द्वन्द्वकालीन मुद्दा : नेकपा र कांग्रेसबीच सहमति
सत्य निरुपणमा अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी
काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहमति जुटेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरु सहभागी बैठकमा कानुन निर्माण र आयोगमा पदाधिकारी नियुक्तिको सहमति भएको हो । सातै प्रदेशबाट प्राप्त सुझाबलाई समेटेर कानुन मन्त्रालयले विधेयक अगाडि बढाउने र हिउँदे अधिवेशनबाटै त्यसलाई पास गरेर अगाडि बढ्ने सहमति भएको ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेताहरु डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
सत्य निरुपणमा अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी
सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एक ब्यक्तिको नाम सिफारिस भएको छ । वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।