ओली–प्रचण्डबीच के भयो कुरा, ओलीलाई ‘हटाउने’ इच्छा होला त पूरा

‘कोरोनाको संकटमा सरकार परिवर्तनको खेल दुःखद’

काठमाडौं । केही दिन यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको किचलो तीव्र रुपमा अघि बढेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी नीतिविपरित अघि बढेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम ओलीविरुद्ध सक्रिय भएका छन् । उनीहरुले ओलीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट हटाउन निकै कसरत गरिरहेका छन् ।
ओलीका विरोधीहरुले पार्टी सचिवालय वैठक र स्थायी कमिटी वैठक बोलाउन दवाव दिइरहेका छन् । तर ओली ती दुवैमा अल्पमतमा रहेकाले आफू अनुकुल निर्णय हुन नसक्ने भएकाले वैठक ठार्ने प्रयास गरिरहेका छन् ।
हिजो वरिष्ठ नेता माधव नेपाल र ओलीबीच छलफल भएको थियो भने त्यसको लगत्तै ओली समूह र नेपाल समूहबीच वार्ता भएको थियो । वार्तामा आजका लागि सचिवालय वैठक बोलाउने सहमति भएको बताइएको थियो । तर आज सचिवालय वैठक बस्न सकेन ।
भोलि बुधबार सचिवालय बैठक राख्न अध्यक्ष तथा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन्। आज अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक आयोजना गर्ने सहमती भएको बताइएको छ । तर ओलीविरोधीहरु भोली पनि सचिवालयको वैठक बस्ने विषयमा विश्वस्त हुन सकेका छैनन्।
प्रधाानमन्त्री ओलीसँग रुष्ट रहेका नेताहरुले पछिल्लो समय प्रधानमन्त्री ओलीले ल्याएका दुई अध्यादेशलाई निहुँ बनाएर चर्को विरोध गरिरहेका छन् ।
ओली र दाहालबीच एक घण्टा लामो कुराकानीमा दहालले पार्टीभित्र समस्या देखिएको र सरकारप्रति पनि असन्तुष्टी बढेकाले बैठक आयोजना गरी छलफल गरेर समाधान खोज्नु पर्ने बताएका थिए।
दाहालले अहिलेको विवाद अब दुई जना अध्यक्षको विषय मात्रै नरहेकाले सचिवालय र स्थायी समिति राखेर छलफल गर्न जरुरी भएको बताएका थिए । तर ओलीले आफूविरुद्ध भइरहेको घेराबन्दीप्रति गुनासो गरेका थिए । कोरोनाविरुद्ध सरकार लडिरहेका बेला पार्टीबाट सरकारलाई सहयोग हुनुपर्नेमा घेराबन्दीमा पारिएको भन्दै अप्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेको बुझिएको छ ।
सोमबार ओलीले माधव नेपालसँग वार्ता गर्न चार जना नेताको समूह नै पठाएका थिए भने बालुवाटारमा आफ्नो पक्षका सांसदहरू भेला गरेर पार्टी विभाजन हुने अवस्थाका लागि समेत तयार रहन निर्देशन दिएको स्रोतको दावी छ ।
त्यस्तै सोमबार राती नै प्रधानमन्त्री ओलीले प्रधानन्यायाधिशलाई बालुवाटार बोलाएर छलफल गरेको पनि स्रोतको दावी छ ।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन अर्का अध्यक्ष दाहालले जोडतोडका साथ लागिरहेका छन् । यसका लागि उनले पार्टीभित्रका मात्र होइन, विपक्षी दल नेपाली कांग्रेस र मधेशवादी दलहरुसँग पनि पटकपटक छलफल गरिरहेका छन् । तर ओली दुवै पद त के एउटा पद पनि छोड्ने मनस्थितिमा देखिदैनन । यसले गर्दा केही दिनमै नेकपाभित्र ठुलै हलचल मच्चिने राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

कोरोनाको महामारी फैलिइरहेका बेला सबै मिलेर संकटको सामना गर्नुपर्ने स्थितिमा नेकपाभित्र सत्ताको खेल हुनु दुःखद भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । ओलीले संकटका बेला अध्यादेश ल्याएर गल्ती गरेको वताउँदै एक राजनीतिक विश्लेषक भन्छन् ‘सरकार परिवर्तनको खेल खेलेर अन्य नेताहरुले गल्ती दोहोर्याउन खोजेका छन् ।’