रंगशाला निर्माणले लियो गति

चितवन / भरतपुर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामले गति लिएको छ । तिहारको सेराफेरोमा डीपीआर सार्वजनिक गरेको धुर्मुस सुन्तली फाउण्डेशनले अब निर्धारित मितिमै रंगशाला निर्माण भइसक्ने कुरामा शंका नगर्न भनेको छ । हिजो स्थानीय पालुवा टोल विकास संस्थाको आर्थिक सहयोग ग्रहण गर्ने क्रममा अध्यक्ष सीताराम कट्टेलले भने,–स्थानीयको साथ र सहयोग लिएरै यो रंगशालाको काम निर्धारित समयमा सकिने कुरामा म ढुक्क छु । टोल विकास संस्थाहरूले पालो गरेर श्रम सहयोग गरिदिन पनि उनले आग्रह गरे । पालुवा टोलका अध्यक्ष मीनबहादुर बस्नेतले चेक हस्तान्तरण कार्यक्रमको आरम्भमा भने,–रंगशाला निर्माणको महानकार्यमा सहयोग गर्न पाउनु हाम्रा लागि अहोभाग्य हो । उक्त टोलले एक लाख एक हजार एक सयको चेक र दानपेटीकामा जम्मा भएको २६ हजार पाँच सय ५५ रुपैयाँ नगद सहयोग गरेको छ । सोही अवसरमा स्थानीय समाजसेवी भैरव दवाडीले आफ्नी आमाको स्वर्गारोहण हुँदा गुठीका लागि उठेको रकममा थप गरी आठ हजार आठ सय आठ रुपैयाँ सहयोग गरे । यसैगरी स्थानीय दीपेन्द्र बोगटीले हरेक वर्ष भैलोका लागि छुट्टयाउने गरेको रकम हो भन्दै एक हजार एक सय रुपैयाँ सहयोग गरे ।
हिजोदेखि रंगशालामा आधासय भन्दा बढी कामदार खटिएका छन् । जमिन सम्याउन डोजरहरू चलेका छन् । नारायणी महोत्सव र एकादशी मेलामा आएका कलाकारहरू आएर अवलोकन गरेका छन् । भ्यू टावरबाट अवलोकन गर्नेको संख्या पनि बढ्दो छ । शान्तिचोक वरिपरिको चहलपहलले समय बितेको पत्तो हुन छोडेको छ । केही समय सुस्ताएको कामले पुनः गति लिन थालेपछि निरासाले ओइलाइएका स्थानीय भरोसाले मौलाएका जस्ता देखिएका छन् ।


बन्दै गरेको रंगशाला परिसरमा प्रारम्भमै शुरु भएको व्याड्मिन्टन खेलले जेठ १२ गते रंगशाला व्याड्मिन्टन क्लबको रूप धारण गरेको थियो । वर्षात्को विश्रामपछि क्लबले आफ्नो खेललाई निरन्तरता दिएको छ । क्लबका एक सदस्य सरोज ढकालका अनुसार क्लबले निकट भविष्यमा विभिन्न तहका प्रतियोगिता राख्ने सोच पनि बनाएको छ ।
क्रिकेटको आकर्षण उत्तिकै छ । क्रिकेट खेल्न आतुर स्थानीय युवा क्रिकेटमै होमिन थालेका छन् । यसैगरी सोही परिसरमा क्यारमबोर्ड पनि चल्न थालेको छ । पौडीमा रम्ने युवायुवतीहरूको संख्यालाई लक्षित गरी स्वीमीङ पोखरी तयार छ । यसका साथै क्रमशः अन्य खेलले पनि रंगशालाको आकर्षण बढाउँदै छ । रंगशाला र वरिपरिको सुरक्षार्थ प्रहरी नायब निरीक्षक नारायण श्रेष्ठको कमाण्डमा नेपाल प्रहरीको टोली खटेर लागेको छ । सोही टोलीको कार्यकक्ष रहने गरी अस्थायी प्रहरी पोष्टको भवन तयार भई उद्घाटनको पर्खाइमा छ । प्रसिद्ध क्युरेटर कोमलबहादुर पाण्डे पनि काममा हौसिएका छन् । फाउण्डेशनको साइट अफिसमा लेखा हेर्न कुमार शर्मा खटिएका छन् । साइट अफिसका शुरुवाती अफिसर चन्द्र खड्कालाई पनि कामदार खटाउन भ्याई नभ्याई छ । अनिश लामिछाने र टेकेन्द्र खड्का पनि साइटको काममा भिडेको भिड्यै छन् ।