सरकार छाड्न समाजवादीलाई थप दवाव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारलाई दुई तिहाई संख्या पु¥याउन सरकारमा समाजबादी दललाई ल्याएका थिए । तर त्यही समाजबादी दल अहिले ओली सरकारको लागि घाँडो बनेको छ । संविधान संशोधनको मागलाई नत्याग्ने भन्दै समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रम उपेन्द्र यादवले सरकार परित्याग नगर्ने संकेत देखाएका छन् । सरकारमा बसेर नै संघर्ष गर्ने नीति उनको छ । उनले नेता, कार्यकर्ताको भावना अनुसार आफूले काम गर्ने बताउँदै आएका पनि छन् । तर कतिपय विश्लेषकले गौर हत्याकाण्ड व्यूतिन सक्ने आशंकाका कारण यादवले आत्मरक्षाका लागि उपप्रम पद त्याग्न नखोजेको बताएका छन् ।
संविधान संशोधनमा प्रधानमन्त्री इमानदार नदेखिएको र संविधान संशोधन नै आफ्नो पार्टीको पहिलो बटमलाइन हो भन्दै आएका यादवले संविधान नमानेपनि उनलाई प्रधानमन्त्री ओलीले कानून मन्त्रालयको जिम्मेवारी दिएपछि सामाजिक सञ्जालहरुमा समेत त्यसलाई व्यंग्यको रुपमा हेरिएको छ ।
आफूसँग सल्लाह नै नगरी प्रधानमन्त्रीले मन्त्रालय हेरफेर गरेर आफ्नो पार्टीबारे हस्तक्षेप गरेको उपेन्द्रको आरोप छ । उनकै पार्टीका नेता, कार्यकर्ताहरुले नेता यादबलाई विभिन्न दल चहार्दै हिड्ने डुलुवा नेता भनेर समेत आरोप लगाउँछन् ।
सरकार छोड्ने कि नछोड्ने भन्ने विषयमा समाजवादी पार्टीले अझै निर्णय नगरेको र आफूलाई सूचना नदिई आफ्नो पार्टीको भागमा परेको मन्त्रालयबारे प्रधानमन्त्रीले एक्लै निर्णय गरेको भन्दै यादवले चित्त दुखाएका छन् । तर उनी तत्काल सत्ता त्याग्ने पक्षमा देखिदैनन् । यसले बाबुराम भट्टराई समर्थक र उनी बीच ध्रुविकरण अरु बढ्ने संकेत देखिन्छ । त्यति मात्र होइन तराई केन्द्रित मधेशबादी दल राष्ट्रिय जनता पार्टीले समेत यादबलाई सत्तामोहमा डुवेको आरोप लगाउदै आएको छ । दुई दलको एकीकरणको चर्चा चलेको लामो समय भइसकेको छ । राजपाले समाजबादीसँग पार्टी एकीकरणको लागि सत्ता त्याग्नुपर्ने शर्त राखेको छ । तर यादबले त्यसो गर्न मानिरहेका छैनन् । प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद बिस्तारमा उनको मन्त्रालय नै परिवर्तन गरिदिएका छन् । यसबाट यादब प्रधानमन्त्री ओलीसँग थप असन्तुष्ट बनेका छन् । त्यसबारे उनले आफैं भने मुख खोलिसकेका छैनन् । समाजवादी पार्टीलाई सरकार छाडेपनि हुन्छ भन्ने सन्देश ओलीले दिएका छन् भने राजपाले सरकार त्यागेर एकतामा आउने भनेको छ । अब उपेन्द्रले के गर्लान् ? सवैको चासोको विषय बनेको छ ।