कोरोना कोषमा ग्यास उद्योगीको १५ लाख सहयोग

काठमाडौँ । नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा रु १५ लाख उपलब्ध गराएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम बराबरको चेक उपलब्ध गराइएको हो । 

सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैतमा कोष स्थापना गरेको थियो । कोषमा गत शुक्रबारसम्म कूल रु दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ बराबरको सहयोग रकम जम्मा भएको छ । 

मन्त्री भट्टको सचिवालयका अनुसार एलपिजी ग्यास उद्योग सङघले आज कोषमा रकम जम्मा गरेको हो । सङ्घका तर्फबाट अध्यक्ष गोकुल भण्डारीले मन्त्री लेखराज भट्टलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा पदाधिकारी समेत उपस्थित हुनुहुन्थ्यो । 

सरकारको विशेष पहल तथा उद्योगीले सहज वितरण प्रणाली बनाएका कारण लकडाउनको समयमा समेत खाना पकाउने एलपी ग्यासको अभाव हुन पाएको छैन । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको हो । सङ्घको सहयोग रकम बुझ्दै मन्त्री भट्टले लकडाउनको समयमा समेत खाना पकाउने ग्यासको अभाव हुन नदिन उद्योगीका तर्फबाट भएको सकारात्मक पहलको प्रशंसा गर्नुभयो ।