पार्टी एकीकरण पूरा नहुँदै नेकपामा खटपट
प्रचण्डको धम्की, ओलीको खप्की
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा खटपट शुरु भएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै दिएका अभिव्यक्तिलाई मसिनो गरी केलाउने हो भने त्यस्तै झ–झल्को मिल्ने गरेको छ । प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्नेहरुलाई सुविधाभोगी वर्ग भनेका छन् । सरकारले गरेका विकास नदेख्ने र स–साना कुरामा टिप्पणी गरिरहने सञ्चारमाध्यम र बुद्धिजीवीतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिएपछि सरकारले वाचा गरेका कामहरु किन समयमा भएनन् र अलपत्र परे भन्ने प्रतिप्रश्न गर्न थालिएको छ ।
गएको बुधबार नेकपाद्वारा आयोजित चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासको कामले छलाङ मारेको टिप्पणी गरेका थिए । चियापान कार्यक्रममा आप्mना बिचार राख्दै उनले आँखा चिम्लिएर केही पनि भएको छैन भन्नेहरुले आँखा खोलेर हेरुन् भन्ने टिप्पणी गरेका थिए । सरकार हात बाँधेर नबसेको भन्दै उनले सरकारको बचाउ गरेका थिए । कार्यक्रमको शुरुमै प्रधानमन्त्री ओलीले यो सांस्कृतिक चाडको अवसरमा आयोजित कार्यक्रम भएकोले राजनीति कुरा नगर्ने बताए पनि सरकारले गरेका राम्रा कामको बारेमा बेलीबिस्तार लगाएका थिए ।
नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रम पुष्पकमल दाहाल प्रचण्डले सोहि जलपान कार्यक्रममा पार्टीमा एकता, सहकार्य र समझदारीको विकास भएको बताएका थिए । तर उनले अघिल्लो दिन दिएको अभिव्यक्ति भुईंमा पुग्न नपाउँदै अर्को दिन चितवन पुगेर दाहालले पार्टीभित्र थुप्रै कमीकमजोरी भएको बताएर प्रधानमन्त्री ओलीप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यकर्तालाई अन्यौलमा पारेका छन् । उनले पार्टीमा विभिन्न रोग देखिएको र त्यसको प्रमुख कारण मध्ये नेतृत्वमा बस्नेहरु पनि एक भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीप्रति लक्षित गर्दै उनले कतै हामी नै व्यक्तिवादी त भइरहेका छैनौ भन्ने प्रश्न समेत गरेका थिए । पार्टीभित्र शक्तिशाली अध्यक्ष रहेका दाहालले नौ महिनाको बिचमा चार पटक त सरकार बिरुद्ध आन्दोलन नै गर्नुपर्ने धम्की दिन भ्याएका छन् । उनले चार पटकसम्म आफूहरु जंगल जान सक्ने, हतियार उठाउने, विद्रोह गर्नेलगायतका धम्की दिएका छन् । गत असोज ६ गते स्वर्गिय नेतृ साहना प्रधानको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि उनले अब अर्को आन्दोलन आवश्यक भएको टिप्पणी गरेका थिए । मानसिक रुपमा अस्थिर दाहालको यो धम्कीलाई ओलीसँगको वार्गेनिङका रुपमा हेरिएको छ । प्रधानमन्त्री वा पार्टीको एकल अध्यक्ष हुन पाउनुपर्ने दाहालको माग छ । तर ओलीले टेरपुच्छर नलगाएपछि बेलाबेलामा विद्रोहको धम्की दिने गरेका छन् ।
यसैगरी पार्टी कामको सिलसिलामा सुदुर पश्चिमको धनगढी पुगेका अध्यक्ष दाहालले सरकारको नेतृत्व गरेका अर्का अध्यक्ष ओलीप्रति लक्षित गर्दै घुमाउरो पाराले सरकारको आलोचना गरेका छन् । पार्टी एकताको प्रक्रिया पुरा नहुँदै दूई अध्यक्षका बिचमा समय समयमा हुने घोचपेच र छेडछाडले एकीकरण नै प्रभाबित हुने त होइन भन्ने चिन्ता नेता तथा कार्यकर्ताहरुमा देखिएको छ । हिजै शनिबार एक राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पार्टीभित्र गंभिर मतभेद रहेको खुलासा पनि गरेका छन् । तर ओलीले कसैको धम्कीबाट आफू नडराउने र आफूलाई कसैले लखेटेर हटाउन सम्भव नरहेको चेतावनी दिएका छन् । उनले पार्टी एकताले यति लामो समय नलिनुपर्दथ्यो तर के–के ग्रन्थीले ढिला भएको छ भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी नेताहरुको स्वार्थले पार्टी एकतामा ढिलाई भएको उनले घुमाउरो पारामा स्वीकार गरेका छन् ।
सभामुखमा हानाथाप
यौन दुव्र्यवहारको आरोपमा सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सो पदको बिषयलाई लिएर पनि सत्तारुढ दल नेकपा भित्रै आन्तरिक द्धन्द्ध चर्किएको छ । यो पद पुर्व एमाले वा माओबादीले लिने भन्ने बिषयमा विवाद शुरु भएको हो । नेपाली कांग्रेसले संविधानमा भएको व्यवस्थाअनुसार सभामुख वा उपसभामुख मध्ये एक पद आफ्नो पार्टीले पाउनु पर्ने दावी गरेको छ भने सत्तारुढ दल नेकपा मै सो पदका लागि हानाथाप शुरु भएको छ । तत्कालिन एमालेको तर्फबाट उपसभामुख बनेकी शिवमाया तुम्वाहाङफेलाई सभामुख बनाउने वा मन्त्री पद दिएर उपसभामुखबाट राजीनामा गराउने चर्चा चलिरहेको छ । उता सभामुख पदमा समाजवादी पार्टीले समेत दावी गरेको अवस्था छ ।
तत्कालिन पार्टीको आधारमा भागवण्डा भएअनुसार सभामुख पद आफुहरुले नै पाउनुपर्ने पूर्वमाओवादी पक्षको तर्क छ । स्थायी समिति र सचिवालयमा पनि यसबारेमा छलफल भएको नेकपाका नेताहरुले बताएका छन् ।