उपनिर्वाचन जित्ने कस्तो छ दलहरुको रणनीति

काठमाडौं । आगामी मंसिर १४ गते हुन गइरहेको उपचुनावमा नै सवैको ध्यान केन्द्रित भएको छ । संघीय संसदको उपचुनाव कास्की २ मा मात्र हुने भएपनि अग्नि परीक्षा भने नेकपा र सरकार दुवैको हुनेछ । संसदमा नेकपाको प्रष्ट बहुमत छ । त्यसैले यो एक सिटको जितहारले सरकार बन्ने र ढल्ने होइन । तर यो उप चुनावको सन्देशले ठूलो अर्थ राख्नेछ । त्यसकारण अरु दलले भने जस्तै नेकपाले पनि कास्की २ को चुनावलाई मिनी जनमत संग्रहका रुपमा लिएको बताइएको छ ।
नेकपा पार्टी र सरकारले २ वर्षमा गरेका काम कति लोकप्रिय छन् भन्ने यो उपनिर्वाचनले प्रष्ट सन्देश दिने गरी निश्कर्ष निस्कनेमा नेपाली जनताले त्यो दिनको प्रतिक्षा गरेका छन् । त्यति मात्र होइन कास्की २ नम्वरमा चुनाव जित्दा विद्या भट्टराईले मात्रै जित्ने होइन, देशैभरी पार्टी एकताको सन्देश जाने भएकोले पनि यो निर्वाचन नेकपाको लागि थप अग्निपरीक्षा भइरहेको छ ।
तत्कालीन एमाले र माओवादीबीच एकता भएको वर्ष दिन नाघेपनि एकता प्रक्रिया टुंगिएको छैन । कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरका ११ वडा पर्छन् ।
निर्वाचनको अनुगमन र निर्देशनका निम्ति प्रदेश सहइन्चार्ज खगराज अधिकारीको नेतृत्वमा प्रदेशस्तरीय कमाण्ड समिति बनेको छ । कास्की अध्यक्ष कृष्ण थापाको नेतृत्वमा २ हजार ६ सय जनाको परिचालन समिति बनेको छ । ५१ सदस्य रहने गरी २६ उपसमिति बनाएर सरकार र पार्टीको काम तथा योजना लिएर जनताको घरदैलोसम्म पुर्याउने गरी परिचालन गर्ने अर्को रणनीति छ ।
कास्की २ मा सत्तारुढ दलको तर्फबाट विद्याको प्रमुख प्रतिस्पर्धीका रुपमा कांग्रेसका पाका उम्मेदवार खेमराज पौडेल छन् । उनको उम्मेदवारीसँगै घातप्रतिघातको अन्त्य भएको घोषणा गर्दै कांग्रेसले नेकपालाई यो परीक्षामा हराउने बताएको छ । गत निर्वाचनमा ८ हजार ५सय ४२ मतले कांग्रेस हारेको थियो । तर, उपचुनावमा त्यो मतान्तर उल्ट्याउँदै नतिजा हात पार्ने उसको दाबी छ ।
कांग्रेससँगै समाजवादी पार्टीका धर्मराज गुरुङ, साझा पार्टीकी रजनी केसीलगायत साना दल र स्वतन्त्रसहित २२ जना कास्की २ को उपनिर्वाचनमा होमिएका छन् ।
का“ग्रेसमा असन्तुष्टि
नेपाली कांग्रेसभित्र कास्की २ लगायत विभिन्न ठाउँमा उम्मेदवार छान्दा आफ्नो पक्षलाई उपेक्षा गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले वैठक वहिस्कार गरेको बिषय अहिले चुनावी मसला बनिरहेको छ । चुनावका बेला एकजुट हुनुपर्नेमा अझै पनि तेरो र मेरो भन्दै पार्टीभित्र ध्रुवीकरण बढाएको र यस्तो गुटबन्दीले पार्टीलाई अरु कमजोर पार्न सक्ने कांग्रेस निकट बुद्धिजीवीहरुको तर्क छ । विगतको संसदीय चुनाव र प्रदेश तथा स्थानीय तहको निर्वाचनमा नराम्रोसँग पराजय भोगेको कांग्रेसले अझै पनि पाठ नसिकेको भन्दै पार्टी भित्रैबाट आलोचना पनि भइरहेको छ ।
खासै सैद्धान्तिक मतभिन्नता नभएपनि आउँदो महाधिवेशनपछि आफू शक्तिशाली बन्न नेपाली कांग्रेसको नेतृत्व तहमा गम्भीर मत भिन्नता देखिएको बताइएको छ । देउवा, पौडेल, कोइराला, सिटौला आदिका आआफ्ना गुटहरु छन् । ती गुटहरुभित्र नेपाली कांग्रेसको दलीय स्वार्थ अझ बढेर गएको बताइन्छ ।
क–कसले गराए मनोनयन दर्ता ?
मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ ।
आयोगका अनुसार बिहीबार कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर–१ को (१), बागलुङ–२ को (२) र दाङ–३ को (२) मा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम सम्पन्न भएको हो । आयोगले मनोनयनपत्र दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मको समय तोकेको थियो ।
कास्की–२ को प्रतिनिधि सभा सदस्य रिक्त पदमा कमल जङ्ग (स्वतन्त्र), नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का विद्या भट्टराई, देशभक्त समाजका वीर वहादुर विश्वकर्मा, नेपाली काँग्रेस (बी.पी.) का चन्द्र बहादुर रानाभाट, यज्ञप्रसाद पंगेनी (स्वतन्त्र), साझा पार्टीका रजनी के.सी., राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर राना, जमुना शर्मा (स्वतन्त्र), नेपाली काँग्रेसका खेमराज पौडेल, नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी, मंगोल नेशनल अर्गनाईजेशनका रियाज गुरुङ, समाजवादी पार्टीका धर्मराज गुरुङ, लक्ष्मी कुमारी भुजेल (स्वतन्त्र), सुनिल भुसाल (स्वतन्त्र), सुनिल बहादुर कोइराला (स्वतन्त्र), उमनाथ गौतम (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का श्रीमती गंगा मल्ल, दिपक रेग्मी (स्वतन्त्र), राष्ट्रिय प्रजातन्त्र पार्टीका रोम बहादुर भण्डारी, रन बहादुर दमै (स्वतन्त्र), नवराज वास्तोला (स्वतन्त्र) र पुरुषोत्तम खनाल (स्वतन्त्र) गरी जम्मा २२ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीमा मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै भक्तपुर निर्वाचन क्षेत्र नं. १ को (१) मा रिक्त प्रदेश सभा सदस्य पदमा कृष्ण प्रसाद ह्योगो (स्वतन्त्र), जिवन नेपाली (स्वतन्त्र), कृष्णराम पोतामाहा (स्वतन्त्र), साझा पार्टीका सुरज प्रधान, अर्जून कोजु (स्वतन्त्र), उत्तम साखकर्मी (स्वतन्त्र), नेपाली काँग्रेसका कृष्णलाल भडेल, राकेश सुवाल (स्वतन्त्र), समाजवादी पार्टीका सुदर्शन मुनकर्मी, नेपाल मजदुर किसान पार्टीका निरज लवजू, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, सुमना कार्की (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देबिप्रसाद ढकाल, जिवन चन्द्र अधिकारी (स्वतन्त्र), नेपाल कम्युनिष्ट पार्टी (माले) का सुदर्शन लामिछाने, संगिता पौडेल आचार्य (स्वतन्त्र), सुजाता देउजा (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा र नेपाली काँग्रेस (बि.पी.) का मधुसुदन न्यौपाने गरी जम्मा १९ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
यसैगरी बागलुङ निर्वाचन क्षेत्र नं. २ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा रा.प्र.पा. (संयुक्त) का निमबहादुर भण्डारी, समाजवादी पार्टीका अशोककुमार बि.क., राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवर, सन्तोष भण्डारी (स्वतन्त्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राई, नेपाली काँग्रेसका जितबहादुर शेरचन, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आले, शेरमान घर्तिमगर (स्वतन्त्र) र मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगर गरी जम्मा १० जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।
यस्तै दाङ निर्वाचन क्षेत्र नं. ३ को (२) मा रिक्त प्रदेश सभा सदस्य पदमा राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्मा, नेपाली काँग्रेसका केशव राज शर्मा, नेपाल मजदुर किसान पार्टीका सुरेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का छोटीलाल थारु, नेपाल कम्युनिष्ट पार्टीका हरिप्रसाद डागी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बिमला कुमारी खत्री, समाजवादी पार्टीका डिल्ली बहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपाल रावत, मंगोल नेशनलका घनश्याम चौधरी, टिकाराम आचार्य (स्वतन्त्र), गोविन्द के.सी. (स्वतन्त्र), साझा पार्टीका शिव कुमार चौधरी, नेपाल लोकतान्त्रिकका झरेन्द्र बहादुर खत्री र नेपाली कांग्रेस (बी.पी.) का दिपक कुमार धिताल गरी जम्मा १४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।