राष्ट्रपति हमिदको भ्रमणबाट के उपलव्धी ?
काठमाडौं । नेपालको चारदिने भ्रमणमा मंगलबार नेपाल आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार स्वदेश फर्किएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको अवलोकन गरे । नेताहरुसँगको भेटघाटमा द्विपक्षीय सहकार्य अगाडि बढाउन छलफल भएको थियो ।
नेपाल प्रकृतिकै एक सुन्दर मुलुक मात्र नभई प्रचुर सम्भावना बोकेको अनौठो प्राकृतिक मिश्रण भएको मुलुक पाएँ भन्दै राष्ट्रपति हमिद नेपालसँग आर्थिक कूटनीति बढाउन निकै उत्सुक देखिएका छन् । नेताहरूसँगको वार्तामा उनले दुई मुलुकले सहकार्य गर्दै समान विकासको हातेमालो अपरिहार्य रहेको सन्देश समेत दिए ।
राजनीतिक नेतृत्वले जोड दिए यो मुलुकको विकास टाढा छैन भन्दै उनले प्रचुनर सम्भावनाको खानी रहेछ नेपाल भनेका छन् । प्रकृति र संस्कृतिमा धनी एवं विकासको पथमा अग्रसर सुन्दर मुलुकको याद बोकेर फर्किएको सन्देश पनि दिएका छन् ।
राष्ट्रपतिले नेपालको प्राकृतिक छटाको प्रशंसा गर्दै पटकपटक अभिव्यक्ति दिएकाले उनको भ्रमणले बंगलादेशका पर्यटकहरुलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ । काठमाडौं, भक्तपुर, पोखरालगायतका ठाउँको भ्रमण गर्दा उनले पर्यटनका लागि नेपाल निकै महत्वपूर्ण भएको बताएका छन् ।
राष्ट्रपति हमिदले नेपालको भ्रमणलाई उपलव्धीपूर्ण भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं विशिष्ट व्यक्तिहरुसँग भेटेपछि उनले त्यस्तो टिप्पणी गरेका हुन् ।
नेपाल र वंगलादेशबीच आर्थिक कूटनीतिका सम्भावना रहेको विश्लेषण गर्दै उनले नेपालको समृद्धिमा सघाउन बंगलादेश तयार रहेको बताएका छन् । समुन्द्री मार्ग प्रयोग गर्ने विषयमा नेपालले वंगलादेशसँग कुराकानी गरेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् ।
झापाबाट करिव १८ किलोमिटर टाढा पर्ने बंगलादेशसँग समुन्द्री मार्ग प्रयोगको सम्झौता भए र भारतले पनि त्यसमा सहयोग गरे सवैभन्दा छोटो मार्ग त्यो नै हुने छ ।
बंगलादेशका राष्ट्रपति स्तरबाट झण्डै ३० वर्ष पछि नेपाल भ्रमण भएको हो । सन् १९८७ मा नेपालमा भएको तेस्रो सार्क शिखर सम्मेलनमा बंगलादेशका राष्ट्रपति हुसेन महम्मद अर्सदले नेपालको भ्रमण गरेका थिए । राजा वीरेन्द्रको निम्तोमा अर्सदले नेपालको भ्रमण गरेका थिए भने साहित्यकार समेत रहेका उनले नेपालको प्रकृतिबाट प्रभावित भएर केही कविता समेत लेखेका थिए । सार्क र विमस्टेकमा बंगलादेश सदस्य भएकाले नेपालसँग धेरै विषयमा कूटनीतिक तादाम्य देखिन्छ ।