कांग्रेसले सरकारको बिरोध गर्नुको औचित्य छैन
काठमाडौं । नेपाली काँग्रेसले बर्तमान केपी शर्मा ओली सरकारले मुलुकमा केहि गरेन भनेर बिरोध गर्नुको कुनै औचित्य नरहेको प्रष्ट भएको छ । ०४६ सालमा मुलुकमा प्रजातन्त्र प्राप्ति भएपश्चात ०६३ साल अर्थात १७ बर्षको अधिकांश समय नेपाली काँग्रेसले नै मुलुकको बागडोर सम्हालेको थियो । यो कुरा नेपाली जनताले बिर्सी सकेका छैनन् । सत्तामा रंहदा उसले मुलुकका अधिकाँश सरकारी उद्योगलाई निजीकरणको नाममा बेचेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । अझै पनि ऊ अर्थात नेपाली काँग्रेस आफुले गरेको गल्ती कमजोरीको बचाउ गरिरहेको छ । आफु सत्तामा रहंदा भए गरेका गल्ती कमजोरी प्रति सो दल किञ्चित पनि पश्चाताप मानिरहेको छैन ।
नेपाली काँग्रेसले सत्तामा रहंदा कौडीको भाउमा बेचेका उद्योगहरुमा ट्रली बस, साझा यातायात लगायत रहेका छन् । यसैगरी निजीकरणको नाममा जनकपुर रेलवे सेवा, उदयपुर सिमेण्ट कारखाना, भृकुटी कागज कारखाना, बिराटनगर जुट मिल्स, सर्लाही चिनी कारखाना, बाँसबारी जुत्ता कारखाना, जनकपुर चुरोट कारखाना, हेटौडा कपडा उद्योग, हेटौडा काठमाडौं रोपवे, गोरखकाली टायर उद्योग, बुटवल धागो कारखाना, बिरगंज चिनी कारखाना, बिरगंज कृषि औजार कारखाना छन् । यसैगरी इलाम चिया कारखाना, हिमाल सिमेन्ट कारखाना चोभार, लुम्बिनी चिनी कारखाना, इटटा तथा टायल कारखाना भक्तपुर, हरिसिद्धि इटटा तथा टायल कारखाना ललितपुर रहेका छन ।
यि त भए तत्कालीन नेपाली काँग्रसको सरकारले खुल्लमखुल्ला रुपमा बेचेका सरकारी उद्योगहरु । यी बाहेक पनि उसले मुलुकको सार्वजनिक सम्पतिको दोहन गरेको सयौं उदाहरण छन् । तत्कालीन सरकारले गरेका यो गल्तीका कारण नेपाली जनताले बर्षौसम्म त्यसको क्षति ब्यहोर्नु पर्ने भएको छ । उदाहरणको लागि चीन सरकारले उपहार स्वरुप बनाइदिएको ट्रली बसलाई नै लिन सकिन्छ । आगामी दिनमा उत्पादन हुने बिजुली नेपालमा खपत हुने अवस्था छैन । खेर जाने बिजुलीबाट ट्रली बस सञ्चालन गर्न सकेको भए भारतबाट आयात हुने इन्धनमा कमी आउने थियो । त्यो भनेको नेपालको पुँजी स्वदेशमै उपयोग हुँदा त्यसको लाभ नेपाल र नेपाली जनतालाई नै पुग्ने कुरामा दुईमत छैन । प्रतिपक्षमा रहेको तत्कालीन नेकपा एमालेले त्यो कुरालाई मध्यनजर गर्दै सरकारको यो कदमको बारम्वार खुलेरै बिरोध गरेको पनि हो । उसले प्रतिपक्षी दलको कुरा कहिल्यै सुनेन ।
तर बर्तमान ओली सरकारले मुलुककलाई त्यो तहको घाटा र अहित हुने कुनै काम गरेको छैन । तर पनि प्रतिपक्ष दल नेपाली काँग्रेसले ओली सरकार बिरुद्ध बारम्बार बिष बमन गरिरहेको छ । उसले सरकार बिरुद्ध बिष बमन गर्नुको सट्टा बिगतमा आफुहरुले गरेका जनबिरोधी कामको बारेमा समिक्षा गर्ने बेला भइसकेको छ ।
बिगतमा नेपाली काँग्रेसले गरेको गल्ती र कमजोरीका बारेमा बर्तमान नेतृत्वले समिक्षा गर्दै अगाडि बढ्न तयार हुनुप¥यो । त्यतिमात्र होइन आफ्नो सरकारको पालामा भए गरेका अपराध, गल्ती र कमजोरीको बारेमा पार्टी भित्र बहस र छलफल चलाउनु पर्दछ र आगामी दिनमा त्यसलाई सच्याउने दृढता पार्टी नेतृत्वले लिनुपर्दछ । अनि मात्र नेपाली जनताले बर्तमान सरकार बिरुद्ध उसले गरेको बिरोधलाई समर्थन गर्नेछन् । अन्यथा सत्ताधारी दलको बिरोध गरेर मात्र पार्टीको शाख जोगिने छैन । त्यसका लागि नेपाल र नेपाली जनताको मन जित्ने गरी जिम्मेवार प्रतिपक्ष दलको भुमिका निभाउन आवश्यक छ ।