उपनिर्वाचनमा चितवन काँग्रेस तात्यो
चितवन / भरतपुर १६ को वडाध्यक्ष जित्नका लागि नेपाली काँग्रेस तातेको छ । १६ नं. वडा कार्यसमितिले कार्तिक ८ गते महामन्त्री डा. सशांक कोइरालाको प्रमुख आतिथ्यमा उम्मेदवार घोषणा सभाको आयोजना गरेको थियो । काँग्रेसले शिक्षित, चेतनशील, मिलनसार र विकासप्रेमी युवा अमृतराज हमाललाई उम्मेदवार घोषणा गरेको छ । त्यो सभामा महामन्त्री कोइरालाले राष्ट्रियता, लोकतन्त्र र विकासका लागि नेपाली काँग्रेस नै उपयुक्त पार्टी भएकाले काँग्रेसको विकल्प काँग्रेसबाहेक अरु हुन नसक्ने बताउनु भयो ।
सोही सभामा केन्द्रीय सदस्य जीवन परियारले सबै जातजाति अटाउने पार्टी काँग्रेसलाई विश्वास नगर्नुको विकल्प बाँकी नरहेको उहाँले बताउनु भयो । जिल्ला सभापति जितनारायण श्रेष्ठले यो उपनिर्वाचन एकातिर काँग्रेसका लागि एकताको सन्देश दिने अवसर र अर्कातिर जनतालाई दुईतिहाईको दम्भबाट मुक्ति दिने संकेत भएकाले काँग्रेसलाई जिताउन अपिल गर्नुभयो । कार्यक्रम १६ का सभापति रामबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।
काँग्रेसको दाँजोमा ढिलोगरी उम्मेदवार छानेको नेकपाले निर्वाचन परिचालन समिति र उपसमितिहरू गठन गरिसक्दासमेत सेलाएको काँग्रेस शनिवारदेखि चुनावी रणनीतिमा होमिएको छ । वडाध्यक्ष रामबहादुर बस्नेतको संयोजकत्वमा कार्यसम्पादन समिति गठन गरि साविकका ६ वटा वडाबाट एक÷एकजना संयोजक र उपसंयोजक रहने गरी उपसमिति गठन गरेको छ । साविकको वडा नं. ४ बाट जिल्ला सदस्यसमेत रहेका सुरवीर पोखरेल, ५ बाट धनकुमारी पौडेल, ६ बाट गोपालबहादुर भण्डारी, ७ बाट मिनबहादुर लामा, ८ बाट विष्णुहरि अधिकारी ‘केशव’ र ९ बाट आमन्त्रित जिल्ला सदस्य यमबहादुर गुरुङ कार्यसम्पादन समितिको पदेन सदस्य रहने गरी संयोजक चुनिएका छन् ।
उपसंयोजकसहित अन्य सदस्य चुन्न संयोजकहरूले तीन दिनभित्रको मिति तय गरिसकेका छन् । यसैगरी काँग्रेसका भ्रातृसंगठन र शुभेच्छुक संगठनका वडा सभापति कार्यसम्पादन समितिको पदेन सदस्य रहने गरी उपनिर्वाचन परिचालनका लागि छुट्टै उपसमिति गठन गर्नेछन् । आर्थिक समितिमा नेत्रराज हमाल र अनुगमन समितिमा संविधानसभा सदस्यसमेत रहनुभएका चितवन काँग्रेसका पूर्वसभापति रामकृष्ण घिमिरे संयोजक छानिनु भएको छ । शनिवार भएको भेलाले यो उपनिर्वाचनमा नेपाली काँग्रेसले सुझबुझपूर्ण र सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने मौखिक निर्णय पनि गरेको छ । वडा सचिव कुलायनन्द अधिकारीका अनुसार निर्वाचन आचारसंहिता पालना गर्न १६ को काँग्रेस प्रतिबद्ध छ ।