विकासको दिशा र संघीयता कार्यान्वयनप्रति विश्व बैंकद्वारा प्रशंसा

काठमाडौं । विश्व बैंकले नेपालको संघीयताको प्रशंसा गरेको छ । नेपाल भ्रमणमा रहेका २३ जनाको प्रतिनिधि मण्डलले नेपालको संघीयताबाट अरु देशले पनि सिक्नुपर्ने धारणा राखेपछि संघीयता पक्षधरलाई ऊर्जा मिलेको छ भने संघीयता विरोधीहरुको मन अमिलो भएको विश्लेषण गर्न थालिएको छ ।
विश्व बैंकमा संसारका विभिन्न सदस्यबाट प्रतिनिधित्व गर्ने २५ वटा कार्यकारी निर्देशक मध्ये नेपाल समेतको प्रतिनिधित्व गर्ने नौ जना कार्यकारी निर्देशक, दुई जना वैकल्पिक कार्यकारी निर्देशक र बैंकका उच्चस्तरीय कर्मचारीको टोलीले अर्थमन्त्री युवराज खतिवडासँग भेटमा सो कुरा बताएको हो । अर्थमन्त्रीसँगको भेटमा प्रतिनिधिमण्डलले नेपालको संघीयता व्यवस्थापनमा भएको उपलब्धि तथा आर्थिक व्यवस्थापनका प्रयासहरुको बारे उच्च प्रशंसा गरेको हो ।
प्रतिनिधिमण्डलसँगको भेटका क्रममा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक, सामाजिक तथा जनसांख्यिक र वातावरणीय अवस्थाको जानकारी गराउँदै नेपालले हालैका वर्षहरुमा हासिल गरेको आर्थिक सामाजिक प्रगति बारेमा जानकारी गराएका थिए ।
नेपाल छोटो अवधिको लोकतान्त्रिक अभ्यास भएको, संघीयता अभ्यासका दृष्टिले नेपाल सबैभन्दा कान्छो मुलुक भएको, युवा जनसंख्या अत्यधिक भएको र कमजोर भू–अवस्थिति भएको मुलुक रहेको बताउँदै उहाँले विगत ३ वर्षमा औसत आर्थिक बृद्धि ६.५ प्रतिशतभन्दा बढी रहेको र गत बर्षमा ७.१ प्रतिशतले आर्थिक वृद्धि भएको तथा मुद्रा स्फीति ५ प्रतिशतमा कायम रहेको तथा रोजगारीका अवसरहरु वृद्धि हुँदै गइरहेको जानकारी दिदैं अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्साहको वातावरण सृजना गरेको बताएका थिए ।
वाह्य क्षेत्रको असंतुलन, वित्तीय स्रोतको सीमा र क्षमताको अपर्याप्तताका कारण थप आर्थिक वृद्धि हासिल गर्न आगामी बर्षहरुमा वाह्य क्षेत्र संतुलनमा समेत सुधार हुँदै गएको भएपनि केहि चुनौतिहरु रहेको जानकारी अर्थमन्त्री खतिवडाले गराएका थिए । तथापी विकासका पूर्वाधारहरु तयार हुँदै गरेको, शिक्षित जनशक्ति विकास हुँदै गरेको र नेपाल सरकारको ऋणको अनुपात हाल कुल गार्हस्थ उत्पादनको ३० प्रतिशतमा सीमित रहेकोले गुणस्तरीय आयोजनामा थप वित्तीय स्रोत जुटाई आर्थिक तथा सामाजिक विकासको गतिलाई अझै बढाउने अवसर प्राप्त हुनेमा धारणा व्यक्त गरेका छन् ।
वित्तीय क्षेत्र तथा उर्जा क्षेत्रको नीतिगत सुधारमा विश्व बैंकको सहयोगले सघाउ पुगेको र यसको अर्थतन्त्रमा सकारात्मक असरहरु देखिन थालेको बताउँदै अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रको स्थायित्वका साथै आर्थिक बृद्धिको लागि पहिले देखिएका अबरोधहरु हट्दै गएको बताए ।
पूँजीगत सामान तथा कच्चा पदार्थको आयातमा भएको बिस्तारले ब्यापार घाटा बृद्धि भई भुक्तानी सन्तुलनमा केही चाप परेको अवस्था देखिएता पनि आयात प्रतिस्थापन तथा निर्यात बृद्धिमा अवलम्वन गरिएका सुधार प्रयासले गर्दा व्यापार घाटा सुधारोन्मुख भएको, भुक्तानी संतुलन कायम हुन थालेको र विदेशी मुद्रा संचिति ९ महिनाको आयात धान्ने गरी सहज अवस्थामा रहेको जानकारी गराएका छन् । नेपालको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिन थालेको अर्थमन्त्री खतिवडाले वताएका छन् ।
दुरसंचार सेवाबाट शुरु भएको विश्व बैंकसँगको सहकार्य ५० बर्ष पूरा भएको स्मरण गर्दै दुरसञ्चार क्षेत्रको हालको प्रगती उत्कृष्ट रहेको बताउँदै विश्व बैंक नेपालको आर्थिक तथा सामाजिक विकासमा एक विश्वसनीय साझेदार संस्थाको रुपमा स्थापित भएकोमा धन्यवाद दिए । दिगो विकासका लक्ष्यहरु हासिल गर्न, पुनर्निर्माण, पर्यटन र पूर्वाधार विकास, वातावरण तथा पर्यावरणीय सुधार एवम् विपद् व्यवस्थापनलगायका क्षेत्रमा विश्व वैंकको थप सहयोग आवश्यक रहको जानकारी गराएका छन् ।
उनले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सबै दाताहरुले एकै डालोमा सहायता विनियोजन गर्ने क्षेत्रगत कार्यक्रम (क्ध्ब्ए) ले सकारात्मक नतिजा दिएको सन्दर्भमा स्थानीय निकायको पूर्वाधार विकासमा सोही अभ्यास अवलम्वन गर्दा प्रभावकारी हुने धारणा राखे ।
संघीयता कार्यान्यनको शुरुवाती चरणमा संविधानले परिकल्पना गरे बमोजिम कानून निर्माण, मौलिक हक कार्यान्वयन, संगठन निर्माण तथा जनशक्ति व्यवस्थापनमा समय व्यतित भएता पनि हाल नीतिगत, कानूनी तथा संस्थागत संरचना तयार भई कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी दिए । उनले संघीय संरचनाबमोजिम प्राकृतिक स्रोत तथा साधन तथा राजस्व बाँडफाँड र बजेट कार्यान्वयन एवं सोको प्रतिवेदन प्राप्त गर्ने र लेखापरीक्षण गर्ने प्रणाली स्थापित भैसकेको पनि बताए ।
छलफलको क्रममा प्रतिनिधिमण्डलको तर्फबाट मेक्सिकोलगायतका देशहरुको कार्यकारी निर्देशक जर्ज जाभेज प्रेसाले छोटो समयमै संघीयता व्यवस्थापनमा नेपालले हासिल गरेको उपलब्धिको उच्च प्रशंसा गर्दै सो प्रक्रियाको बारेमा नजीकबाट बुझ्न विश्व बैंकमा रहेको कुल मताधिकारको करीब ५० प्रतिशत र करीब १०० देशहरुको प्रतिनिधित्व गर्दै प्रतिनिधिमण्डल नेपाल आएको जानकारी गराएका थिए । स्थलगत भ्रमणको क्रममा नेपालले गरेको संघीयताको अभ्यास नजिकबाट अवलोकन गर्ने अवसर प्राप्त भएको र यसबाट व्यवहारिकरुपमा थप सिक्ने मौका मिलेको उनले बताए ।
छलफलकै क्रममा अन्य मुलुकका कार्यकारी निर्देशकहरुले आफ्नो मन्तव्य व्यक्त गर्दै संघीयता कार्यान्वयन, कर प्रणाली, वाह्य क्षेत्रको जोखिम, नागरिकका उच्च अपेक्षाको व्यवस्थापन, निजीक्षेत्रको भूमिका बढाउने प्रयास र नेपालको संघीयता कार्यान्वयनमा विश्व बैंकबाट कस्तो अपेक्षा गरिएको छ भन्ने जस्ता जिज्ञासाहरु राखेका थिए । उनीहरुले राखेको जिज्ञासाको जवाफमा अर्थमन्त्री डा. खतिवडाले तीनवटै तहका सरकारका जिम्मेवारी बाँडफाँड, जवाफदेहिताको सुनिश्चितता, स्रोत व्यवस्थापन, क्षमता विकास र सुशासनका प्रयासहरु तथा वाह्य क्षेत्र सुधार गर्न चालिएका कदमहरु मूल्य अभिवृद्धि कर लगायत समग्र कर प्रणालीमा गरिएका सुधारका प्रयासहरु र सोबाट देखिएका सकारात्मक प्रभावहरुको बारेमा जानकारी गराएका थिए ।
लगानी र रोजगारी सिर्जनामा निजी क्षेत्रको अग्रणी भूमिका रहेको भन्दै निजी क्षेत्रको विकासमा सार्वजनिक क्षेत्रको भूमिका परिपूरकको रुपमा रहने र निजी क्षेत्र आकर्षित नहुने क्षेत्रहरुमा मात्र सरकारको भूमिका रहने बताए ।
विश्व बैंकबाट बार्षिकरुपमा प्रकाशित हुने डुइङ विजनेश रिपोर्टमा नेपाल यो बर्ष ११० औं स्थानबाट ९४ औं स्थान कायम गर्न सफल भएको प्रसंग उल्लेख गर्दै व्यवसाय सहजीकरणमा नेपालले थालनी गरेको सुधारका प्रयासहरु पूरै समावेश हुन नसकेको र आगामी प्रतिवेदनमा समावेश भई नेपालको स्थान अझ सुधार हुने विश्वास व्यक्त गरेका छन् ।
विश्व बैंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री के.पि. शर्मा वलीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै विकासको स्पष्ट दृष्टिकोण, कार्यक्रम र विज्ञ नेतृत्वका कारण नेपालले विकासलाई छिटो अघि बढाउन सक्ने विश्वास पनि उनीहरुले राखेका छन् ।
विश्व बैंकको उच्च स्तरको प्रतिनिधिमण्डल नेपालमा पहिलो पटक भ्रमण गरेको हो । भ्रमणमा आएको प्रतिनिधिमण्डलसंग नेपालका लागि विश्व वैंक, अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री डाइरेक्टर, कन्ट्री म्यानेजर, अर्थ सचिव राजन खनाल तथा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति थियो ।