वैदेशिक लगानी बढ्दै
नीतिगत सुधार र लगानी सम्मेलनको प्रभाव
काठमाडौं । वैदेशिक लगानी प्रतिबद्धता झण्डै तीन गुणाले वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षभन्दा असोज मसान्तसम्म १० अर्ब ७६ करोड रुपैयाँ बराबरको विदेशी लगानी अनुमति सरकारले दिएको बताइएको छ ।
उद्योग विभागका निर्देशक एवं प्रवक्ता विनोद खड्काका अनुसार गत वर्षको सोही अवधिमा ४ अर्ब ८३ करोड ५२ लाख रुपैयाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । समीक्षा अवधिको लगानी प्रतिबद्धता अघिल्लो वर्षभन्दा झण्डै ७ अर्बले बढी हो । ७७ परियोजनाका लागि १० अर्ब ७६ करोड रुपैयाँको प्रतिबद्धता आएको हो ।
विभागका अनुसार, लगानीमध्ये ५ अर्ब ७७ करोड रुपैयाँ पर्यटन क्षेत्रमा भित्रिएको छ । होटल क्षेत्रमा यो लगानी आएको विभागले जनाएको छ । यस्तै सेवा क्षेत्रमा दुई अर्ब ७३ करोड, सूचना प्रविधिमा एक अर्ब ३० करोड, उत्पादनमूलक उद्योगमा ९० करोड, कृषि तथा वनजन्य उद्योगमा ५ करोड रुपैयाँको लगानी अनुमति दिइएको विभागले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० अभियान प्रारम्भ हुनै लाग्दा होटल क्षेत्रमा वैदेशिक लगानी उल्लेख्य मात्रामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ३९ वटा पर्यटन उद्योग (होटल तथा रेष्टुराँ) मार्फत रु पाँच अर्ब ७७ करोड वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार चालू आवको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा शत्प्रतिशत लगानी वृद्धि भएको छ । विदेशी लगानी बढेसँगै चार हजार २९२ रोजगारी सिर्जना हुने प्रक्षेपण गरिएको छ ।
विभागको आँकडाअनुसार अघिल्लो आव २०७५÷७६ मा कूल २३ अर्ब ६९ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो । उद्योग विभागको आँकडाअनुसार नेपालमा होटल तथा रेष्टुराँ क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको छ । चालू आवको पहिलो तीन महिना विभागमा दर्ता भएका ३९ वटा होटल तथा रेष्टुराँमध्ये ३६ वटा होटल तथा रेष्टुराँमा चिनियाँ लगानी प्रतिबद्धता आएको छ । आर्थिक रुपमा करीब रु सात अर्ब चिनियाँ व्यवसायीले लगानी गर्नेछन् । यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
विभागको विवरणमा चिनियाँ लगानीका दुई तारे होटल तथा रेष्टुराँ काठमाडौँ र पोखरामा सञ्चालन गर्ने इच्छा जनाएका छन् । भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण पर्यटकीय पूर्वाधारको रुपमा रहेको होटल क्षेत्रको विशेष योगदान रहन्छ ।
विदेशी लगानीमा देखिएको उत्साहले नेपालमा लगानी गर्नेको वातावरण राम्रो बनेको संकेत देखिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले बताए । सरकारले गरेको नीतिगत सुधार र लगानी सम्मेलनको प्रभाव अब देखिन थालेको उनको बुझाइ छ ।
नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा लिएर विदेशी लगानीकर्ता आकर्षण भएको र यसले देशको अर्थतन्त्रलाई गतिशील बनाउन ठूलो मद्दत पुग्ने होटल एसोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताएका छन् । पर्यटन क्षेत्रमा आएको लगानी उत्साहवद्र्धक रहे पनि लगानीको प्रतिफलको सुनिश्चितताका लागि सरकारले आधारभूत पूर्वाधार विकासमा जोड दिनुपर्ने खाँचो रहेको उनले औँल्याएका छन् ।
अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सरकारले विभिन्न नीति बनाएपनि निजामति कर्मचारीले देखाउने व्यवहार र कोठैपिच्छे फायल बोकेर दौडिनु पर्ने प्रशासनिक झमेलाका कारण नेपालमा विदेशी लगानी भित्रिन त्यति सहज देखिदैन । तर जेजति प्रतिवद्धता आएको छ, त्यसप्रति आशावादी हुँदै सरकारले आउँदा दिनहरुमा आर्थिक कूटनीतिमा अलिक बढी ध्यान केन्द्रित गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।