काँग्रेसले छान्यो, नेकपाले ठान्यो
चितवन÷नेपाली काँग्रेसले भरतपुर १६ को अध्यक्षका लागि अमृतराज हमाललाई सर्वसम्मत उम्मेदवार छानेको हप्ता दिन वितिसक्दा पनि नेकपाले उम्मेदवार चयन गर्न सकेको छैन । नेकपाले भने अहिले चर्चामा आएका भक्तराज हमालको विकल्पमा इन्द्रबहादुर बस्नेतलाई ल्याउनु न्यायोचित हुन्छ कि भन्ने ठानेको छ । यो बुझाइ पछि भक्तराज पक्ष कम्जोर हुँदै गएको र इन्द्रबहादुर बस्नेत पक्ष बलियो हुन थालेको बुझिएको छ । नेकपाका एक स्थानीय कार्यकर्ताका अनुसार पार्टीमा योगदान गरेको हिसाबले ०७४ कै चुनावमा बस्नेत एक नंबर दाबेदार हुँदाहुँदै उहाँले सोझा चतुरमानलाई मौका दिनुभएको थियो । ०७४ को चुनावमा एमालेका चतुरमान ६४ मतान्तरले विजयी हुनुभएको थियो । ०७६ असोज ४ गते ६३ वर्षीय वडाध्यक्ष चतुरमान गुरुङको निधन भएपछि यहाँ मंसिर १४ गते नै उपनिर्वाचन हुन लागेको छ । अहिले नेकपामा वडाध्यक्षको उम्मेदवार छान्ने रस्साकसी चलेको छ । नेकपा कार्यकर्ताका अनुसार जीवनका उर्जाशील क्षणहरू पार्टीकै लागि समर्पित गरेका बस्नेतलाई उम्मेदवार नबनाए पार्टीले त्यागको राजनीतिलाई त्यागेको ठहर गर्दै स्वतन्त्र उम्मेदवारी दिनुपर्ने दबाब पर्न थालेको छ । भक्तराज पक्षले पार्टीमा बस्नेतको योगदान उल्लेखनीय भए पनि परिस्थिति बुझ्नु पर्ने दाबी गरेको छ ।
०७४ मा थोरै मतले वडाध्यक्ष बन्न नपाएका अमृतराज हमालको पुनरावृत्तिलाई काँग्रेसका सबैले सकारात्मक रुपमा लिएकाले अन्तर्घातकोे सम्भावना सकिएको र त्यो नै काँग्रेसका लागि जीतको संकेत भएको यहाँका काँग्रेसले बताएका छन् । अहिलेको उपनिर्वाचन काँग्रेसका लागि महत्वपूर्ण उपलब्धि हुने भएकाले सबै एकजुट भएर लागिपर्न जिल्ला सभापति जीतनारायण श्रेष्ठसहितका नेता हरेक मञ्चमा गर्जिएका छन् ।