरहरूलाई मर्जरको सुविधा दिइएको थियो । यो सुविधा उपयोग गर्दै ६ कम्पनीले मर्जरका लागि निवेदन दिएकोमा एक सय ३३ म्यानपावर कम्पनी कायम भएका छन् ।
विभागले दिएको समयसीमा भित्र आठ सय ४८ वटा म्यानपावर कम्पनीले धरौटी रकम जम्मा गरेको वैदशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुषालले जानकारी दिएका छन् । धरौटी रकम बढी भएको भन्दै म्यानपावर व्यवसायी विरोधमा उत्रिए पनि अन्तिम समयमा उनीहरूले धरौटी बुझाएका थिए ।
कस्को धरौटी कति ?
बिदेशमा कामदार पठाउनेको संख्या हेरी धरौटी र बैंक ग्यारेन्टी तोकिएको थियो । सो व्यवस्थाअनुसार म्यानपावर कम्पनीहरू तीन वर्गमा वर्गीकरणमा परेका थिए । वार्षिक तीन हजारभन्दा कम कामदार पठाउने कम्पनीले ५० लाख नगद धरौटी र डेढ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने प्रावधान तोकिएको थियो । तीनदेखि पाँच हजारसम्म कामदार विदेश पठाउनेले एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टी तोकिएको थियो । वार्षिक पाँच हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने म्यापावर कम्पनीले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । ऐन संशोधन हुनुअघि सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टीसहित सबै म्यानपावर कम्पनीले ३० लाख रुपैयाँ धरौटी राख्नुपर्ने प्रावधान थियो । अघिल्लो ऐनमा म्यानपावर कम्पनीलाई वर्गीकरण नगरी सबैलाई एउटै व्यवस्था गरिएको थियो ।
बैंकहरूले करिब १९ लाख ५० हजार नगद र धितो राखी म्यानपावरहरूलाई एक करोड ५० लाखको बैंक ग्यारेन्टी दिएका छन् । वार्षिक ३ हजारसम्म कामदार पठाउने म्यानपावरले राष्ट्र बैंकमा ५० लाख नगद धरौटी जम्मा गरेका छन् । सोहीअनुसार विभिन्न ‘क’ वर्गका बैंकहरूमा म्यानपावरको धरौटी रकम एक अर्ब ५८ करोड ९२ लाख ५० हजार जम्मा भएको छ । यस्तै, राष्ट्र बैंकमा ४ अर्ब १० करोड जम्मा भएको छ ।
तीनदेखि पाँच हजारसम्म कामदार पठाउनेको हकमा बैंकले २५ लाख नगद लिएर दुई करोडको बैंक ग्यारेन्टी दिएको पाइएको छ । यो वर्गको दुईवटा मात्र म्यानपावर छन् । यसमा एसओएस म्यानपावर सर्भिस प्रालि र प्याराडाइस इन्टरनेशल प्रालि रहेका छन् । ती म्यानपावरको दुई करोड नगद राष्ट्र बैंकमा जम्मा भएको छ भने, बैंकमा नगद ५० लाख जम्मा भएको छ ।
पाँच हजारभन्दा बढी कामदार पठाउने कम्पनी भने एउटा मात्र देखिएको छ । द रिभर ओभरसिज प्रालिले दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी राख्दै ‘पहिलो’ वर्गको एकमात्र म्यानपावर कम्पनी बनेको छ । द रिभरले दुई करोड नगद र ३० लाख बैंक ग्यारेन्टी राखेको छ ।
एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टीसहित तीन करोड धरौटी राख्ने दुई कम्पनी छन् भने एक मात्र कम्पनीले छ करोड धरौटी राखेको छ । बाँकी सबैले म्यानपावर कम्पनीले ५० लाख नगद र डेढ करोड बैंक ग्यारेन्टीसहित दुई करोड धरौटी राखेका हुन् ।