भारत–पाकिस्तान लडाईंले सार्क संकटमा
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली यतिबेला अमेरिकाको न्युयोर्कमा छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमसँग छोटो भेटगाट गरी फोटो समेत खिच्न भ्याएका छन । सार्कका विदेशमन्त्रीहरुको अनौपचारिक बैठककको अध्यक्षता गर्न उनी त्यहाँ पुगेका हुन । भारत र पाकिस्तानका विदेशमन्त्रीहरुले एकले अर्कोलाई बहिस्कार गरेको घटनाले अध्यक्ष राष्ट्र नेपाललाई भने अप्ठ्यारोमा पारेको छ ।
अमेरिकाको न्युयोर्कमा गत बिहीबार भएको बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर आफ्नो धारणा राखेर बाहिरिएका थिए भने उनी बाहिरिएपछि मात्रै पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसी वैठकमा सहभागी भएका थिए ।
भारतीय विदेशमन्त्रीले सार्क स्याटलाइट, मोटर भेइकल संझौतादेखि आतंकवादसम्मको विषयलाई उठाएका छन् । सार्कमा क्षेत्रीय चासोको विषयहरुमा मात्रै छलफल हुने गरेपनि भारतले द्विपक्षीय मामिलाका विषयहरु उठाउँदा सार्कको वडापत्र उल्लंघन भएको छ ।
बैठकमा पाकिस्तानी विदेशमन्त्री कुरेसीलाई कुर्दा २० मिनेट ढिलो भएको थियो । उनले ट्विट गर्दै कस्मिरीका हत्यारासँग एकै स्थानमा नबस्ने बताएका थिए । त्यसपछि पाकिस्तान विदेशमन्त्रीको अनुपस्थितिमै बैठक शुरु भएको थियो । भारतले अगस्ट ५ मा जम्मु तथा कस्मिरलाई दिँदै आएको विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि नयाँ दिल्ली र इस्लामावादबीच तनाव बढेको छ । वैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो समयसम्म सार्क निष्क्रिय रहिरहे त्यसले विचित्र परिणाम ल्याउने बताएका छन् । तर, उनले त्यस्तो सम्भावित विचित्र परिणमबारे भने केही खुलाएनन ।
यता काठमाडौंस्थित भारतीय राजदूत मञ्जीवसिंह पुरीले काश्मिर घटना सम्वैधानिक रुपले सही भएको दावी गरेका छन् । नेशनल ल कलेज र नीति अनुसन्धान प्रतिष्ठान नेपालद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा बोल्दै उनले कश्मीरमा अब विकास, समृद्धि र शान्ती हुने दावी गरे । कश्मीर मामिलालाई उनले आन्तरिक मामिला भन्दै भारत सरकारले प्रजातन्त्र विरोधी काम नगरेको दावी समेत गरेका छन् । कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ अखिल भारतका प्रचार प्रमुख अरुण कुमार लगायतका वक्ताले पाकिस्तानलाई आतंकारी भन्दै गाली गरेका थिए ।
यस्तै पाकिस्तानी दूतावासद्वारा आयोजित जम्मु–कस्मिरको पछिल्लो मानवअधिकार अवस्था शीर्षकमा कार्यक्रममा कस्मिरमा भएको मानवअधिकार उल्लंघनको विषयलाई उठाएको छ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाभेदले भारत सरकारले कस्मिरमा लामो समयदेखि कफ्र्यु लगाएका कारण स्थानीय बासिन्दाको मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन् ।
यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले राजनीतिक विचारधारा लाद्ने र निर्यात गर्ने काम नगर्ने बताएकीछिन् । चीनको सहायतामा खुलेको चीन अध्ययन केन्द्र नेपालद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले त्यस्तो विचार व्यक्त गरेकी हुन् । कार्यक्रममा उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपतिको विचार अन्तर्राष्ट्रिकरण भइसकेकाले त्यसप्रति गर्व गर्नुपर्ने बताएका थिए ।