नेताहरूले एकअर्काे पार्टीलाई गाली गर्दै शुभकामना बाँडे
चितवन/दशैंको सेरोफेरोमा चितवन काँग्रेस विभिन्न क्रियाकलापमा सक्रिय रह्यो । भरतपुर १६ को उपनिर्वाचनलाई लक्षित गरी चितवन काँग्रेसले भरतपुर महानगर समिति र १६ नं. वडा समितिमा अन्तरिम संरचनाको काम सिध्याएको छ । साविक भरतपुर उपमहानगरपालिका छँदा गठित समितिका सभापति भरत अधिकारी महानगरका लागि पनि सभापति छानिएका छन् । महानगरमा समेटिएका साविकका चित्रवन नगरपालिका, नारायणी नगरपालिका र कविलास गाविसका सभापति सहअध्यक्ष चुनिएका छन् ।
यसैगरी साविक १७ नं. वडाका सभापति यमबहादुर गुरुङ र १८ नं. वडाका सभापति अमृतराज हमाल वरिष्ठ सदस्यमा चित्त बुझाइ साविक १६ का सभापति रामबहादुर बस्नेतलाई नै वडा नं. १६ को सभापति कायम गराएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरू यथावत नै रहने निर्वाचन अधिकृत विष्णु अर्यालले बताए ।
विजयादशमीको आरम्भमा साविक १८ नं. वडाले आयोजना गरेको वनभोज तथा क्रियाशील सदस्यता वितरण र नेपाल विद्यार्थी संघ दुर्गा मा.वि. विजयनगर समितिका सभापति दिवश ढकालको सभापतित्वमा सम्पन्न चियापान कार्यक्रममा चितवन काँगे्रसका नेताले डबल नेकपा पतनको दिशामा अघि बढेको बताएका छन् । एक पछि अर्को काण्ड मच्चाउँदै उसकै भाषामा अरिंगाल परिचालन गरेको कम्युनिष्ट अब धेरै नटिक्ने काँग्रेसी दाबी छ । विरोधीहरू सिध्याएर तानाशाही शासन लाद्न खोजेको काँग्रेसी ठहरलाई चितवन काँग्रेसले पनि स्वीकारेको छ । भ्रष्टाचारको बिरुद्धमा काँग्रेसी नेतालाई पनि नछोडेका ज्ञानेन्द्र शाहीलाई नेकपाका अध्यक्ष केपी ओलीकै शब्दका अरिंगालले निर्मम कुटपिट गर्नु, संविधानप्रदत्त अधिकारको बर्खिलाप हो, यस्तो ज्यादति लोकतन्त्रमा प्रतिबद्ध नेपाली काँग्रेसलाई मान्य छैन चितवन काँग्रेसका सबैजसो नेताले एकै स्वरमा भनेका छन् । चितवन काँग्रेसका सभापति जीतनारायण श्रेष्ठले १६ नं. मा हुने वडाध्यक्षको चुनावमा काँग्रेसको विजय सुनिश्चित गर्न यस वडाका सबै काँग्रेस एक हुन आब्हान गरे ।
कोजाग्रत पूर्णिमाका दिन नेपाली काँग्रेस चितवनले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपाको शीर्ष नेतृत्वलाई अरिंगाल प्रबृत्ति त्यागेर मौरी हुन आग्रह गरे । उनले भने,– तपाईंहरू सच्चिनुस्, नेपाली काँग्रेसले तपाईंहरूलाई ढुक्कसित साथ दिन्छ हाम्रो यहीँ शुभकामना छ । नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले यी चाडबाडले पार्टीहरूलाई जो सरकारमा रहे पनि सद्भावपूर्ण व्यवहार राखेर अघि बढ्न प्रेरित गरेको बुझ्नु पर्ने बताइन् ।
कार्यक्रममा विभिन्न पार्टीका जिल्ला नेताले काँग्रेसको इतिहास गर्विलो भए पनि धर्मको विषयमा एकमत नदेखिनु बिडम्बना भएको बताए । नेकपाका यमबहादुर परियार राप्रपा संयुक्तका रामहरि कँडेल र समाजवादी पार्टीका विष्णुहरि तिमल्सिनाले नेपाली काँग्रेसको खुलेर प्रशंसा गरे । चुनावी रौनकमा जेजस्तो वातावरण सिर्जना हुुने गरे पनि अरू बेला चितवनका पार्टी नेताहरू एक हुने गरेको गौरवानुभूति पनि नेताहरूले सुनाए । स्वागत मन्तव्यमा चितवन काँग्रेसका उपसभापति कैलाश कोइरालाले यो चाड विशेषको शुभकामना आदान प्रदान कार्यक्रम भएकाले राजनीतिक घोचपेच नगरी सौहार्दता देखाउन गरेको अग्रहलाई सबैले स्वीकार्दै ठूलो संख्यामा उपस्थित भव्य कार्यक्रमलाई सभ्य बनाए । कार्यक्रम चितवन काँग्रेसका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले गरेका थिए ।
यसै साता भएको नेकपाको चियापानमा पनि उपस्थित नेताहरूले एकअर्काे पार्टीलाई गाली गर्दै शुभकामना आदान–प्रदान गरेका थिए ।