कोरोनाबाट २७ हजार तीन सय ६४ को मृत्यु

एकै दिन ३२७० को मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा लिएको कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा २७ हजार तीन सय ६४ पुगेको छ ।
गएको २४ घन्टामा मात्रै विश्वभर ३२ सय ६८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
कोरोना भाइसका कारण विश्वभर हालसम्म ५ लाख ९६ हजार २१ जना संक्रमित फेला परेका छन्। शुक्रबार एकै दिन विश्वमा ६४ हजार नयाँ संक्रमित देखिएका छन्।
संक्रमित मध्ये १ लाख ३३ हजार ५७ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्।
गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा ९ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ६ हजार नयाँ संक्रमित थपिएका छन्।
इटालीपछि शुक्रबार स्पेनमा धेरैले ज्यान गुमाएका छन्। यसको संक्रमणबाट त्यहाँ गएको २४ घन्टामा सात सय ७३ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार एक सय ३८ जनाको मृत्यु भइसकेको छ।
अमेरिकाका शुक्रबार एकैदिन ३ सय ९८ जनाको मृत्यु भएको छ। यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय ९३ पुगेको छ।
कोरोना संक्रमणले अमेरिकाको अवस्था भयावह बन्दै गएको छ। त्यहाँ अहिलेसम्म एक लाख ३७ हजार ९८ जना संक्रमित भएका छन् । यो चीनको भन्दा धेरै हो।
चीनमा अहिलेसम्म ८१ हजार तीन सय ९४ मात्रै संक्रमित भएका छन्।