सरकारले लकडाउन लम्बाएसँगै गुल्मीमा निषेधाज्ञालाई निरन्तरता
गुल्मी । कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञालाई जारी राखेको छ ।
विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणको लागि निषेधाज्ञा जारी गरिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
सरकारले छठौँ पटक लक डाउनलाई लम्बाएसँगै गुल्मीमा पनि निषेधाज्ञालाई निरन्तरता दिईएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि यस अघि गुल्मी जिल्लाभर संक्रामक रोग ऐन २०२० को दफा २(२) र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले निषेधाज्ञा पालना नगर्नेलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जनाएको छ । सरकारले पछिल्लो पटक लकडाउनको अवधि लम्बाएर जेठ ५ गते सम्म राति १२ बजेसम्म कायम गरेको छ ।