शिवम् सिमेन्ट सम्मानित
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड नेपाल सरकार नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड २०१९ बाट प्रथम भई सम्मानित भएको छ ।
एनएस क्वालिटी अवार्ड २०१९ नेपाल गुणस्तर चिह्न प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट वस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित वस्तुको स्वतन्त्र परीक्षणबाट उच्च गुणस्तरको वस्तु उत्पादन र बिक्रीवितरण गर्ने उद्योगलाई सम्मानस्वरुप प्रदान गर्दै आइरहेको छ ।
एनएस क्वालिटी अवार्ड सिमेन्टजगत्मा पहिलोपटक शिवम् सिमेन्टलाई प्रदान गरिएको विभागले जनाएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी तथा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले उक्त अवार्ड शिवम् सिमेन्ट्सका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई हस्तान्तरण गरेका थिए ।
क्वालिटीको मामिलामा नो कम्प्रमाइज भन्दै देशको विभिन्न ठूला–ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई यो अवार्ड पाउन सफल भएको कम्पनीले दाबी गरेको छ ।
ओपीसी सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो भन्ने कुरा यो अवार्डले पुष्टि गरेको कम्पनीको भनाइ छ । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको जनाएको छ ।