बैदेशिक रोजगार व्यवसायीको अधिवेशन
नेतृत्वका लागि दुई समूह मैदानमा
काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघकोे अधिवेशन यहि असोज ७ गते काठमाडौंमा हुने भएको छ । व्यवसायीहरु यतिबेला अधिवेशनमार्फत नेतृत्व हात पार्ने दौडधुपमा लागेका छन् । १७ सदस्यीय संघको नेतृत्व हात पार्न प्रगतिशील र प्रजातान्त्रिक धारका व्यवसायीले छुट्टाछुट्टै समुह बनाएर चुनाबी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेकपा निकट प्रगतिशील समुहबाट संघका बर्तमान महासचिब सरोजकुमार पोखरेल अध्यक्षको उम्मेदवार बनेका छन् । उनको समुहबाट प्रथम उपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी, तृतीय उपाध्यक्षमा अख्तर हुसेन, महासचिबमा रामचन्द्र गिरी (आर सी) र कोषाध्यक्षमा तेजमाया लिम्बु (तेजु) उम्मेदवार बनेका छन् । सचिवमा सञ्जु गुरुङ उम्मेदवार बनेकी छिन् ।
यसैगरी सदस्यका उम्मेदवारहरुमा हरिप्रसाद तिमल्सिना, दलबिर भण्डारी, ओम बहादुर न्यौपाने, सरीता घले, सोम बहादुर तामाङ, बाबुराम खड्का, नुर मोहम्मद मियाँ, दोर्जे शेर्पा, केदारनाथ अधिकारी (दीपेन्द्र), र बिरेन्द्र यादब रहेका छन् ।
नेपाली कांग्रेस निकट व्यवसायीहरुको संगठन नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको छ । गैरे समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ ।
बैदेशिक रोजगार ब्यवसायी संघमा बामपन्थीहरुको अहिले बर्चश्व छ । एमाले र माओबादी निकट दुईवटा संगठन एकीकरण पश्चात उनीहरुको पल्ला भारी छ । पोखरेल समूहलाई समाजवादी पार्टी नेपालले पनि समर्थन गरेको छ ।
संघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावरको धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।