सुरक्षाकर्मीहरुको चरम दुरुपयोग
काठमाडौं । देश र जनताको सुरक्षामा खटिनु पर्ने सुरक्षाकर्मीहरुको चरम दुरुपयोग भएको छ । कार्यविधि मिचेर सुरक्षा निकायको समेत अपमान र अपहेलना गर्ने गरी पूर्वप्रधानमन्त्री, गृहमन्त्री, मन्त्री तथा नेताहरुले ठूलो संख्यामा सुरक्षाकर्मी राखेर निजी सुरक्षा र काममा खटाएका छन् ।
विगतमा सुरक्षा चुनौती रहेको भन्दै धेरै उच्चपदस्थ राजनीतिज्ञहरुले ठूलो मात्रामा सुरक्षाकर्मीहरु प्रयोग गरेका थिए । त्यस्ता सुरक्षाकर्मीहरुलाई फिर्ता गर्नुको सट्टा कतिपय नेताहरुले सुरक्षाकर्मीहरुलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरेको गुनासो आइरहेको छ । उनीहरुलाई भाँडा माझ्ने, लुगा धुने, घर सफा गर्नेलगायतका काममा लगाएको पाइएको छ ।
कसलाई कति सुरक्षाकर्मी प्रदान गर्ने भन्ने कुरा गृहमन्त्रालयले निर्धारण गर्ने भएपनि जुँगा हेरेर भाग लगाउने प्रवृत्तिले प्रभावशाली र शक्तिशाली व्यक्तिहरुले धेरै सुरक्षाकर्मी राखेर तुजुक देखाउने गरेका छन् । पूर्वप्रधानमन्त्रीदेखि लिएर पूर्वउपप्रम, गृहमन्त्रीलगायत विभिन्न राजनीतिज्ञहरुले सुरक्षाकर्मीहरुको चरम दुरुपयोग गरेको पाइएको छ ।
पूर्वप्रधानमन्त्री तथा नेताहरु पुष्पकमल दाहालले ७७ जना, शेरबहादुर देउवाले ३८ जना, झलनाथ खनालले १९ जना, माधव नेपालले १७ जना, बाबुराम भटट्र्राइले ११ जना, खिलराज रेग्मीले १० र लोकेन्द्रबहादुर चन्दले १२ जना सुरक्षाकर्मी राखेका छन् ।
सुरक्षा प्रयोजनका लागि बनाइएको कार्यविधि अनुसार पूर्वप्रधानमन्त्रीले ९ जना मात्र सुरक्षाकर्मी पाउँछन् तर पुष्पकमल दाहालले ७७ जना र अन्यले पनि आवश्यकता भन्दा बढी सुरक्षाकर्मी राखेर कार्यविधि उल्लंघन गरेका छन् ।
त्यस्तै पूर्वमन्त्री तथा नेताहरुमध्ये कमल थापाले १५ जना, विजयकुमार गच्छदारले १२ जना, भीम रावलले १८ जना, रामचन्द्र पौडेलले ११ जना, प्रकाशमानसिंहले १७ जना, वामदेव गौतमले १६ जना, विमलेन्द्र निधिले १२ जना कृष्णप्रसाद सिटौलाले १४, जनार्दन शर्माले १५ जना, पूर्णबहादुर खड्काले १२ जना र गोविन्दराज जोशीले ६ जना सुरक्षाकर्मी राखेका छन् । ३/४ जना सुरक्षाकर्मी पाउनेहरुले ११÷१२ जनासम्म सुरक्षाकर्मी राखेर सुरक्षा निकायको दुरुपयोग गरिरहेका छन् ।
कार्यविधिले जे तोकेको छ, सोही अनुसार हुनुपर्ने भन्दै गृहप्रवक्ता केदारनाथ शर्माले आपत्ति जनाएका छन् । यस्तै गृहमन्त्री रामबहादुर थापाले कार्यविधिको मापदण्ड भन्दा बढी देखिएका सुरक्षाकर्मी फिर्ता गरिने बताउँदै आएका छन् । विगतमा माओवादीका नेता रहेका पुष्पकमल दाहालका घरमा रहेका सुरक्षाकर्मीलाई माओवादी पृष्ठभूमिकै नेता गृहमन्त्री रामबहादुर थापाले फिर्ता बोलाउने सम्भावना न्यून देखिन्छ ।
विधि, कानून, प्रक्रिया र अन्तर्राष्ट्रिय प्रचलन समेत नहेरि व्यक्तिगत प्रभावका भरमा सुरक्षाकर्मीहरुलाई घरमा लगेर राख्ने गरेको कुराले सुरक्षा निकायका उच्च अधिकारीलाई समेत विभिन्न प्रश्नको जवाफ दिन अप्ठ्यारो भइरहेको छ । तसर्थ स्पष्ट मापदण्ड बनाएर सुरक्षा निकायको मानमर्दन नहुने गरी वर्तमान र पूर्व पदाधिकारीहरुलाई आवश्यक सुरक्षा व्यवस्था गर्न उपयुक्त हुने सुरक्षा क्षेत्रका विज्ञहरु बताउँछन् । सुरक्षाकर्मीहरुको चरम दुरुपयोग नरोकिए सुरक्षाकर्मीहरुमा असन्तुष्टि र विद्रोह बढ्न जाने सम्भावना समेत रहेको उनीहरु बताउँछन् ।