सांसद ‘अपहरण’ प्रकरणमा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं । राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुवै अध्यादेश सरकारले फिर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली नेपाली काँग्रेसले अध्यादेशको विरोध गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भएको भन्दै स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका नेता कार्यकर्ता, अन्य दल तथा संचार माध्यमलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका हुन् ।
सरकारको नियोजित नियत प्रष्ट भइ सकेकोले निरन्तर सतर्कता र एकताका लागि सबैलाई अपिल गर्दै शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ “अध्यादेश फिर्ता भएपनि यो प्रकरणसँग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।”
काँग्रेसले उक्त प्रकरणमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कारबाहीको माग गरेको छ ।
प्रधानमन्त्री ओलीले निर्देशनमा नवगठित जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसद महेश बस्नेत र किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले तत्काली समाजवादी पार्टी विभाजनका लागि अपहरणकै शैलीमा काठमाडौं ल्याएको आरोप समाजवादी पार्टी तथा नेपाली कांग्रेसले लगाउँदै आएको छ ।