भारतीय सेना फिर्ता लैजान समाजवादी काँग्रेसको चेतावनी

काठमाडौंं । नेपाल समाजवादी कांग्रेसले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा कालापनी क्षेत्रबाट भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने माग गरेको छ । पार्टीका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालय बानेश्वरमा बसेको केन्द्रीय समितिको बैठकले भारतले नेपाली भूमि अतिक्रमण गरेकोप्रति आपत्ती जनाउँदै त्यहाँ रहेका भारतीय सेनाहरु तत्काल फिर्ता लैजान चेतावनी दिएको हो ।
बैठकमा भारतले नेपाली भूमि अतिक्रमण गरेको घटनाले देशको सार्वभौमीकतामाथि चोट पुर्‍याएकोले राष्ट्रिय स्वाधिनताको प्रस्ताव पास गरेको पार्टीका सचिव मानबहादुर गुरुङले जानकारी दिएका छन् ।
बैठकले बारा जिल्लाको सीमा क्षेत्रमा रहेको नेपालको प्रहरी कार्यालयमा भएको आक्रमणप्रति पनि दुःख व्यक्त गरेको छ । त्यस्तै बैठकले सिंहदरबार अगाडि नै चिनियाँ नागरिकहरुबाट भएको ज्यादतीले देशको सार्वभौमिकतामाथि चोट पुर्‍याएको भन्दै दुःख व्यक्त गरेको छ ।
कोरोना महामारीको नाममा जनतालाई घरभित्र थुनेर सरकार राज्यविरुद्धको अपराधमा लागेको बैठकको निष्कर्ष रहेको सचिव गुरुङले जानकारी दिएका छन् । वैठकले प्रधानमन्त्री केपी शर्मा ओली सरकार विघटन गरेर राष्ट्रिय सरकार निर्माण गर्न आवश्यक रहेको ठहर गरेको पनि गुरुङले वताएका छन् ।
त्यस्तै बैठकले सीमामा अलपत्र परेका नेपाली जनता तथा खाना खान नपाएर भोक भोकै परेकाहरुलाई उचित व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेको छ ।