नेकपा अध्यक्षले स्वीकारे गल्ती

काठमाडौं । दश वर्षसम्म द्वन्द्व चर्काएर हजारौको हत्या भएको घटनाप्रति आफूले जिम्मेवारी लिने भन्दै पुष्पकमल दाहालले पहिलो पटक विगतमा आफूबाट भुलचुक भएको स्वीकार गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले सरकार र द्वन्द्वपीडित पक्षलाई राखेर आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा दाहालले त्यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अन्तर्राष्ट्रिय न्यायको सिद्धान्त, इतिहास र शान्ति सम्झौताले आफूलाई दोषी मान्छ भने सजाय भोग्न तयार रहेको समेत बताएका छन् । कार्यक्रममा पीडितहरुले दाहालप्रति कडा वैचारिक प्रहार गरेका थिए । उनीहरुले दश वर्षसम्म संघर्ष चलाएर अन्ततः संसदीय प्रणाली मान्ने दलहरुसँग मिलेर पार्टीले सत्तामै जानु थियो भने किन क्रान्ति गर्नुपथ्र्यो भन्ने प्रश्न गरेका थिए ।
त्यसको स्पष्ट उत्तर दिन नसक्दा दाहाल केही लज्जित र कुण्ठाग्रस्त देखिन्थे । टिप्पणीकाररुले उनको अभिव्यक्तिलाई परास्त मानसिकताको संकेत भनेका छन् । पीडितहरुको आक्रोश सम्वोधन गर्ने क्रममा दाहालले विगतमा भएका सबै राम्रा, नराम्रा कुराको जिम्मेवारी आफूले लिने बताए । नैतिक, व्यवहारिक र राजनीतिक जिम्मेवारी लिन तयार भएको बताउँदै दाहालले आफ्नै जीवनकालमा द्वन्द्वकालका सम्पूर्ण मुद्दा टुंग्याउन चाहेको समेत बताए ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता नागरिक छानविन आयोग जस्ता आयोगले ठिकसँग काम गर्न नसक्दा ७० हजार भन्दा बढी द्वन्द्वकालिन मुद्दा अलपत्र परेका छन् । त्यसमा माओवादी मात्र होइन, तत्कालिन सरकारका प्रमुख सुरक्षा अंगहरु समेत प्रत्यक्ष र परोक्ष रुपमा मुछिएका छन् ।
कार्यक्रममा पीडितहरुप्रति सहानुभूति देखाएपनि नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा गम्भीर देखिएनन् । उनी आफूलाई हतार छ भन्दै बीचमै उठेर हिडे । त्यसलाई लिएर सहभागिहरुले आपत्ति जनाएका थिए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पीडितहरुलाई शान्त रहन आग्रह गर्दै थामथुम गर्ने चेष्टा गरेका थिए भने न्यायनिरुपणमा अनावश्यक ढिलाई भएको कुरा वर्तमान सत्तारुढ दल र विगतका विद्रोहीहरुले समेत स्वीकार गरेका छन् ।
संविधान निर्माण र सेना समायोजनलाई पुष्पकमल दाहालले शान्ति प्रक्रियाको महत्वपूर्ण उपलब्धि मानेका छन् । तर पीडितहरु राजनीतिक र व्यवहारिक रुपले समेत शान्ति प्रक्रियाले कुनै आकार लिन नसकेको बताउँछन् । पीडितलाई विश्वासमा नलिइ समस्याको समाधान नहुने अवस्था छ भने भोलि गएर अर्को विद्रोह जन्मिने खतरा पनि त्यतिकै देखिन्छ ।