‘सम्हाली राख है’ र ‘मिस्टर नेपाली’को भिडन्त
काठमाडौँ । यो शुक्रबार दुई नयाँ नेपाली फिल्म एक साथ प्रदर्शनमा आएका छन् । ‘सम्हाली राख है’ र ‘मिस्टर नेपाली’ फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएपछि कसले बढी कमाउँने भन्ने प्रतिस्पर्धा देखिएको छ । फरक–फरक कथाका चलचित्र ‘मिस्टर नेपाली’लाई देव भुषालको निर्देशन गरेका छन् भने ‘सम्हाली राख है’लाई आरएल लामाले निर्देशन गरेका हुन् ।
युवायुवतीमा मौलाउँदै गएको प्रेमकथालाई आकर्षक तवरले समसामयिक बिषयबस्तुसँग मिश्रण गरेर तयार भएको फिल्म ताराशंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनको निर्माण रहेको छ भने सहनिर्मातामा श्यामकृष्ण महर्जन रहेका छन् ।
अर्जुन कुवँर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की, आर एल लामालगायत कलाकारको अभिनय रहेको छ ।
बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत फिल्ममा छ । काठमाडौ, कुलेखानी र दोलखाको आकर्षक स्थलहरुमा छायांकन गरिएको बताइएको छ ।
त्यस्तै देवचुली फिल्मस्को ब्यानरमा निर्माण ‘मिष्टर नेपाली’ ले राष्ट्रियताको कथालाई कमेडी शैलीमा पस्केको छ । प्रेमराज दाहाल निर्माता रहेको फिल्ममा भुवन केसी, साहिल श्रेष्ठ, रीमा बिश्वकर्मा, कुसुम राउत सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तवलगायतले अभिनय गरेका छन् । निर्देशक भुषालको कथा समेत रहेको फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा प्रस्तुत छन् । यी दुई चलचित्रमध्ये कसले बाजी मार्ने हो त्यो भने यसै हप्ता थाहा हुने छ ।