भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने

भक्तपुर । मङ्सिर १४ गते उपनिर्वाचनमा भक्तपुर–१ प्रदेशसभा (क) मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो ।
गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको सो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का उम्मेदवार हरिशरण लामिछाने विजयी भएको थिए । मष्तिस्कघातका कारण लामिछानेको निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यमा उपनिर्वाचन हुने भएको हो । पहिला पनि नेकपाले नै जितेको क्षेत्र भएकाले र पार्टी समेत एकीरकण भइसकेकाले नेकपाकै सम्भावना बलियो देखिएको स्थानीयहरुले बताएका छन् ।
प्रदेशसभाको गत निर्वाचनमा (एमाले)का उम्मेदवार लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएको थिए भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए । नेमकिपाका निरज लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।
०७४ को निर्वाचनमा ४३ हजार ५३२ मतदाता रहेकामा अहिले ७४८ जना महिला र ७३६ पुरुष मतदाता थपिएर कूल ४५ हजार ३६ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
यसपटकको उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ । काङ्ग्रेसले यसअघिको संविधानसभाका उम्मेदवार कृष्णलाल भँडेल र नेमकिपाले पत्रकारितामा समेत सक्रिय युवानेता निरज लवजूलाई उम्मेदवार बनाएको छ ।
नेकपाका उम्मेदवार ढकालले नेकपाले पहिला पनि जितेको र यसपटक झन एक ढिक्का भएर अगाडि बढेकाले जस्तोसुकै चुनौतीलाई पन्छाएर जित सुनिश्चित गर्ने दावी गरेका छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा हामिएको बताउँदै ढकालले आफ्नो नाफाको जिन्दगी भक्तपुरका जनताको सुख र समृद्धिमा खर्च गर्ने चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार रहेको दावी गरेका छन् ।
त्यस्तै गत निर्वाचनमा आफ्नै पार्टीका मतदाताहरुले अन्तर्घात गरेका कारण पराजय भोग्नुपरेको दाबी गर्दै काङ्ग्रेसका उम्मेदवार भँडेलले यसपटकको निर्वाचनमा जित्ने दावी गरेका छन् । यसपटक कुनै अन्तर्घात नहुने भएकाले जित सुनिश्चित रहेको उनको दाबी छ । राप्रपा संयुक्तको समर्थनका लागि छलफल भइरहेको वताउँदै उनले राप्रपा संयुक्तको समर्थन रहेमा भारी मतान्तरले जित्ने ठोकुवा गरेका छन् ।
विसं २०७० को संविधानसभा निर्वाचनमा भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग भँडेल पराजित भएका थिए ।
उता भक्तपुरलाई नै केन्द्रविन्दुमा राखेर काम गर्दै आएको नेमकिपाले पनि आफ्नो पुरानो विरासत कायम गर्ने दावी गरेको छ । यसपटकको प्रदेशसभा निर्वाचनमा सवैभन्दा बढी मतका साथ विजयी हुने नेमकिपाको दावी छ ।
यसअघिको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका लवजूले तेस्रो मत ल्याएका थिए । नेमकिपाले उनैलाई यसपटक उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
जनताले वैकल्पिक शक्तिको खोजी गरेकाले त्यो शक्तिको रुपमा नेमकिपा उभिएको र आफूलाई जनताले विजयी गराउने लवजूले बताएका छन् । जनताको हरेक दुःखसुखमा साथ रहँदै जनताको घरदैलोमा पुग्ने नेताको रुपमा आफू चिनिएको दावी गर्दै उनले आफ्नो जित सुनिश्चित रहेको दावी गरेका छन् ।
विगतमा चौथो शक्तिका रुपमा रहेको राप्रपा (संयुक्त) को उम्मेदवार रामशरण लामिछानेको समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरेपछि यस पटकको निर्वाचनमा उसको समर्थनले मत जोडघटाउमा निकै अर्थ राख्ने भक्तपुरवासी बताउँछन् ।
त्यसैगरी सो क्षेत्रमा साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस (बिपी)का मधुसुदन न्यौपाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, समाजवादी पार्टीका सुदर्शन कुमारले उम्मेदवारी दिएका छन् । उनीहरु पनि चुनावी प्रचार अभियानमा लागेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, सङ्गीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी, सुमना कार्कीले उम्मेदवारी दिएका छन् ।