र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु
वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको शनिबार मृत्यु भएको छ । २३ वर्षीया युवतीको शव नारायणी अस्पतालमा राखिएको छ ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट आइनसकेको बताइएको छ ।
आइसोलेसनमा राखेर उपचार गर्ने तयारी हुँदाहुँदै उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा। मदन उपाध्यायले बताएका छन् । उनी ब्लड क्यान्सरको बिरामी रहेको बताइएको छ ।
पारिवारिक स्रोतका अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।
त्यसको केही दिनपछि पुनः स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको बुझिएको छ ।
त्यसपछि उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो ।
पारिवारिक स्रोतका अनुसार उनको इङ्गेजमेन्ट ९टीकाटालो० भइसकेको थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको बताइएको छ ।