जनता पनि सचेत हुन जरुरी
सम्पादकीय
मुलुकमा कोरोनाको संभाबित संक्रमण नभित्रियोस भनेर सरकारले बिभिन्न योजनाहरु ल्याएर दुर्रघटना निम्तिन नदिने प्रयास जारी राखेको छ । त्यसका लागि संभाबित सवै खालका उपायहरु अवलम्वन गरेको छ । तर पनि खराव नियत बोकेका केही व्यवसायीहरुले दैनिक उपभोग्य बस्तुहरुमा कृतिम अभाव र कालोबजारी गरेर उपभोक्तालाई दुख दिने काम गरिरहेका छन । सरकारले यस्ता गतिबिधि बिरुद्ध कडा रुपमा निगरानी गरेपनि नियन्त्रण भने गर्न सकिरहेको छैन । केही दिन अगाडि कालो बजारी गर्नको लागि लुकाइ राखेको १० लाख थान माक्स सरकारले जफथ गरी सर्वसाधारणलाई बितरण गरेको छ । यो सरकारको सराहनिय कार्य हो । मुलुकमा जबजब संकट आइपर्छ, खराव नियत बोकेकाहरुले मौका छोपेर यस्तै समयमा कमाउने दाउ बोक्दै आएका हुन्छन । यस्तो समयमा सरकारले आफनो उपस्थिति सशक्त रुपमा देखाएर उनीहरुलाई कारवाही गर्नैपर्दछ ।
यसैगरी सर्वसाधारण जनताले हप्तौदेखि ग्यास नपाएर छटपटिनु परिहेको छ । आयल निगमले पर्याप्त र आवश्यक मात्रामा बजारमा ग्यास पठाएको बताइरहेपनि सर्वसाधरणले भने सजिलै पाउन सकिरहेका छैनन । हाल बजारमा कुल ८५ लाख ग्यास सिलिण्डर रहेको निगमको भनाई छ । यसले हाम्रो दैनिक मागलाई मजाले धान्छ । ग्यास उद्योगिहरुलाई नयाँ सिलिण्डर नबेच्न पनि निर्देशन दिएको छ । तर पनि डिलरहरुले पसलेहरुलाई आवश्यक मात्रामा ग्यास उपलव्ध नगराउँदा बजारमा खाना पकाउने एलपी ग्यासको सर्टेज भएको भनाइ बाहिर आएको छ । जनतालाई अभाव नहुनेगरी प्रवन्ध गर्न सरकारले पटक पटक निगमलाई निर्देशन दिएपनि बजारमा ग्यासको सहज उपलव्धता छैन । यसरी अभाव हुनुमा एउटै ब्यक्तिले ८–१० वटा सम्म सिलिण्डर स्टोर गरेकोले पनि समस्या आएको निगमको भनाई छ । सरकारले ग्यास लुकाएर कालो बजारी गर्नेलाई कडा कारवाही गर्ने चेतावनी पनि दिदै आएको छ । गत बुधवार ४ हजार लिटर पेट्रोल हुँदाहँदै छैन भन्ने र्बोड टागेर पम्प बन्द गरेको भन्दै मैतिदेबीको एउटा पम्पलाई कारबाही स्वरुप दुई लाख रुपैया जरिवानासमेत गरेको छ ।
जबजब मुलुकमा संकट आइपर्छ, यस्तो समयमा केही अवसरबादीहरुले मौका छोपेर कमाउन खोज्छन । यो समाजको नियति पनि हो । यस्तै समयमा जनताले सरकारको साथ खोजेका हुन्छन । सरकारले पनि यस्तै समयमा हो काम गरेर देखाउने र जनतालाई मुलुकमा सरकार रहेको छ भन्ने भान पार्ने । अहिले नेपाल मात्र होइन, बिश्व नै कोरोना संकटको महामारीको चपेटामा छ । नेपाल पनि संभाबित उच्च जोखिममा रहेको कुरा बिश्व स्वास्थ्य संगठनले बताइरहेको छ । यो कुरालाई मध्यनजर गर्दै सरकारले सकेसम्म नेपालमा संक्रमण फैलिन नदिनको लागि उच्च सर्तकता अपनाएको पनि छ । यद्यपी यो पर्याप्त छैन । तर पनि सरकारले आफना नागरिकको स्वाथ्य स्थितिलाई मध्यनजर गर्दै सिमा नाकामा कडाई गर्नुका साथै अन्तर्राष्ट्रिय हवाई उडानहरुलाई नेपाल आउनमा १० दिनको लागि रोक लगाएको छ । यसैगरी स्कुल, कलेज, अदालत, सपिङमल र मानिसहरुको भिडभाड हुने संभावित ठाउँहरु बन्द गर्न भनेको छ । त्यसैगरी लामो दुरीको यातयातमा समेत रोक लगाएको छ । जरुरी नभएसम्म घरबाहिर ननिस्कन पनि अपिल गरेको छ । सरकारले अगाडि सारेको यस्तो कदमलाई जनताले पनि साथ दिनुपर्दछ ।