घाटबाटै शव नियन्त्रणमा लिएर अनुसन्धान गर्दै प्रहरी
काठमाडौं । झुण्डिएर मृत्यु भएका बालकको शव प्रहरीलाई जानकारी नै नदिई जलाउन खोजेपछि प्रहरीले घाटबाटै नियन्त्रणमा लिएको छ । शङ्खरापुर नगरपालिका–२, पटापमा १५ वर्षीय बालक सुनबहादुर तामाङको शव जलाउन लागेको वेला प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी प्रभाग, शंकरापुरका प्रहरी निरीक्षक गोविन्द पन्थीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बताएका छन्।
बालकले सुसाइड नोटमा परिवारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार दिउँसो उनी झण्डिएको अवस्थामा फेला परेको थिए । साँझ ७ बजे उनलाई स्थानीय घाटमा जलाउने प्रयास गरिएको थियो ।
गोथे तामाङका १५ वर्षीय छोरा सुनबहादुरले कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो ।
मृतक तामाङ आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।