खानेपानीको मुख्य समस्यालाई हल गरेरै छाड्ने लक्ष्य छ

– जीबन थापा, अध्यक्ष, कागेश्वरी मनोहरा नगरपालिका, वडा नम्वर ७

यस वडामा निर्वाचित भएर आएपछि तपाईंले गरेका बिकास निर्माणका मुख्य कामहरु के–के हुन ?
हामी निर्वाचित भएर आएपछि नगरपालिकाले मेट्रिक प्रणाली लागु गरेको छ । मेट्रिक प्रणाली लागु भएपछि यस नगरपालिका भित्र बसोबास गर्ने, घर धुरी, र जनसंख्याका बारेमा एकीन तथ्याङक संकललन भएको छ । संकलित तथ्याङकअनुसार यस वडामा ४ हजार ९ सय ८ घर संख्या रहेको छ भने १९ हजार १ जना मानिस बसोबास गर्छन ।
यो वडाको भौगोलिक अवस्था कस्तो छ भने साबिक गोठाटार गाबिसको केहि वडा र मुलपानीको केही भुभागलाई समेटेर बनेको छ । हाम्रो राजनीतिक शुरुवात गोठाटारबाट भएपनि अहिले मुलपानीसम्मको एरिया जोडिएकोले बिकास निर्माणमा केही चुनौति थपिएका छन । मुलपानीतर्फको भुभाग बिकास निर्माणका हिसावले पछि परेको देखिन्छ । गोठाटार पटिट्को एरिया भने अलि बढि बिकसित भएको छ । हामीले सकेसम्म बिकास निर्माण कार्यलाई ध्यान पु¥याएर अगाडि बढाउने भएका छौं । हामीले यस वडामा रहेका बृद्ध, बृद्धा र एकल महिलाहरुलाई सम्मान स्वरुप तिर्थ यात्राको अवलोकन गराएका छौं । पहिलो पटक हामीले मुक्तिनाथ यात्रा गराएका थियौं भने दोश्रो पटक पाथीभारा हुदैं जनकपुरधाम सम्मको यात्रा गराएका छौं ।
नगरपालिकाले यस वडा कार्यालय बर्षिक कति बजेट रकम उपलव्ध गराएको छ ?
नगरपालिकाले बिकास निर्माणको लागि भनेर ६ करोड र अर्को थप एक करोड गरी कुल सात करोड रकम यो चालु बर्षमा पठाउन लागेको छ । हामी निर्वाचित भएर आएको पहिलो बर्ष यो भन्दा केही कम रकम प्राप्त भएको थियो ।
भुगोल, राजश्वको उठने आधारमा नगरपालिकाले समानुपातिक हिसावले वडाहरुलाई बजेट पठाउने गरेको छ । उपलव्ध बजेट पुर्वाधारमा नै बढि खर्च भइरहेको छ । ढल निकास, सडक कालोपत्रे, ढलानलगायत काममा नै बढि जोड दिइएको । नगरपालिकाले प्राप्त बजेट ९५ प्रतिशत नै खर्च भएको छ ।
हामीले जनसहभागितामुलुक बिकासलाई बढि प्राथमिकता दिएका छौं । जस्तो स्थानिय जनताको ५० प्रतिशत र नगरपालिकाले उपलव्ध गराउने ५० प्रतिशत रकमबाट साझेदारीमा हामीले सडक, ढल, कालोपत्रे र खानेपानीको काम गरिरहेका छौं । नगरपालिकाले गतबर्ष यो कार्यक्रम अन्तर्गत यस वडाका लागि साँढे दुई करोड रकम पठाएको थियो । नगरपालिका र स्थानिय जनसहभागितामा हुने फिप्टी, फिप्टी अर्थात बराबर लगानीले बिकास निर्माणलाई निक्कै सजिलो बनाएको छ ।


यस वडामा अहिले स्थानियबासीको लागि पिउने पानीको सुबिधा के कस्तो रहेको छ ?
यस नगरपालिकाको नाम मनोहरा कागेश्वरी छ । हिजोका दिनमा यहाँ भुमिगत १० फिट खन्दा पिउन योग्य पानी आउथ्यो । तर अहिले घना बस्ती र बस्ती बिस्तारले खानेपानीको अभाव दिनप्रतिदिन बढदै गइरहेको छ । अहिले १५० देखि २ सय फिट तल गएर निकालिएको पानी पनि पिउन योग्य छैन ।
यस अघि साबिक गोठाटारमा भुईबाल खानेपानी आयोजना निर्माण गरिएको थियो । त्यसले ११ सय घुरधुरीलाई पिउन पुग्ने भनिएता पनि १६ सय घरले उपभोग गर्दै आएका थिए । यस वडामा मात्र ५ हजार घर परिवार बसोवास गर्छन । यस कारण हिजोको दिनमा सिमित घरका लागि निर्माण भएको खानेपानीका आयोजनाले अहिले यो मागलाई धान्न सक्ने अवस्था नै रहेन ।
यो क्षेत्रबाट यस अघि निर्वाचित माननीय दीपक कुईंकेलको सक्रियता यो वडाको पहलमा हामी निर्वाचित भएर आउनु अगाडि नै काँडाघारी खानेपानी योजनाको शुरुवात भएकोे । माननीयज्युले संसदकोषमार्फत उपलव्ध गराएको केही रकम र तत्कालिन जिल्ला बिकास समितिले उलवध गराएको बजेट र हाल नगरपालिकाको सहयोगमा खानेपानी आयोजना निर्माणको काम अगाडि बढिरहेको छ । त्यस खानेपानी समितिको अध्यक्ष पनि म नै छु । साढें ४ लाख लिटर पानीको भुमिगत टयाङकी निर्माण भईसको छ र ओभर हेड टयाङकीसमेत बनिसकेको छ ।
करिव २ करोड मुल्य बराबरको खानेपानीको पाइप पनि किनिसकिएको छ । आगामी महिना देखि कालोपत्रे गर्न लागिएका मुख्य सडकमा खानेपानीको पाइप बिस्तार गर्न लागेका छौं । यो बाहेक थप बोरिङहरु पनि खन्नको लागि पनि योजना अगाडि सारेका छौं । भुइवाल खानेपानी आयोजनाबाट उपलव्ध पानी साबिक गोठाटारका १, २ र ८ लाई त्यहिके पानी बितरण गर्ने र साबिक ७ र ८ लाई हाल निर्माणाधिन काँडाघारी खानेपानी आयोजनाबाट बितरण गर्ने लागेका छौं । सर्वे डिजाइनअनुसार ५५ सय घर धुरीमा यो पानी बितरण गर्न सकिनेछ । तत्काल यो पानी १ देखि डेढ सय घर धुरीमा बितरण गरिने छ ।
खानेपानी कै बिषयलाई लिएर केही दिन अगाडि खानेपानी बोर्डसँग पनि हाम्रो छलफल भएको छ । अब भुईवाल खानेपानी आयोजनालाई बिघटन गर्ने र भुईवाल बिस्तृत खानेपानी परियोजना गठन गर्ने निर्णय भएको छ । यसको डिपीआर दई महिनामा तयार हुने र दुई वर्ष भित्र यहाँका जनतालाई सुद्ध खानेपानी उपलव्ध गराउन लागेका छौं । सरकारको तर्फबाट ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम यसमा खर्चिने गरी सहमति बनेको छ । हाम्रो उदेश्य पनि यो बाँकी अवधि भित्रै वडाबासी जनतालाई शुद्ध खानेपानी खुवाउनै पर्छ भन्ने उद्धेश्यका साथ हामी काम गरिरहेका छौं ।
मनोहरा नदी नियन्त्रण र करिडोर निर्माणको लागि के कस्तो योजना अगाडि सार्नु भएको छ त ?
मनोहरा नदीको बिषयमा भन्नुपर्दा ०२१ सालमा भएको नापीअनुसार अहिले खोला बगिरहेको छैन । हाल ब्यक्तिको नाममा रहेको जग्गाबाट बगिरहेको छ । त्यसलाई साबिककै ठाउँमा लैजानुपर्छ भन्ने स्थानिय जनताको माग छ । यो बिषयलाई सम्वोधन गर्न आवश्यक पनि छ । खोलाको सीमाना समस्याको हल गरीे नदीको दुबै किनाराबाट करिडोर खोल्नको लागि यस क्षेत्रबाट निर्वाचित सांसद तथा पुर्व प्रधानमन्त्री माधबकुमार नेपाललाई पहल कदमी लिन आग्रह पनि गरेका छौं । करिडोर निर्माणका लागि करिब ३२ करोड रकम पनि बिनियोजन भएको पनि छ । कतिसम्म भने अहिले मुलपानी, काँडाघारी, पेप्सीकोलाका जनताले अफिस वा अरु कामले सिंहदरवार पुग्नप¥यो भने बिहान र बेलुकी गरी सडकमा नै दुई घण्टा बिताउनुपर्ने बाध्यता रहेको छ । यदि मनोहरा करिडोर खुलाउन सकेको खण्डमा त्यो समस्याबाट जनताले केही सहजता महसुस भने पक्कै नै गर्नेछन ।


तर यो एरियालाई स्मार्ट सिटी बनाउने भनेर घोषणा गरिएका कारण यी सबै काम रोकिएका छन । पेप्सीकोलामा रहेको सनसिटी देखि साँखुसम्मको भुभागलाई समेटेर यो अवधारणा आएको छ । यसमा १ लाख ६० रोपनी जग्गा परेको छ । त्यो जग्गामा न अहिले स्थानीयले घर बनाउन पाएका नत बेच बिखन गर्न पनि सकेका छैनन । छिटो भन्दा छिटो अब उपत्यका बिकास प्राधिकरणले यस बिषयमा आफनो धारणा बाहिर ल्याओस । मनोहरा नदीमा करिडोर खुलिसकेपछि यस नगरको स्वरुपमा धेरै परिवर्तन आउनेछ । यसमा मेयरज्युले पनि चासो लिएर पहल गरिरहनुभएको छ । हाम्रै कार्यकालमा यो कामको शुरुवात हुनेछ भन्ने अपेक्षा मैले लिएको छु ।
यस वडामा स्वास्थ्य क्षेत्रको स्थिति कस्तो रहेको छ ?
वडा कार्यालयहरुमा पनि शहरी स्वास्थ्य किल्नीक सञ्चालनमा छन । यहाँबाट प्राथमिक उपचार हुन्छ । अर्को स्वास्थ्य मन्त्रालयको सहयोग र नगरपालिकाको बजेटमार्फत पनि २५ शैययाको लागि ४४ कोठे अस्पताल भवन निर्माण भइरहेको छ । त्यसको भौतिक पुर्वाधारको लागि एक जापानिजले करिव दुई करोड बरावरको सामाग्री पनि उपलव्ध गराएका छन । आगामी नयाँबर्ष लागेसँगै नगर अस्पतालबाट सेवा शुरु गर्न लागेका छौं । संघीय राजधानी काठमाडौंसँग नजिक यो नगर रहेकोले पनि यहाँ स्वास्थ्यमा ठुलो समस्या आएको खण्डमा हामी नजिकै रहेका अस्पतालमा पुगेर पनि उपचार गर्नसक्ने अवस्था छ । तर हाम्रो मुख्य लक्ष्य नै बाटो हो । त्यसको लागि भित्री सडकका बाटोहरुलाई पिच गर्ने, ब्लक छाप्ने र आगामी आर्थिक वर्ष भित्र हिलो र धुलो मुक्त बनाउनुपर्छ भन्ने उदेश्यका साथ काम गरिरहेका छौं ।
सार्वजनिक जग्गाा संरक्षणको लागि के गरिरहनु भएको छ ?
यस वडामा थुप्रै सार्वजनिक जग्गाहरु रहेका छन । तीनको संरक्षण गर्ने काम पनि भइरहेको छ । यसै वडामा रहेको सोम तीर्थ गीतामाता मन्दिर नजिक १ सय १३ रोपनी सार्वजनिक जग्गा छ । त्यो जग्गालाई ०६३ सालमा तत्कालीन शाही सरकारले मन्त्रिस्तरिय निर्णय गरेर सशत्र प्रहरी बललाई उपयोग गर्न दिएको रहेछ । त्यो जग्गालाई फिर्ता गर्न पनि हामीले पहल गरिरहेका छौं । त्यो जग्गा प्राप्त हुनासाथ त्यहाँ हामीले बृहत किसिमको खेलकुद हब बनाउने योजना अगाडि सारेका छौं । यसको दुइसय मिटर भन्दा केही पर क्रिकेट रङशाला बनिरहेकोे छ । यो जग्गा फिर्ता लिएर त्यहाँ आधुनिक खेलकुद हब बनाउन सकियो भने यो नगरपालिकाको परिचय पनि बेग्लै हुनेछ । जग्गा फिर्ताको लागि यो क्षेत्रबाट निर्वाचित माननीय सांसदमार्फत पहल भइरहेको छ ।
तपाईंहरुको आफनै वडा भवन छैन, बनाउने प्रयत्न किन नगरेको हो ?
हो, हाम्रो आफनै वडा भवन छैन । अहिले हामी भाडामा बसेका छौं । हामी बसेको नजिकै केही रोपनी सार्वजनिक जग्गा छ । अहिले त्यहाँ मन्दिर बनिरहेको छ र अब वडा भवन पनि त्यही सँगै बन्ने भएको छ । डिजाइनको काम लगभग सकिएको छ केही दिनभित्रै टेण्डर प्रक्रिया अगाडि बढदैछ ।
यस वडा कार्यालयले बार्षिक कति कर संकलन गर्छ ?
गतवबर्ष हामीले १ करोड २ लाख राजश्व संकलन गरेका थियौं । यस आर्थिकबर्षमा हाम्रो लक्ष्य अलि बढि छ । नगरपालिकाले गत बर्ष १४ करोड र यो वर्ष १६ करोडको लक्ष्य लिएकोले पनि हाम्रो दायित्व पनि बढेको हो । यो चार महिनाको अवधिमा हामीले झण्डै ५४ लाख उठाइसकेको छौं । स्मार्ट सिटी घोषण भएपनि प्रक्रिया अगाडि नबढेकेले पनि घर बाटो सिफारिस बापत आउने कर थोरै मात्रामा उठेको छ । चार किल्लाबापत उठने राजश्व पनि कम नै उठेको छ । अहिले हामीले बहाल र व्यवसाय कर मात्र उठाइरहेका छौं । यहाँ खासै उद्योग, कलकारखानाहरु छैनन । भएकाहरु पनि करको दायरमा आइसकेका छैैनन, प्रक्रियामा भने रहेका छन ।
प्रस्तुति ः लक्ष्मी बोहोरा