काठमाडौं रहेका गुल्मीवासीको समस्याप्रति काँग्रेस गुल्मीको ध्यानाकर्षण

गुल्मी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण विभिन्न स्थानमा रहनुभएका गुल्मीवासीहरुको असुविधाप्रति नेपाली कांग्रेस गुल्मीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिशेष गरी जिल्लाबाट काठमाडौँ लगायतका स्थान अध्ययन् लगायतको सिलसिलामा पुगेकाहरुले जिल्लामा आउन नसकिरहेको तथा त्यहाँ पनि समस्या भइरहेकोप्रति कांग्रेस गुल्मीले ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार एक पत्र जारी गर्दै नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले कुनै पनि कारणले काठमाण्डौँमा रहेर समस्या हुने गुल्मीवासीहरुका लागि गृह जिल्ला प्रवेशमा कुनै कठिनाई नरहेको उल्लेख गरेका छन् ।
तर यात्रुको सामान्य स्वास्थ्य चेकजाँच भई आवश्यक लागेमा स्थानीय क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन समेत सभपति श्रेष्ठले आग्रह गरेका छन् ।
श्रेष्ठले काठमाण्डौँमा रहँदा खर्च अभावमा खाद्यान्नको समस्या परेका गुल्मीवासीको सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारी र नेपाली कांग्रेस गुल्मी काठमाण्डौँ सम्पर्क समितिसँग नेपाली कांग्रेस गुल्मीको संस्थागत सहकार्य भइरहेको समेत जनाएको छ ।
सभापति श्रेष्ठले यो विषम परिस्थितिमा खाना खानबाट कुनै नागरिक बञ्चित हुन नपर्ने पटक–पटकको सरकारी प्रतिवद्धताले मुर्तरुप नपाउनु आफैमा खेदजनक रहेको समेत उल्लेख गरेका छन् ।
सभापति श्रेष्ठले यस बिषम घडीमा नागरिक सेवामा समर्पित गरी काठमाण्डौँ सम्पर्क समिति लगायत सबै सामाजिक संघसंस्था र व्यक्तिलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।