एक इमानदार वडाध्यक्षको निधन
चितवन÷भरतपुर महानगरपालिका वडा नं. १६ का अध्यक्ष चतुरमान गुरुङको शनिवार निधन भएको छ । मधुमेह र उच्च रक्तचापका बिरामी गुरुङलाई पछिल्लो समय मृगौला र क्यान्सरको समस्या बल्झेको थियो । सत्य र निष्ठामा अडिग इमानदार र छलकपटरहित गुरुङ वडावासीका नजरमा वितेका दुई वर्षमा निकै प्रिय भएका थिए ।
आर्थिक चलखेलमा पनि चासो नभएका निस्वार्थ भावनाका धनी गुरुङको निधनको खबरले स्थानीय मर्माहित भएका छन् । तत्कालीन एमालेको तर्फबाट निर्वाचित भएका भए पनि वडामा उनको भूमिका सबैका लागि समान रहेकाले काँग्रेसले पनि उत्तिकै मानेका थिए । इमानदार जनप्रतिनिधिको अभाव भइरहेका बेला यस्ता इमानदार जनप्रतिनिधि गुमाउनु परेकोमा हामी पनि स्तब्ध भएका छौं ।