‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार’
पोखरा । नेपाली काङ्ग्रेसका नेताहरुले सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजेकोे, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोग जस्तो बनाउन खोजेको, न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् । कम्युनिष्ट शासन लाद्नका लागि प्रधानमन्त्रीले अध्यादेश मार्फत संवैधानिक परिषद ऐन संशोधन गर्न लागेको वताउँदै संसदबाट पारित हुन नदिने नेताहरुले बताएका छन् ।
संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्ति वहुमतीय आधारमा गर्न सक्ने कानून ल्याउन खोजेपछि सरकारको विरोध हुन थालेको हो । प्रजातान्त्रिक मुलुकमा सम्वैधानिक निकायमा प्रमुख प्रतिपक्षी दलको प्रतिनिधित्व हुनै पर्ने भएकाले वैठकमा कोरम नपुगेका जस्ता तर्क गरेर संविधान संशोधन गर्न खोजेपछि त्यसको विरोध भएको हो । प्रतिपक्षी दलका नेता परिषद्को वैठकमा उपस्थित नभइदिँदा परिषद् अनिर्णयको बन्दी बनेको सरकारको तर्क छ ।
२०४७ सालको संविधानले समेत प्रजातान्त्रिक अधिकार सम्पन्न बनाएको सम्वैधानिक परिषद्लाई सत्तारुढ दलको अनुकल बनाउन नहुने विश्लेषकहरुको तर्क छ । सम्वैधानिक परिषद्का ६ मध्ये अध्यक्ष सहित तीन जनाले मात्रै सम्वैधानिक आयोगका पदाधिकारी नियुक्त गर्न सक्ने छन् भन्ने प्रस्तावित अध्यादेशमा उल्लेख गरिएकाले त्यो सम्वैधानिक परिषद्को ऐनसँग बाझिने देखिन्छ ।
प्रजातन्त्रमा आलोचना र प्रतिआलोचना हुने गर्छ तर आफू अनुकुल नहुने वित्तिकै संविधान संशोधन गराएर सरकारलाई सर्वाधिकार सम्पन्न बनाउन मिल्दैन भन्ने तर्क संविधानविद्, कानूनविद्को तर्क छ ।
नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको वार्षिक साधारणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सरकारले आफू अनुकुलका निर्णय एकलौटी ढंगले गर्दा संसदीय पद्धति नै धरापमा पर्न सक्ने आरोप लगाएका छन् ।
सभापति देउवाले सरकार अख्तियारलाई शाही आयोग बनाउन उद्दत रहेको भन्दै चर्को आलोचना गरेका छन् । संवैधानिक परिषदलाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गर्ने प्रपञ्च सरकारले रचेको भन्दै देउवाले सरकारका गलत कामविरुद्ध सडक र सदनमा लड्ने चेतावनी पनि दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवादमा परिणत भएको आरोप लगाउँदै देउवाले चुनावका बेला प्रधानमन्त्रीले देखाएको राष्ट्रवादी चरित्र नेपाली जनताले अहिले आएर बल्ल बुझेको टिप्पणी गरेका छन् ।
देउवाले अदालतलाई स्वतन्त्र राखिनुपर्ने भन्दै यो निष्पक्ष रह्यो भने सरकारले गलत गरेपनि सच्याउन सकिने बताए ।
त्यस्तै अर्को एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री ओलीको सहमतिमा भारतले नयाँ राजनीतिक नक्सा तयार पारेर सार्वजनिक गरेको गम्भीर अरोप समेत लगाएका छन् । मंसिर १४ गते हुनेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई मध्यनगर गर्दै शनिबार पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली भू–भाग मिचिएको प्रष्ट हुदाँहुदै सरकारले पहल नगर्नुले भारतको नक्सामा ओलीको सहमति देखिएको बताएका छन् ।
सरकारले अहिले अनावश्यक रवैया देखाएको बताउँदै देउवाले उपनिर्वाचनमा ओली सरकारलाई चुनौती दिन पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरेका छन् ।