पहिलो पटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’

काठमाडौं । नेपालमा पहिलोपटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ आयोजना गरिएको छ । मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा बिहिबारबाट शुरु भएको कन्फरेन्स शनिबारसम्म चल्यो । काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा फिल्म क्षेत्रका जल्दाबल्दा विषयमा छलफल भएको थियो ।
चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले कन्फरेन्सको उद्घाटन गर्दै ‘शिर्जनशील र व्यवसायलाई मात्र चलचित्र हो ? सिंगो सिर्जनशीलतमा सबै पर्छन् कि पर्दैनन् ?’ भन्ने प्रश्न गर्दै यस्ता विषयमा बहस गर्न सुझाव दिएका थिए । कन्फरेन्सबाट निस्किएको निचोड फिल्मको अध्ययन गर्ने विद्याथीको लागि कोर्स अफ स्टडिज हुने अपेक्षा गरेको पनि उनले बताएका थिए ।
त्यस्तै समाजशाशास्त्रीय दृष्टिमा चलचित्र बारेमा बोल्दै राजनीतिशास्त्री हरि शर्माले चलचित्रमा संसारको सुख दुः ख, हर्ष र आनन्द एकै ठाउँमा पाइने बताएका थिए ।
बाल्यकालदेखि चलचित्र हेर्दाको अनुभव सुनाउँदै १२५ वर्ष लामो इतिहासले विश्व चलचित्रले ठूलो फड्को मारेको शर्माले बताए । नेपालमा राज्यको प्रपोगान्डाको लागि सुरु गरिएको फिल्म निर्माण अहिले डिजिटलमा आइपुग्दा सबैका लागि सहज भएको बताए । उनले चलचित्रको विषयवस्तु अब परिवर्तन हुनुपर्ने सुझाव पनि दिए ।
चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठले व्यवसायिक रुपमा नेपाली चलचित्र सुरुवात भएको ६ दशक भइसके पनि अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको बताइन् । उनले भनिन् ‘अस्करलमा नोमिनेस हुने फिल्म पनि बनेका छन् । तर बौद्धिक बहस हुन सकेको छैन ।’
आहुतीको अध्यक्षतामा सम्पन्न कन्फरेन्सको दोस्रो सत्रमा लोकरञ्ज पराजुलीले १९५४ सालबाट २००७ सालसम्म नेपालमा राणाहरूले कसरी विदेशी सिनेमा ल्याएर हेर्ने गरेका थिए भन्ने चर्चा गरेका थिए ।
अनुभव अजित र उज्ज्वल प्रसाईंले नेपाली चलचित्रमा राष्ट्रवादको चर्चा गर्दै पञ्चायती सत्ताले राष्ट्रवादका लागि चलचित्र बनाएर सुरु गरेको फिल्मी यात्रा यहाँसम्म आइपुग्दा पनि त्यो अभिव्यक्तिबाट मुक्त हुन नसकेको बताए ।
नेपाली चलचिमा विविधताको खोजीबारे सञ्चारकर्मी सामीप्यराज तिमल्सिनाले गरेको प्यानल छलफलमा विश्लेषक सोमत घिमिरे अझै विविधता आउन नसकेको बताएका थिए ।
निर्माता तथा कलाकार अभिनेता दीपकराज गिरीले निजी क्षेत्रबाट सिनेमा बन्न थालेको भर्खर तीन दशक भएकाले विविधता बिस्तारै आउने विश्वास व्यक्त गरे । विगतका तुलनामा नेपाली चलचित्रमा विविधता देखिन थालेको पनि उनले बताए ।
अभिनेत्री लक्ष्मी बर्देवाले जस्ता फिल्म हिट हुन्छन्, निर्माताहरू त्यस्तै शैलीका फिल्मको निर्माणतर्फ लाग्ने भएकाले विविधता आउन नसकेको बताइन् ।