शुभ रहोस् बडा दशैं
सम्पादकीय
नेपालीको घर–घरआँगनमा आजदेखि बडा दशैं प्रवेश गरेको छ । घटस्थापनाको दिन आजै नेपालीको घरघरमा जमरा राखिदैछ । आज राखेको जमरालाई नौ दिन नौ रातसम्म पुजाआजा गरेर बिजयादशमीका दिन दुर्गा बिर्सजन पछि सनातनी धर्मावलम्बीहरुले बर्षभरीको अत्यन्त ठुलो चाडको रुपमा लिई मान्यजनको हातबाट टीका जमरा लगाउने प्रचलन रहेको छ । यो क्रम कोजाग्रत पुर्णिमाको दिनसम्म जारी रहन्छ । नवरात्री अर्थात नवरथामा नवदुर्गाको नौ रुप शैलपुत्री, बह्मचारीनी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दामाता, कात्यानी, कालरात्री, महागौरी र सिद्धिदात्रीको उपासना गरिन्छ । नवरात्रीको सातौ दिन अर्थात फुलपातीका दिन बिशेष आरधना गरिन्छ । आराधनासँगै जमरा घरमा नवरात्रिका प्रबेश गराईन्छ । नौ दिनमा देबिको पुजाआजा संगै आफ्नो शरीरभित्र रहेको रिस, राग र द्धेषलाई शान्त पार्नु पनि यो चाडको बिशेषता हो ।
सांस्कृतिक महत्व बोकेको चाड हो दशैं । तर अहिले संस्कृतिको नाममा हत्या हिंसालाई बढवा दिने प्रचलन बढदै गएको छ । देबि देवतालाई खुशी पार्ने नाममा निरीह पशुलाई रेटेर मारिन्छ । र, त्यसलाई नै देबिको प्रसाद मानेर खाने प्रचलन रहेको छ । यो उपयक्त नभएको पशु अधिकारबादीहरुले बताउँदै आएका छन् । धर्मशास्त्रहरुका अनुसार आफैंभित्र रहेको शत्रुलाई शान्त पार्न नौ दिनसम्म पुजाआजा, ब्रत, उपबास बसेर शान्त पारी बिजय प्राप्त गरेपछि खुशीयालीमा प्रसाद स्वरुप रातो टिका र जमरा लगाइने भएकोले यसलाई बिजयादशमी पनि भनिएको हो । आफैं भित्रको शत्रुलाई नाश अर्थात शान्त पारेर बिजय हासिल गरेको बिषयलाई पशु बलीसंग जोड्नु उपयुक्त नभएको भनाइहरु पनि सार्वजनिक भइरहेका छन् । यो पर्वलाई हत्या हिंसारहित बनाउनुपर्ने आवाजहरु पनि उठिरहेका छन् । पशु बलीको सटट घिरौला, कुभिण्डोको बली दिएर पनि देबि देवता खुशी बनाउन सकिने बिषयहरु बाहिर आएका छन् ।
दशैं समग्रमा नेपालीहरुको मात्रै राष्ट्रिय पर्ब बन्न पुगेको छ । नेपालीहरु जहाँ रहे बसेपनि निधारमा रातो टीका कानमा पहेंलो जमरा लगाउने बित्तिकै नेपालीपनको झल्को आउँदछ । यो पर्व नेपाल र नेपालीले मात्र मनाउने गरेका छन् । निधारमा चामलको अक्षताको टिका लगाउने यो चलन अन्यत्र बिश्वमा कंहि पनि छैन । बिश्वका दुईसय देश मध्ये करिब एकसय मुलुकमा नेपालीहरु पुगेको अनुमान छ । जहाँ नेपाली पुगेका छन् ती देशमा पुगेकाहरुले यो पर्व मनाउने गरेका छन् । त्यसकारण यो पर्बको महत्व अझ बढदै गएको छ । तर संस्कृतिलाई बिकृत बनाउनेहरुको जमात पनि बढ्दै छ । तडक भडक गर्दै हुने खानेहरुले हुंदा खानेहरुलाई गिज्याइरहेका छन् । पैसा र पावर हुनेहरुले गरिब र निमुखाले पनि यो चाड सजिलै र रमाइलो सँग मान्न सकुन् भनेर वातावरण बनाइदिनुप¥यो । अनि मात्र सबैको र शुभ चाड बन्नसक्छ बडादशैं ।