गुल्मीका सबै पालिका प्रमुखहरु होम क्वारेन्टाइनमा
गुल्मी । धुर्कोट गाउँपालिका अध्यक्षलाई कोरोना भाइरस संक्रमण देखिएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख र उनीहरुका चालक होम क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै जिल्लाका राजनीतिक दलका प्रमुखहरु पनि होम क्वारेन्टाइनमा बसेको बताइएको छ ।
धुर्कोट गाउँपालिका अध्यक्षलाई सोमबार कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनको तम्घासस्थित आइसोलेसनमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उनले आफू छिट्टै कोरोनालाई जितेर सामाजिक काममा सक्रिय हुने बताएका छन् ।
उनले सञ्चारमाध्यम मार्फत् गाउँपालिका भित्रका कोही पनि हतोत्साहित नबन्न आग्रह गर्दै लकडाउनलाई पूर्ण पालना गर्न आग्रह गरेका छन् ।
उनीसहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु आइतबार समन्वय समितिले आहृवान गरेको बैठकमा सहभागी भएका थिए । समन्वय समितिले भारतबाट गाउँ फर्किएकालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।
वैठकमा जिल्लास्थित राजनीतिक दलका प्रमुख पनि सहभागी थिए । समन्वय समिति प्रमुख लक्षमण पराजुलीले होम क्वारेन्टाइनमै बस्न सबै जनप्रतिनिधिलाई आग्रह गरिएको बताएका छन् । स्थानीय प्रशासनले वैठकमा सहभागि ४४ जनाको स्वाब संकलन गरेको छ ।
उनको कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाको पनि स्वाब संकलनको तयारी भइरहेको बताइएको छ ।
धुर्कोट गाउँपालिकाका उपाध्यक्ष, वडा अध्यक्षहरु पनि होम क्वारेन्टाइनमा बसेका छन् ।