लकडाउन वैशाख १५ गतेसम्म
काठमाडौँ । सरकारले लकडाउनको अवधि थपेर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको बताइएको छ ।
गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय भोलि सकिने थियो । तर कोरोना भाइरस संक्रमित थपिदै गएपछि सरकारले पुनः १२ दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो । त्यसपछि चैत २५ गतेसम्मका लागि दोस्रो पटक लकडाउन गरेको थियो भने तेस्रो चोटी समय थप्दै वैशाख ३ गतेसम्म पुर्याइएको थियो ।
यसअघि एकएक हप्ताका लागि लकडाउन गरिएपनि चौथो पटक भने एकैपटक १२ दिनका लागि लकडाउने थप्ने निर्णय भएको छ । छिमेकी देश भारतले पनि आजै लकडाउनको समय थपेर वैशाख २१ गतेसम्म पुर्याएको छ ।
हालसम्म नेपालमा १६ जना कोरोना संक्रमित भेटिइसकेका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ५ जना, गण्डकी पदेशमा २ जना, प्रदेश २ मा ४ जना र काठमाडौंमा ४ जना कोरोना संक्रमित उपचाररत छन्। एक जना भने उपचारपछि घर फर्किसकेका छन्।