जागरण अभियानले काँग्रेसमा खैलाबैला
देउवाको राजीनामा माग
चितवन÷देशैभर एकैदिन शुरु भएको नेपाली काँग्रेसको यसपटकको राष्ट्रिय जागरण अभियानले चितवनमा तहल्का पिटेको छ । नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०६ औं जन्मजयन्तीमा भदौ २४ गते प्रत्येक प्रदेशमा १०६ वटा विरुवा रोपेर यो अभियानको शुरुवात भएको थियो । चितवनको क्षेत्र नं. ३ प्रदेश क का लागि केन्द्रीय प्रतिनिधि चुनिएका धर्मराज अर्यालले चितवन काँग्रेसका गुनासाको भारी नै बोकेर लाने भएका छन् । जागरणको पहिलो दिनको कार्यक्रममा चितवन काँग्रेसका नेता टेकप्रसाद गुरुङले काँग्रेस नेताहरूको मथिंगल नै खल्बलिने गरी काँग्रेस सुधार्न नेताहरू नै सुध्रिनु पर्ने भनेपछि जोडदार तालीले प्रशंसाको संकेत गरेको साविक भरतपुर १६ का काँग्रेस सचिव कुलायनन्द अधिकारीले बताए ।
केन्द्रीय प्रतिनिधि खटिएका अर्यालको मन्तव्य सुनेपछि नाम नबताउने सर्तमा स्थानीय एक कार्यकर्ताले अपेक्षा गरेजस्तो खरो उत्रन नसक्ने प्रतिनिधि पठाइएको गुनासो गरे । सिद्धि गणेश सामुदायिक वनमा लगाइएका १०६ बिरुवालाई हुर्काउने जिम्मेवारी वनकै होस् प्रदेश सांसद बलराम पौडेलले भने । कार्यक्रममा जिल्ला प्रतिनिधि तथा चितवन काँग्रेसका उपसभापति कैलाश कोइराला लगायतले बोेलेका थिए ।
यस्तै असोज १ गते भरतपुर १५ र १६ को वडा स्तरीय अन्तरक्रिया कार्यक्रममा कोही रोएर गुनासो पोखेका छन्, कोही जंगिएर त कसैले शालीन व्यंग्य कसेका छन् । पार्टीभित्र गुट उपगुट कायम रहेको, देशैभर चुुनाव हारेर पनि काँग्रेस नेतृत्वले नचेतेको, सुध्रिनुको सट्टा गुटगत स्वार्थलाई बढावा दिएर काँग्रेसलाई धरासायी बनाएको अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लाका नेता कार्यकर्ताको दुखेसो रह्यो । केन्द्रीय सभापति शेरबहादुर देउवाको असक्षमताका कारण काँग्रेस धरासायी भएकोले उहाँको राजीनामा नै काँग्रेसका लागि हितकर हुने बताउँदा सहभागीले तालीको पर्रा पिटेका थिए । उहाँको नेतृत्वपछि तरुण दल, ने.वि. संघ जस्ता बलिया संगठन कमजोर भएको, महिला संघको त्यस्तै अवस्था रहेको र अन्य शुभेच्छुक संगठनको पनि दुर्गति नै भएकाले देउवाको नेतृत्व अबको काँग्रेसलाई थप दुर्भाग्यपूर्ण हुने अधिकांश सहभागीको जिकिर थियो । चितवन काँग्रेसलाई बिगार्न देउवा– प्रचण्ड अपवित्र साँठगाँठ कारक हो कार्यकर्ताले भने । गुनासाले भरिएको कार्यक्रमलाई संयमतापूर्वक नवीन न्यौपानेले भने,–जागरण अभियानले यो गुनासो पोख्ने अवसर दिएको छ, यो गुनासो भनेको झगडा होेइन, बाउले छोराछोरीलाई चित्त बुझाउन नसक्दा छोराछोरीले चित्त नबुझेको कुरा गरेको मात्र बुझ्नु पर्छ ।
पार्टी केन्द्रको निर्देशनले दुईतिहाइको वामसरकारका काम कार्वाहीको विरोध गर्नु भनेको थियो त्यसको साटो आफ्नै पार्टी नेतृत्वको विरोध गरेपछि यो अभियानले केन्द्रीय नेतृत्वलाई नै धरापमा पारेको विश्लेषण गर्न थालिएको छ । यी कार्यक्रम प्रदेश क का सभापति अमृत बानियाले संयोजन गरेका छन् भने क्षेत्रीय सचिव गोपाल दराईले सहजीकरणको भूमिका निभाएका छन् । जागरण अभियानको समापन असोज ७ गते हुनेछ ।