एकघर एक धाराको अवधारणा कार्यान्वयन गरेरै छाडछौं

– गोपी सुर्खेती, अध्यक्ष, चन्द्रागिरी नगरपालिका वडा नम्बर २

मुलुकका ७ प्रदेशमध्ये चारवटाले संघीय राजधानी उपत्यका प्रवेश गर्न चन्द्रागिरी नगरपालिका वडा नम्वर २ को नागढुंगा नाका पार गर्नैपर्ने बाध्यता छ । यो वडा आफैं भने भौगोलिक जटिलताका कारण बिकास निर्माणमा पछि परेको छ । यहाँको भुगोल अधिकाँश डाँडाकाम्डा मात्र छ । भरखरै प्रधानमन्त्री केपी शर्मा आलीले सिस्ने खोलादेखि नागढुंगासम्मको २.६७ किलोमिटर शुरुङमार्गको शिलान्यास पनि गर्नुभएको छ । सुरुङमार्गको अधिकाश भुमिगत मार्ग यहि वडा भित्र परेको छ । सुरुङमार्गले पार्ने प्रभाव, भावी योजना र समग्र वडाको बिकासमा केन्द्रित रहेर अध्यक्ष गोपी सुर्खेतीसँग रेसुंगा साप्ताहिक प्रतिनिधिले गरेको कुराकानीको अंश ः
यस वडामा जननिर्वाचित भएर आएपछि वडाबासीको पक्षमा तपाईंले के के नया“ काम गर्नुभयो ?
स्थानीय निकायको निर्वाचन सम्पन्न भएसँगै हामी पनि निर्वाचित भएर आयौ । चन्द्रागिरी नगरपालिका १५ वडामा बिभाजित छ । १५ ओटा वडामध्ये यो दुई नम्वर एरिया भौगोलिक हिसाबले भन्नुपर्दा धेरै नै बिकट रहेको छ । त्यसकारण बिकासको हिसाबले भन्नुपर्दा यो पिछडिएको वडामा पर्दछ । हामी जननिर्वाचित भएर आउँदा बिकासको लागि यो वडामा पुर्वाधारको अभाव थियो । भौगोलिक बिकटता सँगैसँगै यहाँ डाँडाकाँडा र कच्ची बाटाहरु बढि नै छन् । मानवबस्तीहरु पनि धैरै फिजारिएर बसेका छन । सोहि कारण पनि यो वडा बिकासको हिसाबले पछि नै थियो । हामी निर्वाचित भएर आएपछि अहिले हामीले वडाबासी जनताको चाहानालाई मध्य नजर गर्दै बिकासका पुर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । बिभिन्न ठाँउहरुमा प्रतिक्षालय निर्माण गरेका छौं । स्थानीयमाझ आयमुलक र सिपमुलक कार्यक्रम सञ्चालन गरिरहेका छौं ।
यो वडाको स्वास्थ्य स्थिति कस्तो रहेको छ ?
स्थानीय जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै हामी निर्वाचित भएर आएपछि पहिलो फेजमा ६० लाख रुपैंया बजेट बिनियोजित गरी स्वास्थ्य भवन निर्माण भइरहेको छ । पहिलो तलाको निर्माण कार्य पनि सम्पन्न भईसकेको छ । दोश्रो तला थपको लागि पनि बजेट छृटटाइसकेका छौं । यो आर्थिक बर्षभित्र त्यसलाई सम्पन्न गर्ने योजना छ । यो वडा काठमाडौं प्रवेशद्धारको मुख्य केन्द्र भागमा पर्ने भएकोले पनि सवारी दुर्घटनालाई पनि ध्यान दिएका छौं । सडक दुर्घटानालाई मध्य नजर गर्दै हाइवेमा हुने सवारी दुर्घटनाका घाईतेहरुको सामान्य उपचार यहि अस्पतालमा होस र बिरामीले राहत महसुुस गरुन भन्ने उद्देश्य हाम्रो रहेको छ ।
काठमाडौंको मुख्य प्रवेशद्धारमा पर्ने यो वडामा सार्वजनिक शौचालयको ब्यवस्था छ कि छैन ?
नागढुंगा प्रवेशद्धार मै हामीले सार्वजनिक सौचालयको व्यवस्था गरेका छौं । महिला, पुरुष र अपांगमैत्री शौचालय निर्माण गरेका छौं । खासगरी यो शौचालय सवारी साधनबाट यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गरेर नै निर्माण गरेका हौं ।
यस वडामा शिक्षाको स्थिति कस्तो छ त ?
चन्द्रागिरी नगरपालिकामा सबैभन्दा बढि बिद्यालय भएको वडा नै यहि हो । यस वडा भित्र तिनवटा माध्यमिक बिद्यालय र एउटा आधारभुत बिद्यालय रहेको छ । एउटा माध्यमिक बिद्यालयमा प्लस टु सम्मको पढाई भइरहेको छ । शैक्षिक हिसावले यो बडा सम्पन्न नै छ ।
वडाबासीको लागि खानेपानीको के कस्तो ब्यवस्था मिलाउनु भएको छ ?
पहिला यहाँ खानेपानी व्यवस्था राम्रो थिएन । हामी निर्वाचित भएर आएपछि पहिलो निर्णय नै खानेपानीलाई जोड दिने ग¥यौ । साथै एक घर एक धाराको अवधारणा अगाडि बढायौं । यो निर्णयलाई कार्यान्वयन गर्दै लगेका छौं । हामी निर्वाचित भएको तेश्रो वर्षमा प्रवेशसँगै करिब दुईसय घरधुरीमा धारो जोडन सफल भइसकेका छौ । नागढुंगा सिस्नेरी सुरुङमार्ग निर्माणको अधिकाश भाग यही वडाभित्र पर्नेछ । सोहिकारण यहाँका भुमिगत खानेपानीको श्रोतहरुलाई यसले प्रभावित पार्ने निश्चित भएको छ । सुरुङ मार्ग आयोजनाले गरेको अध्ययन र सर्वेक्षणले यो कुराको पुष्टि पनि गरिसकेको छ । सुरुङमार्ग निर्माण आयोजना जापानिज कम्पनी जाइकाले खानेपानीमा पर्नसक्ने समस्यालाई ध्यान दिदैं १३ करोडको लागतमा नयाँ खानेपानी आयोजना निर्माण गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । ट्रिटमेन्ट प्लानसहित घरघरमा धारो जडान गरिदिनेगरी सहमति गरी हाल सर्बेको काम भइरहेको छ । केहिदिनपछि नै कामको थालनी गर्ने प्रतिबद्धता जाइकाले गरिसकेको छ । यो आयोजना सम्पन्न भएर पानी बितरण हुन थालेपछि एकघर एक धाराको अवधारणा पुरा हुनेछ । हामीले यस वडाका जनतासँग गरेको पहिलो प्रतिबद्धता पनि यहि थियो ।
भुमिगत सुरुङमार्गले पु¥याउने अरु वातावरणिय क्षतिका बारेमा यस वडाका जनतालाई सचेत गराउनु भएको छकि छैन ?
सुरुङमार्गले यो वडाको जमिनमाथिको कुनै पनि भु–भागलाई छुदैछुदैन । अधिकाँश जमिनमुनिको भु–भागलाई छुनेछ । हामीले पाएको प्रारम्भिक रिपोट अनुसार यसले कुनै पनि असर नपार्ने भन्ने नै रहेकोे छ । त्यसको पुर्ण बिवरण भने आएको छैन । सुरुङमार्ग माथि पर्ने घरहरुलाई असर पर्ने नपर्ने रिपोट भने आइसकेको छैन । इञ्जिनियरहरुका अनुसार असर नपर्ने भन्ने भनाइ बाहिर आएका छन् ।
मुआव्जा बितरणका बारेमा आयोजनाले के गरिरहेको छ ?
२ नम्वर वडाका जनताको जग्गा जमिनमाथिको भाग परेको छैन । यो कुरा मैले माथि पनि भने । यो वडाबाहेक चन्द्रागिरी नगरपालिकाको १,३ र ५ नम्वरमा पर्ने जग्गाको अधिग्रहण गरी मुआव्जा बितरणको काम सकिएको छ । धादिङपट्टीको अवस्था के छ त्यो हामीलाई थाहा हुने बिषय भएन । यो नगरपालिका भित्रपर्ने जग्गाको हकमा भने अब कुनै सम्स्या छैन ।


यो सुरुङमार्ग बनेपछि यहाँ बसोबास गर्ने जनता र वडाले लिनसक्ने लाभको बारेमा के सोच्नुभएको छ ?
२.६७ किलोमिटर सुरुङमार्ग निर्माण भएसंगै ४ किलोमिटर सडक दुरी छोटिने छ । यसबाट नै मुलुकलाई कयौं लाभ हुनेछ । राजधानी प्रवेश नाका र जाम हुने प्रमुख ठाउँ पनि यहि हो । लोड गाडीहरु पिपलबोट देखि नागढुंगासम्म आइपुग्दा नै फस्ने र बिग्रने गर्छन् । गाडीको जाम पनि यहि ठाउँमा नै बढि हुने गरेको थियो । सुरुङमार्ग निर्माणपछि यो समस्या स्वतः हल हुने भयो । उकालोमा लोड गाडीहरुले बढि धुवाँ फाल्ने हुनाले यहाँको बातावरण नै दुषित थियो । त्यसबाट यहाँका जनताले मुक्ति पाउने भए । बातारणको हिसावले पनि राम्रो हुने नै भयो । लोड गाडीहरु भुमीगतमार्गबाट जानेछन् भने यात्रुबाहक र हल्का सवारी साधनमात्र अहिलेको सडकबाट गुडनेछन् । सडकमा सवारी साधनको चाप पनि न्युन हुनेछ र प्रदुषण पनि । साथै स्थानीय जनताले पनि रोजगारी पाउनेछन् ।
मुलुकका नगरपालिकाहरुले नगरबासीलाई चाहिने भन्दा बढि कर लगाएको आरोप लगाएका छन्, यो वडाका जनताले त्यो महसुस गरेका छन कि छैनन ?
यो बिषय नगरकार्यपालिका र नगरसभाले गरेको निर्णय हो । नगरपालिकाले त्यस्तो अस्वाभाबिक कर लगाएको जस्तो मलाई लाग्दैन । हामी निर्वाचित भएर आउनु भन्दा अगाडि पनि कर लिइएको थियो । तर त्यसमा अनियमितता धेरै हुने गरेको रहेछ । अहिले त्यो पुरै रोकिएको छ । सोहिकारण पहिलेको तुलानामा कर पनि धेरै बढी संकलन भएको छ । त्यहि भएर बढी कर लगाएको हो भनिएको होला । बास्तबिकता त्यस्तो होईन । जनताले तिर्नसक्ने गरी नै करको दायरा तोकिएको छ भन्ने मलाई लाग्दछ । हिजोको दिनमा घर कर तिर्दा न्युन मुल्याकंन गरी लिइएको अवस्था थियो । अहिले हामीले त्यसमा कडाई गरेका छौ । व्यवसाय करमा पनि त्यसै गरेका छौं । सोहि कारण कर पनि बढि उठेको अवस्था छ ।
यो वडाले बार्षिक कति रकम कर उठाएर नगरपालिकालाई पठाउ“छ ?
शुरु बर्ष हामी आउनु अघि बार्षिक २० लाख कर उठने गरेको रहेछ । हामी निर्वाचित भएर आएपछि दोब्बर अर्थात ४० लाख कर उठाएका छौं ।
नगरपालिकाले तपाइ“हरुलाई बार्षिक कति रकम उपलव्ध गराउने गरेको छ ?
नगरपालिकाले सबै वडालाई समानुपनतिक हिसावले नै बजेट बितरण गर्ने गरेको छ । पहिलो वर्ष सवा एक करोड जति आएको थियो । चालु बर्षमा करिव साढे दुई करोड भन्दा माथि नै पठाएको थियो ।
फोहोर व्यवस्थापनको लागि नगरपालिकाले के कस्तो रणनीति अंगालिरहेको छ ?
नगरपालिका आफैंले अहिलेसम्म फोहोर व्यवस्थापन गर्न सकिरहेको छैन । तयारी भने गरिरहेको छ । अहिलेसम्म संकलनकर्ताले नै फोहोर संकलन गरेर उठाउने गरेका छन । त्यो फोहोर नुवाकोट लैजाने गरिएको छ । नगरपालिका आफैंले पनि फोहोर व्यवस्थापनको लागि के गर्ने भन्ने बिषयमा पनि रणनीति बनाइरहेको अवस्था छ ।
तपाईंका आगामी रणनीतिहरु के के रहेका छन् ?
धेरै कुरा त मैलै माथि पनि भनिसके । यो वडामा धैरै भौगोलिक जटिलता रहेका छन । भौगोलिक जटिलताको सामना गर्दै हामी अगाडि बढछौं । यो नगरपालिका र यस वडाबाट संघीय राजधानीका अधिकांश स्थान र धादिङको धेरै भु–भाग नियाल्न सकिन्छ । त्यसकारण हामीले आगामी दिनमा आन्तरिक र बाह्य पर्यटकको आकर्षक केन्द्रबिन्दु यो वडालाई बनाउने योजना अगाडि सारेका छौं । यहाँको डाँडाकाँडामा होमस्टे बनाएर पर्यटकको लागि आर्कषक गन्तव्यस्थल बनाउने सोचमा छौं । यो वडा कार्यालय रहेको नागढुंगा भन्दा करिव दुई किलोमिटर हाइटमा मसिने भन्ने गाँउ छ । त्यहाँ अधिकाँश तामाङ बस्ती छ । करिव दुईसय भन्दा बढि घर धुरी बसोवास गर्ने उक्त ठाउँलाई नै हामीले पर्यटकको गन्तव्यस्थल बनाउने योजना बनाएका छौ । त्यो ठाउँबाट पुरै उपत्यकाको दृष्य अबोलकन गर्न सकिने भएकोले होमस्टे सञ्चालन गरेर त्यहाँको जनताको जीवनस्तर उकास्न आयआर्जनमा पनि सहयोग पु¥याउने रणनीति रहेको छ । यसैगरी नगरपालिका भित्रका डाँडाकाँडामा जडिबुटि खेति गरेर उपत्यकाकै नमुना नगरपालिका र वडा बनाउने योजना रहेको छ ।