गुटबन्दी बढ्दै, कांग्रेस सिद्धिदै !
टिप्पणी
काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान पहिलेको भन्दा सफल भएको दावी गरेको छ । आन्तरिक संगठन सुस्त रहेको अवस्थामा कांग्रेसका नेताहरुले त्यस्तो दावी गरेपनि के कारणले सफल भयो भन्न सकेका छैनन् । विभिन्न जिल्लामा गुटबन्दीका कारण छुट्टाछुट्टै जागरण अभियान चलाइएका थिए ।
केही नेता पार्टीभित्र कुनै समस्या नरहेको र जागरण अभियानले पाटीलाई ऊर्जा थपेको बताइरहेका छन् । तर देशैभर एकैदिन शुरु भएको राष्ट्रिय जागरण अभियानले चितवनमा तहल्का पिटेको छ । चितवनको क्षेत्र नं. ३ प्रदेश क का लागि केन्द्रीय प्रतिनिधि चुनिएका धर्मराज अर्यालले चितवन काँग्रेसका गुनासाको भारी नै बोकाए । जागरणको पहिलो दिनको कार्यक्रममा चितवन काँग्रेसका नेता टेकप्रसाद गुरुङले काँग्रेस नेताहरूको मथिंगल नै खल्बलिने गरी काँग्रेस सुधार्न नेताहरू नै सुध्रिनु पर्ने बताएका थिए । केन्द्रीय सभापति शेरबहादुर देउवाको असक्षमताका कारण काँग्रेस धरासायी भएकोले उहाँको राजीनामा नै काँग्रेसका लागि हितकर हुने सम्मका कुरा जागरण सभामा उठेका थिए ।
देउबाको नेतृत्वपछि तरुण दल, नेपाल विद्यार्थी.संघ जस्ता बलिया संगठन कमजोर भएको, महिला संघको त्यस्तै अवस्था रहेको र अन्य शुभेच्छुक संगठनको पनि दुर्गति भएको छ । चितवन काँग्रेसलाई बिगार्न देउवा– प्रचण्ड अपवित्र साँठगाँठ कारक रहेको धारणा सार्वजनिक भएका छन ।
त्यस्तै मंगलबार सप्तरीको राजविराजमा आयोजित विरोधसभामा कांग्रेसबाटै निर्वाचित एक सांसद कार्यकर्ताबाट अपमानित हुनुपरेको छ । आसन ग्रहणको विषयमा विवाद भएपछि कांग्रेसकै केही कार्यकर्ताले सांसद तेजुलाल चौधरीलाई अपमानित गरेको चौधरीका समर्थकले बताएका छन ।
राजविराजस्थित पब्लिक विन्देश्वरी माविमा आयोजित कार्यक्रमको औपचारिक सुरुवात भएपछि आसन ग्रहणको विषयमा विवाद भएको थियो । मर्यादाक्रम नमिलेको भन्दै चौधरीले मञ्चमा जान अस्विकार गरेका थिए । तर, नेताहरुको आग्रहपश्चात् उनी मञ्चमा पुगेपछि धक्का दिएर निकालिएको थियो । मञ्चमा विवाद र धक्कामुक्की भएपछि लर्बराएका चौधरी मञ्चबाट भुइँमा लडेका थिए । लगत्तै उनले कार्यक्रम बहिस्कार गरेर जनआन्दोलन चोकमा कोणसभा गरेका थिए ।
उनीसँगै सांसद नमिता चौधरी, पूर्वसभासद रणजित कर्ण, नेपाली कांग्रेस जिल्ला सभापतिका प्रतिद्वन्द्वी रामदेव साह, महाधिवेशन प्रतिनिधि हेमनारायण चौधरी लगायतका २ सयभन्दा बढी नेतारकार्यकर्ता कोणसभामा सहभागी भएका थिए ।
नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादव समर्थित कार्यकर्ताले सुनियोजित रुपमा आफूमाथि आक्रमण गरेको चौधरीले आरोप लगाएका छन् ।
उपसभापति विमलेन्द्र निधिले पहिलेको तुलनामा केन्द्रका नेताहरुबीच एकता भइरहेको दावी गरेका छन् भने मिनेन्द्र रिजालले प्रतिपक्षीको दायित्व पूरा गर्न पार्टी सफल भएको बताएका छन् । प्रदीप पौडेललगायतका केही नेताले आउँदो चुनावलाई लक्षित गरेर कांग्रेस संगठित, एकीकृत र सक्रिय हुनुपर्ने बताएपनि केन्द्रदेखि तलसम्म फैलिएको गुटबन्दीले पार्टीलाई कमजोर बनाएको अन्य नेताहरुको विश्लेषण छ ।
नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीलाई आघात पुग्ने गरी परस्पर बिरोधी अभिव्यक्ति दिइरहेकाले कार्यकर्ताहरुमा अन्यौल बढेको छ । पार्टी सभापति शेरबहादुर देउवा आफ्नो नेतृत्वमा पार्टी गतिशील बन्दै गएको दावी गर्छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले काङ्ग्रेसलाई किन पत्याएनन् भनेर आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताउँछन् । यस्तै महामन्त्री शशांक कोइराला कांग्रेस सिद्धिदै गएको विश्लेषण गर्छन् । केन्द्रीय नेताहरुबाट नै यसरी फरकफरक अभिव्यक्ति आउँदा संस्था कसरी बलियो हुन्छ भन्ने प्रश्न उठिरहेको छ ।
उता दाङमा केही दिनअघि आयोजित कार्यक्रममा बरिष्ठ नेता पौडेलले सभापति देउवालाई लक्षित गर्दै कुनै एउटा नेताको फेर समाएर मात्र पार्टी बलियो नहुने बताए । उनले आउँदो महाधिवेशन पार्टीका लागि अग्नि परीक्षाको घडी हुने र त्यसैले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले विवेक पुरर्याउन कार्यकर्तालाई अपिल गरेका छन् । उनले प्रयोग गरेको विवेक भन्ने शव्द सभापति पदमा आफूलाई चुनियोस् भन्ने आकांक्षाद्वारा उत्प्रेरित भएको देखिन्छ । त्यसैगरी नेता पौडेलले सरकारप्रति असन्तुष्टि जनाउँदै जनताको आशा निरासामा परिणत हुँदै गएको आरोप लगाएका छन् ।
त्यस्तै रामेछापको मन्थलीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस अरुका कारण नभइ आन्तरिक गुटबन्दीकै कारण सकिएको विश्लेषण गरेका छन् । महामन्त्री कोइरालाले चीनसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भाइचाराको सम्बन्ध स्थापित गर्नुलाई सहज रुपमा लिएका छन् । कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले माक्र्स, लेनिन र माओको नाममा मान्छे मारेका कम्युनिस्टले चीनका राष्ट्रपतिको नाममा विकास गरे राम्रै हुने टिप्पणी गरेका छन् । पार्टी भित्र आन्तरिक गुटबन्दी बढिरहेका बेला अहिले पनि नेपाली कांग्रेसले जनतालाई आफ्नो मार्गचित्र देखाउन सकिरहेको छैन । सरकारको आलोचना र विभिन्न महत्वकांक्षी कार्यक्रम देखाएर पार्टीले पुरानै ढर्रामा फाइदा लिन खोजेको भन्दै जनस्तरबाट समेत आलोचना भइरहेको अवस्था छ ।
नेपाली कांग्रेसभित्र पार्टीलाई एक ढिक्का बनाउने कुरा चलेको धेरै भयो । तर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको दुरी झन बढ्दै गएको अवस्था छ । कहिले संगठनको स्वरुपलाई लिएर त कहिले महाधिवेशनको प्रक्रियाका बारेमा वहस चल्ने गर्छ । तर पार्टीभित्र दार्शनिक र सैद्धान्तिक विषयमा छलफल हुने कुरा विरलै सुनिन्छ । केन्द्रदेखि तल्लो तहसम्म नेता, कार्यकर्ता ध्रुविकृत हुँदै गएका छन् । तीन तहको चुनावमा पराजय भोगिसक्दा पनि नेतामा चेतना नआएको अधिकांस कार्यकर्ताको गुनासो छ । केही दिनयता पार्टीभित्र देउवा र पौडेलबीचको गुटबन्दीले नयाँ मोड लिन थालेको देखिन्छ । महाधिवेशनसम्म ती दुई नेता एकीकृत हुने सम्भावना देखिदैन भने सबै कुरा त्यागेर महाधिवेशन पछि आफू कसरी सशक्त हुने भन्ने पिरले दुवैलाई सताएको छ ।
यस्तै महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य शेखर कोइरालालगायतका नेताहरु पनि महाधिवेशन पछि आफ्नो अवस्था बलियो बनाउन विभिन्न रणनीति अपनाइरहेका छन् । तर पार्टीलाई बलियो बनाउने कुरा कमै सुन्ने गरिएको कार्यकर्ताको गुनासो छ ।