महंगियो मूल्य, अनुगमन खोई ?
काठमाडौं । नेपालीलाई बडा दशैंको चटारोले छोएको छ । टिकाको साइत जति नजिकिदै छ, त्यति नै किनमेलको चटारो पनि बढिरहेको छ । घर छोडेर रोजी रोटीको लागि मुग्लान पसेकाहरु पनि धमाधम घर फर्कन थालेका छन् । नेपाल भित्रै कमाउन घर बाहिर रहेका लाखौं नेपालीहरु किनमेल सकेर घर फर्किने तयारीमा छन् । स्कुल पढिरहेका केटाकेटीहरुको अहिले परीक्षा चलिरहेको छ । उनीहरु इक्जाम सकिनै बित्तिकै आप्mनो गाउँघर फर्कन आतुर छन् । त्यसैगरी जागिर र रोजीरोटीको लागि अर्काकोमा नोकरी गरिरहेकाहरु पनि घर जाने दिन गन्ति गरेर दिन बिताईरहेका छन् ।
सरकारले असोज ५ गते अर्थात आज देखि नै लामो दुरीको यात्राका लागि टिकट खुला हुने बताएको थियो । तर यात्रुहरुले अग्रिम टिकट बुकिङ गर्न जाँदा टिकट पाउन नसकेको गुनासो गरेका छन् । केही जिल्लाका यात्रुले भने टिकट लिन जाँदा टिकट नपाएको गुनासो सामाजिक सञ्जालमार्फत गरेका छन् । बुकिङ नखुल्दै बिचौलियाहरुले बुकिङ सकिएको बताएर भित्रभित्रै आ–आफना नातेदारलाई टिकट बेचिसकेका छन् । सर्वसाधारणले चाहेर पनि टिकट लिन सक्ने अवस्था नभएको बताईन्छ । टिकटको लागि बेलुकी नै खाजा सामलको जोहो गरेर लाइनमा बस्नुपर्ने बाध्यता सर्वसाधारणलाई छ । ठुलाबडाहरु भने सर्वसाधारण जनताले पाएको यो दुःखलाई टुलुटुलु हेरेर रमाइरहेका छन् ।
बर्षको ३ सय ६५ दिन मध्ये हरेक दिन चनाखो रहनु पर्ने सरकार चाडवाड लागेपछि मात्र अनुगमनको नाममा कान ठाडो पार्छ । बर्षको एक दूई दिन अनुगमनमा निस्कने सरकारका कर्मचारीलाई कस्ले टेर्ने ? गत बिहिबार अनुगमनको नाममा न्युरोड स्थित रञ्जना गल्लीमा पुगेका सरकारी कर्मचारीलाई त्यहाँका व्यापारीहरुले उल्टै धम्की दिनुका साथै तर्साएर पठाए । यसबाट नै प्रष्ट हुन्छ मुलुकुमा सरकार कति बलियो छ । अहिले मुलुकमा दुई तिहाइको कम्युनिष्ट सरकार सत्तामा बिराजमान छ । सरकारको नेतृत्व गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । आम उपभोक्ताले बजारमा निस्केर सामान खरिद गर्न सक्ने अवस्था नै छैन भन्दा केहि फरक पर्दैन । करिब दुई हप्ता अगाडि ४० रुपैंयामा पाइने प्याजको मुल्य अहिले ८० पुगेको छ । ५० रुपैंयाको गोलभेडा ७० पुगेको छ । दशैंको मुखमा दुधको मुल्य प्रतिलिटर ६ रुपैंया बढाइएको छ । गरिव जनताले प्रयोग नै नगरेको ग्यासको मुल्य प्रति सिलिण्डर रु २५ घटाइएको छ । हवाइ इन्धनमा पनि केहि मुल्य घटेको छ । सर्वसाधारण जनतालाई यस्ले कुनै फरक पार्दैन । किनभने न हवाइजहाज चढ्न सक्छ, नत घरमा ग्यास नै प्रयोगमा ल्याएको छ ।
सर्वसाधारणलाई सहजै, सर्वसुलभ कम मुल्यमा उपलव्ध हुनुपर्ने खाद्य बस्तुहरु सागपात, फलफुल, दाल, गेडागुडी, तेल, जिरा मसला, मासु, दुध, चामल, दही, चिनी, लत्ताकपडाको मुल्य आकासिएको छ । यसतर्फ सरकारले अनुगमन नै गर्न सकेको छैन । दिनदिनै गर्नुपर्ने अनुगमनलाई चाडबाडको मौका पारेर गर्नु भनेको सरकारको देखावटी काम मात्र हो । यसले सर्वसाधारण जनतालाई खासै राहत दिन सक्दैन ।
अनुगमन गर्ने निकाय पनि पर्याप्त जनशक्ति नभएको भन्दै म्याँउ म्याँउ गरिरहेको छ । मुलुकमा तीन तहको सरकार भएपनि नेपाली जनताले सरकार भएको भान पाउन सकेका छैनन् । जनताले भोट दिएर जिताएका जनप्रतिनिधि जनताका समस्या समाधान गर्नु भन्दा गाडी सुबिधा र भत्तामा रमाईरहेका छन् । स्थानीय, प्रदेश सरकारले यो बिषयलाई खासै चासोको बिषय बनाएका छैनन् । केन्द्र सरकारले भन्दा पनि स्थानीय सरकारले यो बिषयमा बढि चासो देखाउनु पर्दथ्यो । हरेक साल यस्ता चाडवाड आउँछन् । केहिदिन सार्वजनिक यातायातको बिषयमा बोल्यो अनुगमनको नाटक ग¥यो, चाडवाड सकिएसँगै त्यो पनि हराउदै जान्छ । यो कुरा व्यापारीहरुलाई राम्रैसँग थाहा छ । त्यहि भएर उनीहरु अनुगमनमा आउने सरकारी कर्मचारीलाई उल्टै धम्काएर पठाउँछन् ।