एक अर्बभन्दा बढीको औषधि आयात

दैनिक उपभोग्य वस्तुको आयातमा पास नचाहिने

काठमाडौँ । कोरोना भाइरसको संक्रमण हुन नदिन र भइहालेमा फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको पालना गर्नु आम सर्वसाधारणहरुको दायित्व हो । आफू पनि संक्रमण हुनबाट वच्न र अरुलाई पनि वचाउन लकडाउनको पालना गर्नुको विकल्प छैन ।
गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन वैशाख २५ सम्म थपिएको छ । हालसम्म झण्डै एक लाखले लकडाउन उल्लङ्घन गरेको पाइएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएअनुसार ९९ हजार ४१९ जनाले लकडाउन उल्लङ्घन गर्दा ४३ हजार ७६१ सवारीसाधनसमेत कारवाहीमा परेका छन् । तीमध्ये कूल ९९ हजार ४१४ र ३५ हजार ४२३ सवारी साधनलाई छाडिएको छ । केही भने थप कारवाहीका क्रममा छन् ।
सिसिएमसीका अनुसार सरकारको निर्णयअनुसार खाद्यान्न, फलफूल, तरकारी, दूधजन्य सामग्री, पशुपक्षी तथा माछाको आहारा आदि ढुवानी गर्न कुनै पनि पास नचाहिने व्यवस्था गरिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास केन्द्रको वितरण प्रणाली व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिकाको सहयोगमा महानगरभित्र विभिन्न स्थानमा तरकारी तथा फफूल बिक्री केन्द्र स्थापना गरी सेवा दिइएको छ । ती बिक्री केन्द्रबाट काठमाडौँवासीले सहज रूपमा तरकारी तथा फलफूल लिन सक्ने भएका छन् ।
लामो दूरीमा ढुवानी गर्ने यातायाताका साधनका लागि तथा श्रमिकको सहजीकरणका लागि विभिन्न राजमार्गमा न्यूनतम स्थानको पहिचान गरी पेट्रोल पम्प, सवारी साधन मर्मत गर्ने स्थान तथा आवश्यक होटल सञ्चालनमा ल्याइएको छ ।
कोरोनाको सङ्क्रमण हुन नदिन र भइहाले पनि सहज तबरले उपचारको प्रबन्ध गर्न सरकारले स्वास्थ्यकर्मीलाई विशेष तालीम दिइरहेको प्रवक्ता डा. देवकोटाले बताउनु भएको छ । सङ्क्रमितलाई एक स्थानदेखि अर्को स्थानसम्म लैजानका लागि एम्बुलेन्स चालक, सहयोगी र स्वास्थ्यकर्मीलाई तालीम दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ । डा. देवकोटाका अनुसार नेपाली सेनाका ६५० र सशस्त्र प्रहरी बलका १२० जनालाई नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा तालीम दिइएको छ ।
एक अर्बभन्दा बढीको औषधि आयात
लकडाउन शुरु भएपछि वैशाख १३ गतेसम्म कूल रु एक अर्ब १३ करोड ३७ लाख १९ हजार बराबरको तयारी औषधि आयात भएको छ । यस्तै रु २५ करोड ८१ लाख ८५ हजार बराबरको औषधिको कच्चापदार्थ आयात भएको डा देवकोटाको भनाइ छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको हो । यस्तै भारतबाट कूल ९१ हजार ४५६ मेट्रिक टन खाद्य पदार्थ, २६ हजार ८२ मेट्रिक टन दाल, ४४ हजार २३५ मेट्रिक टन तरकारी, ११ हजार १३८ मेट्रिक टन फलफूल, ३६ हजार ४४२ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ । सोही अवधिमा कूल १७ हजार ४९६ किलोलिटर इन्धन आयात भएको छ ।
बयासी हजार सुरक्षाकर्मी परिचालित
लकडाउनको समयमा झण्डै ८२ हजार ६५० सुरक्षाकर्मी परिचालित गरिएको छ । नेपाली सेनाका कूल सात हजार ४८६, नेपाल प्रहरीका ४२ हजार १२, सशस्त्र प्रहरी बलका ३१ हजार १५५ र राष्ट्रिय अनुसन्धान विभागका कूल एक हजार ९९७ जना जनशक्ति परिचालित गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सीमाबाट आवागमनमा कडाइका साथ निगरानी गर्न सशस्त्र प्रहरी बल नेपालबाट साबिकका ६५० चेक प्वाइन्ट रहेकामा हाल बढाएर एक हजार २१३ कायम गरिएको र २२ हजार ६१६ जनशक्ति परिचालन गरिएको छ ।
नेपाल भारत सीमा नाकाका नेपालतर्फ एक हजार ७६ भारतीय र भारततर्फ दुई हजार २० नेपाली नागरिक क्वारेन्टाइनमा रहेका छन् । रुपन्देही नाकाबाट २९६, कपिलवस्तुबाट ३५ गरी कूल ३३१ जना भारतमा रहेका नेपाली नागरिकलाई ल्याई क्वारेन्टाइनमा राखिएको छ । यस्तै रुपन्देहीबाट १५२ र कपलिवस्तुबाट ३६ गरी कूल १८८ जना नेपालमा रहेका भारतीयलाई भारत पठाइएको छ ।