माघ १९ देखि रंगशालामा महायज्ञ

चितवन । भरतपुर १५ रामपुरमा द्रूत गतिमा निर्माण भईरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ धनधान्यान्चल महायज्ञ हुँदैछ । माघ १९ देखि २६ गतेसम्म संचालन हुने महायज्ञबाट कम्तिमा ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । सो कार्यका लागि बागमती प्रदेशका सांसद विजय सुवेदीको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मूल समिति गठन भएको छ । यस्तैगरी विभिन्न उपसमितिहरूमार्फत महायज्ञलाई व्यवस्थित तरिकाले सफल बनाउने लक्ष्य राखिएको छ । महायज्ञ सम्पन्न गर्नका लागि चितवन जिल्लाका विभिन्न राजनीतिक दलका नेता, प्रदेश सांसदहरू, उद्योगी व्यवसायी, पालिकाका जनप्रतिनिधिहरू, सरकारी निकायका वरिष्ठ अधिकारीहरू र क्रियाशील संघ संस्थाका प्रतिनिधिलगायतलाई विभिन्न समिति र उपसमितिमा समेटिएको छ । भरतपुर महानगरकी मेयर रेनू दाहालले उक्त समितिको घोषणा गर्नुभएको हो ।
समिति घोषणा गर्न आयोजित बिहीबारको कार्यक्रममा संयोजक सुवेदीले भन्नुभयो,– जुन गतिमा काम भएको छ सो गतिमा पैसा नउठेकाले महायज्ञको आवश्यकता महसुस गरिएको हो । यो गौरवको आयोजनालाई देशभरिबाट साथ, सहयोग र समर्थन जुटिरहेको भए पनि आर्थिक रुपमा पनि गति बढाउन आयोजना गर्न लागिएको महायज्ञबाट हामी ५० करोड रुपैयाँको लक्ष्य हासिल गर्न सफल हुने विश्वास लिएका छौं सांसद सुवेदीले भन्नुभयो । सोही अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले महायज्ञ आयोजनाले रंगशाला निर्माणमा थप हौसला प्रदान गर्न लागेको बताउनु भयो । महायज्ञका प्रमुख वाचक पं. दीनबन्धु पोखरेल रहनुहुनेछ ।