भारतले लिपुलेक हुँदै सडक उद्घाटन गरेकोप्रति तरुण दल गुल्मीको विरोध
गुल्मी । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल गुल्मीले भारतले लिपुलेक हुँदै सडक उद्घाटन गरेकोप्रति तत्काल नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ ।
आइतबार नेपाल तरुण दल गुल्मीका जिल्ला अध्यक्ष भरत भलामीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापन पत्र बुझाउँदै यो अवधिमा वर्तमान सरकारले उच्च स्तरिय कुटनैतिक पहल नगरेको उल्लेख गरे ।
त्यस अवशरमा अध्यक्ष भलामीले सिमाङ्कन जस्तो विषयमा सरकार केवल वक्तव्यमा मात्र सीमित रहँनु अत्यन्तै निन्दनीय कार्य रहेको नेपाली कांग्रेसका भातृसंगठनहरुले ठहर गरेको बताए । साथै सरकार केवल वक्तव्यमा मात्र सीमित भएको प्रति कांग्रेसका भातृसंगठनहरुले घोर भत्र्सना गरेको उनले उल्लेख गरे ।
‘राष्ट्रियताको विषय केवल वक्तव्यको विषय होईन, यो परिणाममुखी हुनुपर्दछ ।’ ज्ञापनपत्रद्धारा नेपालको भु–भागमा नेपालको अधिकार स्वामित्व निर्विवाद ढङ्गले रहनुपर्ने विषयमा सरकाले तत्काल गम्भिर कुटनैतिक पहल कदमी मार्फत समाधान खोज्न प्रकृया थालनी गर्न आग्रह समेत गरे ।
‘लिपुलेक, लिम्पियाधुरा कालापानी लगायतका भुभाग नेपालका हुन्’ अध्यक्ष भलामीले भने ‘हाम्रो पार्टी सरकारमा रहँदाहोस् वा प्रतिपक्षमा रहँदा होस् । प्रमुख भातृ संगठनको नाताले हामीले राष्ट्रियताको बिषयमा छलफल तथा आन्दोलनको नेतृत्व गर्दै आएका छौं ।’
सन् २०१५ मे मा भारत तथा चिनका प्रधानमन्त्रीले लिपुलेक बारे बेइजिङमा सहमती गरे पछि पनि नेपाली कांग्रेस सरकारमा हुँदा पनि ज्ञापन पत्र बुझाएको उल्लेख गर्दै तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले सो सहमतीप्रति आपत्ति जनाउनुभएको स्मरण समेत गराए ।
यसप्रति सरकारलाई गम्भिर बन्न अध्यक्ष भलामीले आग्रह समेत गरे ।