वडाको बजेट कोही रुष्ट, कोही सन्तुष्ट
चितवन/भरतपुर १६ कार्यालयले आर्थिक वर्ष ०७६÷७७ को बजेट विनियोजन सार्वजनिक गरेको छ । यस वर्षका लागि वडा कार्यालयले विभिन्न आयोजनाकेन्द्रित बजेट वडाका टोल विकास संस्था र अन्य क्रियाशील संस्थाका पदाधिकारीहरूलाई बोलाएर सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा संस्थाका प्रतिनिधिहरूसँग राय सुझाव पनि मागिएको थियो । यस वडामा अहिले ४० वटा टोल विकास संस्था र केही सामाजिक संस्था क्रियाशील छन् ।
कार्यवाहक वडाध्यक्ष ओमबहादुर रावल ‘शरण’ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ई. सूर्यप्रकाश लामाले योजना संचालन प्रकृयाको जानकारी दिनुभएको थियो भने वडा सदस्य रामप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सोही अवसरमा डेंगू रोग सम्बन्धमा भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले सोरोगबाट बच्ने उपायबारे अभिमुखीकरण तालिमप्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण वडा सचिव प्रद्युब्न खड्काले गर्नुभएको थियो ।
यो बजेटमा छहारी चोकबाट शान्तिचोक जोड्ने अति महत्वपूर्ण बाटो जिर्ण हुँदा पनि कालोपत्रे गर्ने योजना नपरेकोमा यहाँका स्थानीय रुष्ट भए भने केही ठाउँमा बजेट परेका स्थानीय सन्तुष्ट भएका छन् ।